सगुनद्वारा एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई एक लाख डलरको शेयर दिने घोषणा

लन्डन । सोसियल इ-कमर्स साइट ‘सगुन’ ले आफ्नो एक लाख डलर मुल्य बराबरको शेयर एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्रदान गर्ने घोषणा गरेको छ ।

सो सम्बन्धि सम्झौतापत्र (एमओयू) सोमबार अल्डरसटमा आयोजित एक कार्यक्रमबीच आदानप्रदान भएको हो । सम्झौतामा वर्तमान शेयर भ्यालु अनुसार सगुनले ४ हजार ३४७ कित्ता शेयर एनआरएनए यूकेलाई दिनेछ ।

सम्झौतापत्रमा सगुनका तर्फबाट संस्थापक एवं सिइओ गोविन्द गिरी र सहसंस्थापक कविन्द्र सिटौला तथा एनआरएनए यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामी र संरक्षक सूर्यबहादुर गुरुङको हस्ताक्षर छ ।

गत सातामात्र एक मिलियन डलर शेयरको सगुन फाउण्डेशन स्थापना गरेको उक्त स्टार्ट अप कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत एनआरएनए यूकेले अघि सारेको नेपाल हाउस प्रोजेक्टलाई दिने सम्झौता गरेको हो । सगुनको यस्तो घोषणापछि एनआरएनए यूकेको महत्वाकांक्षी योजनाले मुर्तरुप लिने आशा गरिएको छ ।

समक्षदारीपत्र हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणलाई साक्षी राखेर सगुनका तर्फबाट एनआरएनए यूकेका पूर्व अध्यक्ष समेत रहेका सगुनका सल्लाहकार सूर्य गुरुङ र एनआरएनए यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामीले समक्षदारीपत्र आदानप्रदान गरेका थिए ।

सगुनको लक्ष्यअनुसार सन् २०२२ सम्ममा कम्पनीको भ्यालु ५ विलियन पुगेको अवस्थामा नेपाल हाउसलाई दिइएको कुल शेयरको भ्यालु ५ मिलियन डलर पुग्ने संस्थाको विश्वास छ ।

कार्यक्रममा सगुनका सल्लाहकार सूर्य गुरुङले सगुन फाउण्डेसनले आफ्नो सबैभन्दा पहिलो सहयोग बेलायतको नेपाली समुदायलाई गर्न पाउंदा खुशी व्यक्त गरे । विश्वमा नेपाल र नेपालीको गौरव बढाउने लक्ष्यसहित नेपालीहरुबाटै सुरु भएको सगुनको अभियानलाई बेलायतको नेपाली कम्युनिटीबाट दिइएको साथ तथा हौसलाको कदरका रुपमा यो सहयोगलाई बुझ्न गुरुङले आग्रह गरे ।

सगुनले नेपाल हाउस प्रोजेक्टका लागि निशर्त रुपमा यो सहयोग दिएको स्पष्ट पार्दै सल्लाहकार गुरुङले बेलायतका नेपालीहरुले देखेको नेपाल हाउसको सपनालाई सार्थक बनाउने यस सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले बेलायतबासी नेपालीहरुको साझा सपनाका रुपमा रहेको नेपाल हाउसलाई सगुनले गरेको सहयोगका लागि आभार प्रकट गरे । विश्वमा नेपाल र नेपालीको गौरव बढाउने लक्ष्यसहित अघि बढेको सगुनलाई सफलताको शुभकामना दिंदै अध्यक्ष फगामीले आवश्यक सहयोग र सहभागिताका लागि बेलायतबासी नेपालीको तर्फबाट प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथी दूतावासका उपनियोग प्रमुख आरणले एनआरएनए यूके र सगुनबीच सुरु भएको सहकार्यको सफलताका लागि शुभकामना दिए । यो सहकार्यले एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टका साथै सगुनको अभियानलाई समेत सफल पार्न सहयोगी भूमिका खेल्ने आशा उनले व्यक्त गरे ।

सगुनका बेलायत संयोजक युवराज सेढाईंले कार्यक्रममा एक पावरपोइन्ट प्रिजेन्टेसनमार्फत सगुन डटकमको अवधारणा र स्थापनाको पृष्ठभूमिका साथै यसका प्रोडक्ट र भावी लक्ष्यबारे जानकारी दिएका थिए ।

कार्यक्रममा एनआरएनए यूकेका प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन आइसीसी सदस्य रामशरण सिम्खडा, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, एनआरएनए मिडिया समिति उपसंयोजक चिरन शर्मा, एनआरएन यूके सल्लाहकार तथा बुद्धिजिवी शिवजी श्रेष्ठ, काउन्सिलर तथा एनआरएन अगुवा लक्ष्य गुरुङ, एनआरएनए यूके व्यापार विभाग संयोजक गंगा राना लगायतले शुभकामना मन्तव्य राख्दै सगुनको सहयोगबाट एनआरएन यूकेको महत्वाकांक्षी नेपाल हाउस प्रोजेक्टले सार्थकता पाउन सहयोग मिल्ने आशा व्यक्त गरे ।

एनआरएनए यूके महासचिव आरके त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शेरबहादुर सुनारले स्वागत मन्तव्य दिएका थिए ।

सो अवसरमा एनआरएनए आइसिसी सदस्य कुमारी गुरुङ, एनआरएनए आइसिसीका रोड सेफ्टी टास्कफोर्स संयोजक थर्क सेन, एनआरएनए यूकेका उपाध्यक्षहरु पुनम गुरुङ, प्रेम गाहामगर, ललितकुमार न्यौपाने र सुशिला राई, कोषध्यक्ष सचिन श्रेष्ठका साथै कृष्ण तिमल्सेना, लोक गुरुङ, फडिन्द्र भट्टराई, हरिकाजी गुरुङ, हितकाजी गुरुङ, बाचस्पति रेग्मी, सपनकुमार राई, पुरन गिरी, कृष्ण गुरुङ, सूर्य गुरुङ लगायत एनआरएन यूके सल्लाहकार तथा समाजका अगुवाहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

लगानीको समयसीमा थोरै बांकी रहंदा सगुनले अहिले अन्तिम पटक लगानीको अफर गरिरहेको छ । सगुनमा लगानीको अन्तिम समयसीमा २६ जुलाई २०१८ कायम गरिएको छ ।

सगुनमा हालसम्म ३५ सय भन्दा बढि लगानीकर्ताले पांच मिलियन डलर लगानी गरिसकेको र भारतीय मिडिया हाउस हिन्दूस्तान टाइम्सले पांच मिलियन डलर लगानी गर्ने घोषणा गरिसकेको सगुनले जनाएको छ । लगानीकर्ता संख्या ८ हजार पुगे सगुन संसारकै सबैभन्दा ठूलो स्टार्ट अप कम्पनी बन्ने विश्वास सगुनको छ ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री