दोस्रो नखिपोट ब्याडमिण्टन प्रतियोगिता सम्पन्न

लण्डन । नखिपोट ब्याडमिन्टन संघ यूकेको आयोजनामा दोस्रो ब्याडमिन्टन प्रतियोगिता अल्डरसटमा शनिबार सम्पन्न भएको छ ।

स‌ङ्घका संस्थापक अध्यक्ष कृष्ण पुन तथा संस्थापक सल्लाहकार नारायण कोन्मेबाट ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरिएको थियो । खेल संयोजक कुल राईले खेलाडीहरुलाई खेल सम्बधी नियमबारे जानकारी दिई कार्यक्रम संचालन गर्नु भएको थियो ।

बिहान १० बजे सुरु भई बेलुका ६ बजेसम्म खेल सन्चालन भएको थियो । पाँच इभेन्टमा खेलाइएको सो प्रतियोगितामा ५६ टिमले भाग लिएका थिए । विजयी खेलाडीहरुलाई बेलुका आठ बजेदेखि भेटघाट रेष्टुरेन्ट अल्डरसटमा आयोजित एक कार्यक्रममा पदक तथा पुरस्कार दिइयो । 

स‌ङ्घका अध्यक्ष निर्मला थापाको अध्यक्षता र सचिव चन्द्र रानाको संचालनमा कार्यक्रम भएको थियो । कार्यक्रमका अतिथिहरुमा संस्थापक अध्यक्ष कृष्ण पुन, संस्थापक सल्लाहकार नारायण कोन्मे, सल्लाहकार कृष्ण गुरुङ, प्रेम गुरुङ र लाल थापा तथा विभिन्न क्लबका अध्यक्ष र प्रतिनिधिहरु थिए ।

प्रतियोगितामा मेन्स सिङलतर्फ नेत्र राना पहिलो र लोक थापा रनर अप, मेन्स डबल्सतर्फ सुवर्ण गुरुङ र अतीत गुरुङको जोडी पहिलो र नेत्र गुरुङ र लोक थापाको जोडी रनर अप भए । वुमन्स डबल्सतर्फ कमला लिम्बु र बुद्धिसरा सुनुवारको जोडी पहिलो र सालिजा लिम्बु र सरिता गुरुङको जोडी रनर अप भए । 

भेट्रान डबल्समा खेम लिम्बु र अजित राईको जोडी पहिलो तथा बिर्ख पुर्जा र दिल गर्बुजाको जोडी रनरअप भए । मिक्स डबल्समा सुबर्ण गुरुङ र बिमला लिम्बुको जोडी पहिलो तथा लोक थापा र सरिता गुरुङ रनर अप भए । प्रतियोगितामा बेष्ट योङ प्रोमिसिङ प्लेयरको उपाधि विवेक राईले पाए ।

कार्यक्रममा नेपालबाट आएका तीन पटक नेपाल च्याम्पियन खेलाडी बिकास श्रेष्ठलाई मायाको चिनोद्वारा सम्मान गरियो । श्रेष्ठले नेपालको ब्याडमिन्टनको अवस्थाबारे केही जानकारी गराउनु भएको थियो । 

अन्त्यमा संघकी अध्यक्ष निर्मला थापाले आर्थिक सहयोग गर्नु हुने सहयोगदाताहरु, खेलाडी तथा उपस्थित सबैलाई धन्यवाद दिई कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री