एशियाली खेलकूदमा स्वर्ण पदकको आशा, १८१ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ-आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन् ।प्रतियोगिता शुरु हुन केही साता मात्र बाँकी रहँदा प्रतियोगिताका २८ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फबाट १२५ पुरुष र ५६ महिला खेलाडी अहिले राजधानी र मोफसलका विभिन्न शहर तथा विदेशमा प्रशिक्षण लिइरहेका छन् ।

राष्ट्रिय खेलकूद परिषद्(राखेप)का अनुसार काठमाडौँमा धनुकाँड, सुटिङ, एथलेटिक्स, सेपाकताक्रो, क्लाइम्बिङ, कराते, गल्फ, उसु, बास्केटबल, पौडीलगायत खेलको प्रशिक्षण जारी छ । त्यस्तै ललितपुरमा साइक्लिङ, फुटबल, ब्याडमिन्टन, ट्रायथलन, लनटेनिसलगायतको प्रशिक्षण चल्दैछ भने पोखरामा पाराग्लाइडिङ र कबड्डी, भीमदत्तनगरमा भलिबल तथा नेपालगन्जमा भारोत्तोलन र कुस्तीको बन्द प्रशिक्षण चलिरहेको छ । परिषद्का अनुसार अधिकांश खेलको तयारी स्वदेशमै भए पनि पदकको आशा गरिएको छ ।

टेबल टेनिसका पाँच खेलाडीसहित सात जना अहिले भारतमा प्रशिक्षण लिइरहेका छन् । त्यस्तै स्केटबोर्डका नेरिश थापा हङकङमा प्रशिक्षणमा छन् भने तेक्वान्दोका पाँच पुरुष र पाँच महिला दक्षिण कोरियामा प्रशिक्षणमा छन् । बक्सिङको टोली पनि असार दोस्रो साता थाइल्याण्ड गएको परिषद्ले जनाएको छ ।

सागमा स्वर्ण विजेता जुडो खेलाडी फुपुल्हामु खत्री अहिले जापानमा प्रशिक्षण लिइरहेकी छन् । गत वैशाखदेखि नै उनी जापानमा छिन् । खत्री जापानबाटै इण्डोनेशिया प्रस्थान गर्नेछिन् । पेनकेक सिलातका विवेककुमार विक पनि प्रशिक्षणका दौरान सिंगापुरमै छन् । एशियाली खेलकूदमा पेनकेकमा नेपालबाट तर्फबाट विकले ६०–६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।

एशियाडमा एक रजत र २२ कास्य

पहिलो एशियाली खेलकूद प्रतियोगितादेखि नै सहभागी हुँदै आएको नेपालले अहिलेसम्म एक रजत र २२ कास्य पदक जितेको छ । सन् १९५१ मा भारतको नयाँदिल्लीमा शुरु भएको पहिलो एशियाडदेखि सहभागिता जनाउँदै आएको नेपालले १०औँ एशियाडमा गएर मात्र पदक जितेको थियो ।

सन् १९८६ मा दक्षिण कोरियाको सियोलमा भएको १०औँ एशियाली खेलकूद प्रतियोगितामा नेपालले आठ कास्य जित्दै एशियाली खेलकूदमा पदकको शुरुआत गरेको थियो । त्यसबेला बक्सिङ र तेक्वान्दोमा चार चार कास्य पदक नेपालले जितेको थियो । नेपालका लागि बक्सिङतर्फ दलबहादुर राना मगर, मनोजबहादुर श्रेष्ठ, सुशील पोखरेल र तुलबहादुर थापाले कास्य पदक जित्दा तेक्वान्दोमा विधान लामा, रामबहादुर गाँछे, राजकुमार राई र राजकुमार बुचेँले कास्य पदक जितेका थिए । अन्य खेल सहभागिता र राष्ट्रिय कीर्तिमान बनाउनमा मात्र सीमित हुँदै आएका छन् ।

सन् १९९० मा चीनको बेइजिङमा भएको ११औँ एशियाली खेलकूद प्रतियोगितामा नेपालले एक मात्र कास्य पदक जित्यो । उक्त प्रतियोगितामा बक्सिङमार्फत चित्रबहादुर गुरुङले कास्य दिलाए । बेइजिङपछि जापानको हिरोसिमामा चार वर्षपछि भएको १२औँ एशियाडमा नेपाल दुई कास्य पदक जित्न सफल भयो । तेक्वान्दो र करातेमा नेपालले एक एक कास्य पदक जित्न सफल भयो । तेक्वान्दोमा मनबहादुर शाही र करातेमा सीताकुमारी राईले कास्य पदक जितेका हुन् ।

सन् १९९८ को १३औं एशियाली खेलकूद नेपालका लागि अहिलेसम्मकै फलदायी रहेको छ । उक्त प्रतियोगितामा नेपालले कराते र तेक्वान्दोमा गरी एक रजत र तीन कास्य पदक जित्यो । तेक्वान्दोमा सविता राजभण्डारीले रजत पदक जितिन् । दुई कास्य तेक्वान्दो र एक कास्य करातेमार्फत नेपालले सफलता हात पा¥यो । तेक्वान्दोमा सपना मल्ल र किशोर श्रेष्ठले तथा कराँतेमा समरबहादुर गोले एक एक कास्य पदक जित्न सफल भए ।

सन् २००२ मा दक्षिण कोरियाको बुसानमा भएको १४ औं एशियाडमा नेपालले तेक्वान्दोमार्फत नै तीन कास्य पदक जित्दा २००६ मा कतारको दोहामा भएको १५औं एशियाडमा पनि तीन कास्य पदक तेक्वान्दोमार्फत नै प्राप्त गरयो । चौधौँ एशियाडमा तेक्वान्दोका दीपक विष्ट, रेनुका मगर र रितु जिमी राईले एक एक कास्य पदक जिते ।

यस्तै १५औँ एशियाडमा तेक्वान्दोका दीपक विष्टले लगातार दुई पटक एशियाली खेलकूदमा कास्य पदक जित्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । अन्य दुई कास्य आयशा शाक्य र मनिता शाहीले जिते । सन् २०१० मा चीनको ग्वाञ्जाओमा भएको १६औं एशियाडमा नेपालले बक्सिङमार्फत एक मात्र कास्य पदक जित्न सक्यो । सत्रौँ एशियाडमा नेपालकी विमला तामाङले एक कास्य पदक जितेकी छन् । उनले करातेको एकल कातामा कास्य पदक जितेकी हुन् ।

स्वर्ण पदकको आशा

शुरु प्रतियोगितादेखि सहभागिता जनाउँदै आएको नेपालले १८औं संस्करणसम्म आइपुग्दा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले यस पटक तेक्वान्दो, कराते, उसु, जुडो र प्याराग्लाइडिङमा स्वर्ण पदकको आशा गरिएको बताए । “यस पटक विगतको भन्दा धेरै राम्रो तयारी छ, विगतमा लामो समय बन्द प्रशिक्षण हुँदैनथ्यो, अहिले हामी नियमिति प्रशिक्षणहरू गरिरहेका छौँ, तीन महिनायता बन्द प्रशिक्षण गरिरहेका छौँ, यो पटक स्वर्ण पदकको आशा छ”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री