नेपाली क्रिकेटको तीन दशक – एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

काठमाडौँ, १६ साउन – नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन ।

नेपाली क्रिकेटले जति सफलता प्राप्त गरयो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट संघकै पदाधिकारीहरू स्वीकार गर्छन् ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले रासससँग कुरा गर्दै क्रिकेटको संरचना तत्कालका लागि बनेको नदेखिए पनि विभिन्न ठाउँमा यससम्बन्धी पूर्वाधार निर्माण अगाडि बढिरहेको बताउनुभयो । “क्रिकेट संघमा केही वर्षदेखि चलेको विवादका कारण आइसिसीले दिने अनुदान तथा खेलाडीले पाउने सुविधा कटौती भएकाले संरचना निर्माणमा ढिलाइ भयो”, उहाँ स्वीकार्नुहुन्छ ।

यस वर्ष खेलकूदमा प्राप्त बजेटमध्ये बढी क्रिकेटमै परेकोले देशका आठ स्थानमा निर्माणाधीन क्रिकेट मैदानको कामले तीव्रता पाउने उहाँले बताउनुभयो । आगामी वर्ष नेपालमा दक्षिण एशियाली खेलकूद प्रतियोगिताका लागि कीर्तिपुर मैदानको स्तरोन्नति र प्यारापिट निर्माणको काम यसै वर्ष सम्पन्न हुने लक्ष्य रहेको बताइएको छ । बैतडी, दाङ, विराटनगर, इटहरी, धनगढीलगायत स्थानमा निर्माणाधीन अवस्थाका क्रिकेट मैदानको काम तीव्ररूपमा अगाडि बढाइने दावी राखेपको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का निलम्बित अध्यक्ष चतुरबहादुर चन्दले क्यान विवादपछि आइसिसीले दिने अनुदान रोकेकाले संरचना निर्माणमा समस्या परेको बताउनुभयो । “देशभर आठ मैदान निर्माणाधीन अवस्थामा छन्, तर कुनै पनि सम्पन्न भइसकेको छैन, सबै मैदान अलपत्र अवस्थामा रहँदा खेलाडीलाई प्रशिक्षणमा अप्ठ्यारो भएकाले पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ”, उहाँले भन्नुभयो । भएको मैदान बिगार्ने र नयाँ नबनाउँदा समस्या भएको बताइन्छ । “राखेपमा दक्ष जनशक्तिको अभावले संरचना निर्माणमा ढिलाइ भएको हो”, उहाँले थप्नुभयो ।

निर्माण सम्पन्न हुन लागेको मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि मैदानबाहेक अन्तर्राष्ट्रियस्तरका रंगशाला नेपालमा अझै बन्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनानुरूप काठमाडौँको मूलपानीमा दुई क्रिकेट मैदान निर्माण शुरू भएको १४ वर्ष भयो । सो मैदान बनाउन शुरु हुँदा नेपाल डिभिजन ५ मा थियो । नेपाली खेलाडी आज पहिलो ऐतिहासिक एक दिवसीय खेल्दैछ तर मूलपानी मैदान अझै पूर्णरूपमा तयार भएको छैन ।

मूलपानीमा निर्माणाधीन दुई रंगशालामध्ये एउटा खेल्नयोग्य बनेको छ । यसै मैदानमा केही महिनाअघि राष्ट्रियस्तरको प्रतियोगितासमेत भइसकेको छ । अर्कोमा भने स्थानीयवासीसँगको जग्गा विवाद कायमै छ । उक्त विवाद जग्गा सट्टापट्टा गरी समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्तावसमेत पेश भइसकेको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्मा पेश भएको प्रस्तावबारे निर्णय आइनसकेको मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पायो । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एकदिवसीय मान्यता पायो । त्यसैअनुरूप नेपालले आज दिउँसो नेपाली समयानुसार २.४५ बजे नेदरल्याण्डसस्थित भिआरए मैदान आम्सटर्डममा नेदरल्याण्डससँग एकदिवसीय खेल खेल्दैछ ।

क्रिकेट संघको समस्या समाधान गरी घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार र खेलाडीको वृत्ति विकासमा ध्यान दिँदै चार वर्षका लागि पाएको एकदिवसीय मान्यता निरन्तर टिकाउनुपर्ने चुनौती नेपालमाथि थपिएको छ । सरकारले मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानको कामलाई प्राथमिकतासाथ अघि बढाई देशका आठ स्थानमा क्रिकेट मैदान निर्माणलाई निरन्तरता दिने चालु आवको बजेटमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री