अवार्ड: दिनेलाई भन्दा लिनेलाई लाज

सम्मान यस्तो मुल्यवान र गर्व गर्न लायक होस्, जसले पाउने व्यक्तिको कद एकाएक उंचो 
पुरयाओस् । समाजले पनि त्यो व्यक्तिको योगदानको कदर भएकामा प्रशंसाका शब्द खर्च गर्न कन्जुस्याईं 
नगरोस् । तर, अहिले सम्मान यति सस्तो भइदिएको छ, दिनेलाई भन्दा लिनेलाई लाज लाग्ने अवस्था छ । पहिले आफैंले पैसा दिने अनि त्यही पैसा बराबरको अवार्ड फिर्ता लिने प्रचलन अब कसै सामु लुकेन । झोलामा केही थान अवार्ड बोकिराख्ने अनि मञ्चतिर जसलाई दिंदा प्रतिफल पाउंछ, त्यसैलाई थमाइदिने प्रवृत्ति यो साता लक्जेम्वर्गमा पनि देखियो । बेलायतबाट सञ्चालित एउटा अनलाइन ‘नेपाल ब्रिटेन डटकम’ ले बेलायतमा केही थान बांडेर बचेको ट्रफी एनआरएनए युरोप भेलामा लगेर बांड्दा लज्जाको विषय बन्यो । बलजफ्ती थमाइदिएपछि लिनेले पनि के गर्ने ? लाज मानी मानी ग्रहण गरिहाल्नु परयो ।

एनआरएनए अमेरिकामा अध्यक्ष पदका लागि उम्मेदवार हुन ‘अयोग्य’ भनिएका गौरीराज जोशीलाई उक्त अनलाइनले ‘सर्वोत्तम उद्यमी अवार्ड’ भनेर मञ्चमा थमाइदिएपछि सामाजिक सञ्जालमा त्यसको खुबै आलोचना भएको छ । अमेरिकामा बस्ने पत्रकार शैलेश श्रेष्ठले उक्त अवार्डबारे यस्तो टिप्पणी गरेका छन् –

‘मनको आदेश’ मा एनआरएनको बारेमा यत्ति लेख्नै 
पर्ने भो

अघिल्लो हप्ता दैनिकीहरुको हतारोमा पुरा समाचार पढ्न पाईन तर उत्तर अमेरिका क्षेत्रका निर्वाचित क्षेत्रीय संयोजक गौरीराज जोशी भाईले अप्ठेरो मान्दै एउटा अवार्ड उठाएको लजालु तस्विर र उनलाई चिल्लो घस्दै स्तुतिगान गरिएका केही फेसबुक पोष्टहरु हेरेको थिएं । तर, के सत्कर्म गरेवापत उनले त्यस्तो ‘गरिमामय’ अवार्ड हात पारेको हो त्यो भने विस्तृतरुपमा पढ्न र जान्न पाएको थिइन् । आज भर्खर अमेरिकामा राम्रैरुपमा पढिने अनलाईन हिमालयखबरले त्यो समाचारलाई महत्वका साथ प्रकाशित गरि दिएपछि मलाई यथार्थ जान्ने सु-अवसर मिल्यो ।

निसन्देह उनी अमेरिकाका सफल अनि धनी ब्यापारी हुन्, त्यही ‘द्रब्य’ कै कारणले त धनाढ्यहरुको क्लब एनआरएनएमा छलाङ्ग मार्न उनलाई सजिलो भयो । सधैं विवाद र शंकाको घेरामा फैलिएको एनआरएन अमेरिकामा उनी एकजना ‘क्रान्तिकारी सुधारक’ का रुपमा पैसाको बलले आए र अन्तमा ब्यापारी संस्थापन र अन्तर्राष्ट्रिय संजालको समन्वयमा पुच्छर लुकाएर निर्वाचनको मैदानबाट भागे । केही काल वर्तमान संस्थापनले आफू माथि अन्याय गरेर उम्मेदवार बन्न नदिएको हौवा फैलाए तर निर्वाचन आयोगले योग्य भएको पत्राचार गरेको केही घण्टामै उनी त्यो अन्तर्राष्ट्रिय संजाल र विशेष दूतसंगको गोप्य भेटघाटपछि आफ्नो उम्मेदवारी फिर्ता लिन राजी भए । ‘आइएमवीथगौरीजोशी’ हयासट्यागमा सजिएका तथाकथित अभियन्ता अनि राजनीतिबाजहरु त्यति बेला खंग्रङ्ग भए । अमेरिकामा ‘मै हुं’ भन्नेहरुलाई उनले थाङ्ग्नामा सुताए ।

धनीहरुको क्लबमा आखिर ‘धन’ कै बोलाबाला हुन्छ । आधुनिक दासहरुको बस्तीमा ‘द्रब्य’ शक्तिले सबथोक गर्न सम्भव हुन्छ । एनआरएन अमेरिकामा अध्यक्ष पदको लागि उम्मेदवार हुन अयोग्य भनिएका तिनै गौरीराज जोशी त्यही सिन्डिकेट टिमको ‘गेमप्लान’ र ‘द्रब्य पहुंच’ ले उत्तर अमेरिका क्षेत्रको क्षेत्रीय संयोजक पद हात पार्न सफल भए । उनले जसरी र जे गरेर जितेपनि उनी हाम्रा क्षेत्रीय संयोजक हुन् त्यस अर्थमा त्यो तस्विर र स्तुतिगान पोस्टिंगहरु हेरेपछि मैले स्वाभाविक लख काटें सायद एनआरएनको युरोपमा सम्पन्न क्षेत्रीय भेलामा उनलाई ‘उत्कृष्ट क्षेत्रीय संयोजक’ को प्रायोजित र नियोजित अवार्ड दिए होलान ? आखिर यस्तै तामसी उत्सब त हुने हो नि यस्ता क्षेत्रीय भेला र भेटघाटहरुमा ।

मिलाएर गर्न जान्दा जसो गर्न पनि मिल्छ, ‘नेपाली काईदा जसो गरयो उसै फाईदा’ भनेझैं नेपाल ब्रिटेन डटकमको एघारौं बार्षिकोत्सबको अवसर पारेर एनआरएनको युरोपमा सम्पन्न क्षेत्रीय भेलामा यस्तो चांजोपांजो ‘गेमप्लान’ मिलाइएको रहेछ । जहां हाम्रा क्षेत्रीय संयोजकलाई वर्षकै ‘उत्कृष्ट उद्यमी’ को अवार्डले सुशोभित गरिएको रहेछ । चेम्बर अफ कमर्स, युरोप अथवा अरु कुनै उद्यमी ब्यापारीहरुको सर्वमान्य नियोग या निकायले त्यस्तो अवार्ड दिएको भए त्यस्तो अवार्डको गरिमा, महत्ता अनि विषयगत सान्दर्भिकता पनि हुन्थ्यो । तर, एनआरएनको विषयगत गहन छलफल गर्ने उद्देश्यले आयोजना गर्ने गरिएको यस्ता कार्यक्रम र सत्रहरुमा बिना सन्दर्भको एउटा अनलाइनले यस्तो कार्यक्रम गर्न पाउने अथवा मिलाइने प्रचलनले आगामी दिनहरुका लागि कस्तो नजिर स्थापना गर्ला ? अब यो वर्षको अगस्त महिनामा काठमाडौंमा आयोजना हुने बार्षिक सम्मेलनमा मैले सम्प्रेषणको सातौं बार्षिकोत्सव मनाउन अध्यक्ष भवन भट्ट तथा महासचिव डा. बद्री के.सी. समक्ष अहिलेबाटै एउटा लिखित प्रस्ताव राखें भने महामहिमहरुबाट मलाई कस्तो जवाफ आउला? नेपाल ब्रिटेन डटकमले पाउंदा सम्प्रेषणले पाउने कि नपाउने ?

अनि त्यो बार्षिकोत्सबमा संसारकै ‘सर्वोत्कृष्ट उद्यमी’ भनेर वर्तमान अध्यक्ष भवन भट्टलाई एउटा गरिमामय अवार्ड दिंदा कत्तिको सान्दर्भिक होला ? के यस्ता विषयगत भेलाहरु आफू अनुकुलकाहरुलाई सम्हाल्न या खुसी पार्न मात्र आयोजना गरिन्छ? हाम्रा गौरीराज जोशी भाईलाई त्यो भेलामा अनि आधिकारिकरुपमा एनआरएनए अथवा आयोजक मुलुकको राष्ट्रिय समन्वय समितिले 
संसारकै ‘उत्कृष्ट क्षेत्रीय संयोजक’ भनेर एउटा अवार्डले विभूषित गरेको भए हामीलाई ‘बधाई’ दिन पनि कत्ति मज्जा हुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री