सर्वाधिक पुरस्कार राशिको महिला भलिबल हुने

नेपाल भलिबल संघ र भारतको गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनबीच महिला भलिबल लिग प्रतियोगिता सञ्चालन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षरपछि भलिबल संघलाई चेक हस्तान्तरण गर्दै दिनेशकुमार सिंह । तस्बिर- कुमार चौलागाई, रासस

काठमाडौँ, १७ साउन – नेपाल भलिबल संघले पहिलो पटक सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संघले भारतीय गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसँग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्तरुपमा आगामी असोजको दोस्रो साता गर्न लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीआवाधी फाउण्डेसनका प्रमुख कार्यकारी दिनेशकुमार सिंहबीच प्रतियोगिता आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

१० वर्षसम्म कायम हुने सम्झौताअनुसार प्रतियोगिता आयोजनाको सम्पूर्ण जिम्मेवारी आधीआवाधीको हुनेछ । यससँगै प्रतियोगिता सञ्चालनका लागि आधाआवाधीले प्रायोजक समेत आफैं खोज्नेछ । फाउण्डेसनले नेपाल भलिबल संघलाई प्रत्यक वर्ष १५ लाख समेत प्रदान गर्नेछ ।

कार्यक्रममा प्रमुख कार्यकरी सिंहले रु आठ लाखको चेक संघलाई हस्तान्तरण गर्नुभयो ।

सम्झौताअनुसार प्रतियोगिताको विजेताले रु छ लाख पाउनेछन् भने दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु एक लाख ५० हजार हात पार्नेछन् । भलिबलमा यो अहिलेसम्मकै सर्वाधिक राशिको पुरस्कार हो ।

यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान टिभिएस स्कुटर र रु ५० हजार पाउनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित छ टोलीको सहभागिता रहनेछ ।

नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसँगै चितवन टाइग्रेस, काठमाडौँ क्वीन्स र पोखरा पिन्केजले प्रतियोगितामा सहभागी हुने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख कार्यकारी सिंहले प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधारको व्यवस्था समेत गरिदिने आश्वासन दिनुभयो ।

आधाआवाधीका नेपाल संयोजक सूर्य गुरुङले राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलको समेत मर्मतसम्हार गरिदिइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री