नेपालले नेदरल्याड्न्सलाई २१७ रनको चुनौती दियो

काठमाडौँ, १८ साउन – दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको चुनौती दिएको छ ।

नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनायो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन् । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धसतक प्रहार गरे । ६९ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गरे ।

सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६, उपकप्तान ज्ञानेन्द्र मल्ल १३, सन्दीप लामिछाने ८, अनिलकुमार साह ४, ललित भण्डारी ४, रोहितकुमार पौडेल ६ तथा बसन्त रेग्मीले एक रनमात्र जोडे ।

बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन विकेट लिए भने पिटर सिलर र माइकल रिप्पोनले दुई-दुई विकेट लिए ।

नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो ।

एकदिवसीय क्रिकेट खेल्ने नेपाली चौथो कान्छा खेलाडी 

दोस्रो एकदिवसीय खेलमा मौका पाएका नेपालका रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै कान्छा खेलाडीको सूचीमा चौथो नम्बरमा परेका छन् ।

नेदरल्यान्ड्ससँगको पहिलो खेलमा घाइते भएका शरद भेषावकरको स्थानमा आज पौडेलले मौका पाएका थिए । सबैभन्दा कान्छा खेलाडीको सूचीको पहिलो स्थानमा भने पाकिस्तानका क्रिकेटर हसन राजा छन् ।

त्यसैगरी दोस्रो स्थानमा केन्याका गुरदीप सिंह तथा तेस्रो स्थानमा क्यानडाका नितिश कुमार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री