विश्व नेपाली साहित्य सम्मेलन १२ अगष्टमा क्यान्टवरीमा हुँदै

लण्डन । आउँदो  शनिबार (१२ अगष्टको दिन) युकेको क्यान्टरबरीमा हुन लागेको  विश्व नेपाली साहित्य सम्मेलनको  तयारी पूरा भएको अायाेजकले बताएका छन् ।

युकेको पवित्र साहित्यिक भूमि मानिने क्यान्टवरीमा हुने सो सम्मेलनको अायाेजक विश्व नेपाली साहित्य महास‌ङ्घ केन्द्रीय समिति र यसका २७ वटा शाखा तथा  सहअायाेजकमा युकेको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद रहेको छ ।

गत शनिबार एक पत्रकार सम्मेलन अायाेजना गरी अायाेजकहरुले सम्मेलनको तयारी पूरा भएको जनाएका हुन् ।

महासङ्घको विभिन्न मुलुकका प्रतिनिधि, नेपालबाट यस सम्मेलनको निम्ति आमन्त्रित प्रोफेसर तुलसी दिवस, प्रा डा गोविन्द भट्टराई, प्रा डा नोवलकिसोर राई, लेखक खगेन्द्र संग्रौला, भारतीय हिन्दी साहित्यकार तेजेन्द्र शर्मा, जर्मन प्रोफेसर बि च्यान्लर लगायतको सम्मेलनमा उपस्थिति रहने छ । 

सम्मेलन क्यान्टवरी सिसि यूनिभरर्सिटीको हलमा हुनेछ । सम्मेलनमा आमन्त्रित अतिथिहरु लगायत पूर्व राजदूत मुरारीराज शर्मा, विजय हितान, भावेश भुमरी आदिको प्रिजन्टेसन समेत हुनेछ । कार्यक्रमका प्रमुख अतिथि युकेका लागि नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदी छन् ।

चारदिन चल्ने सो कार्यक्रममा सहभागी हुन आएका पाहुनाहरुलाई पहिलो दिन दूतावासमा स्वागत कार्यक्रम राखिएको छ । दोस्रो दिन १२ अगष्टमा मुख्य सम्मेलन, तेस्रो दिन १३ अगष्टमा साहित्यिक भ्रमण र चौथो १५ अगष्टमा सम्मेलन सहआयोजक नेपाली साहित्य विकास परिषदद्धारा स्वागत एवम रात्रीभोजसहित भेटघाट कार्यक्रम हुने भएको छ ।

सम्मेलनमा नेपाली साहित्यमा सच्चयाउनु पर्ने, सुधार र विकास गर्नुपर्ने महत्वपूर्ण विषयहरुमाथि गम्भीर छलफल र बहस हुने बताइएको छ । सम्मेलनको निम्ति ५७ सदस्सीय आयोजक तथा ब्यवस्थापक समिति पनि निर्माण गरिएको पनि संयोजक केदार सुनुवार संकेतले जानकारी दिए । 

पत्रकार सम्मेलनमा संयोजक संकेत, केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेला, साहित्य महासङ्घ साउथवेष्ट शाखाका अध्यक्ष लालसुन्दर राई र साउथ इष्ट शाखाका सदस्य अमित थेवे लगायतको उपस्थिति रहेको थियो । पत्रकारका प्रश्नका उत्तर अध्यक्ष तिगेला र संयोजक संकेतले दिएका थिए ।

सम्मेलनमा विभिन्न ५ वटा कृति विमोचन हुनेछ भने पूर्व घोषित सम्मानहरु समर्पण गरिनेछ । सम्मेलन भब्य र सभ्य बनाउन आयोजकले सबैसंग साथ र सहयोगको आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री