साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

 

भुटान, २३ साउन – पन्ध्र वर्षमुनि उमेर समूह ‘यू १५’ को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।

बंगलादेशमा गत वर्ष भएको पहिलो संस्करणको खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोली यस पटक भने प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दाउमा छ । यो दोस्रो संस्करणको प्रतियोगिता हो ।

विगतमा भन्दा यस पटकको साफ च्याम्पियनसिपमा तयारी राम्रो भएकाले उपाधि जित्ने लक्ष्य रहेको नेपाली टोलीका प्रशिक्षक गंगा गुरुङ बताउनुहुन्छ । उहाँले खेलाडीको नियमित तालीमसँगै मनोबल पनि उच्च रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो । पाकिस्तान र बंगलादेश दुवै टोली बलियो भएको टिप्पणी गर्दै प्रशिक्षक गुरुङले भन्नुभयो, “खेल हो हार जीत त भइहाल्छ तर नेपाली चेलीले उत्कृष्ट प्रदर्शन गर्नेछन् ।”

पहिलो संस्करणको खेलमा भने नेपालले सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन । त्यतिबेला नेपालले कुनै पनि खेलमा जीत हासिल गर्न सकेन ।

नेपाली टोलीका कप्तान प्रीति राईले प्रतियोगिता तयारीका लागि अन्तर्राष्ट्रिय तालीम नलिएता पनि नेपाली महिला खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालले यही साउन २६ गते पाकिस्तानसँग पहिलो खेल खेल्दैछ । समूह ‘बी’मा रहेको नेपालको समूहमा पाकिस्तानसँगै बंगलादेश छ ।

बंगलादेशका मुख्य प्रशिक्षक गोलोन रोब्बिनले आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा लिएको बताउनुभयो । बंगलादेश गत संस्करणको उपाधि विजेता हो ।

त्यस्तै बंगलादेशको कप्तानीको जिम्मेवारी पाउनुभएकी माभी माण्डाले आफूहरुले राष्ट्रिय तथा अन्तर्राष्टिय तालीम लिएकाले खेलमा कुनै किसिमको दबाब नहुने प्रतिक्रिया दिनुभयो ।

यता पाकिस्तानका प्रशिक्षक मोहम्मद रसिदले तीन वर्षपछि मात्र आफ्नो राष्ट्रले फुटबलमा सहभागिता जनाएको भन्दै प्रतियोगितामा सकेसम्म राम्रो खेल प्रदर्शन गर्ने बताउनुभयो । उहाँका अनुसार टोलीले एक महिना मात्र बन्द प्रशिक्षणमा रही तालीम लिएका थिए ।

समूह ‘बी’मा रहेका भारत, श्रीलंका र भुटानका प्रशिक्षकहरुले प्रतियोगितामा सकेसम्म उपाधि रक्षा गर्ने दाउमा रहेको बताउनुभयो ।

बिहीवार शुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलंका भिड्नेछन् भने दोस्रो खेल बंगलादेश र पाकिस्तानबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री