लण्डनमा संग्रौलासंग अन्तरकृया हुँदै

खगेन्द्र संग्रौला

लण्डन । बरिष्ठ साहित्यकार, राजनीतिक चिन्तक तथा बिश्लेषक खगेन्द्र संग्रौलासंग एक अन्तरकृया कार्यक्रम हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बेलायतको निम्तामा बेलायत आएका संग्रौलासंग आगामी अगस्ट ११ मा अन्तरकृया हुन लागेको आयोजक पाँचथर समाज यूकेले जनाएको छ ।

अन्तरकृयाको बिषय ‘नेपालको वर्तमान राजनीतिमा प्रवासी नेपाली नागरिक समाजको भूमिका’ छ ।
शनिबार साँझ पश्चिम लण्डनको गोल्डेन सिप रेस्टुराँमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि संग्रौलाका साथ गायक ब्रबिम शेर्मा पनि कार्यक्रमका अर्का आकर्षण हुने भएका छन् । संग्रौला र शेर्मा दुबै पाँचथरे मुलका हुन् ।
पूर्वेली लोक भाका र लिम्बु गायनमा ख्याति कमाएका शेर्माले १२ वटा एल्बम निकालिसकेका छन् । गायक शेर्मा किराँत याक्थुङ चुम्लुङ यूकेको निमन्त्रणामा गत महिना बेलायत आएका हुन् ।

गायक ब्रबिम शेर्मा

समाजका अध्यक्ष चन्द्र सुन्दासले भने, ‘संग्रौलाज्यू पाँचथरे भएको नाताले शुरुमा त हामीले उहाँसंग सामान्य भेटघाट मात्रै गर्ने हाम्रो योजना थियो । तर, उहाँको बेलायत बसाई ज्यादै छोटो रहेछ । यस्तो अवस्थामा अन्य संघसंस्थाहरुले कार्यक्रम गर्न समय मिलाउन कठिन हुने देखिएकोले हामीले नै यो अन्तरकृया आयोजना गरेका हौं ।’
सुन्दासले संग्रौलालाई माया गर्ने बेलायतवासी सबैलाई उक्त कार्यक्रममा उपस्थित भइदिन अनुरोध गरेका छन् ।
संग्रौला अगस्ट १८ मा नेपाल फर्कने योजना छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री