ताङ्गतिङ्ग समाज युकेको वार्षिक भेला

लण्डन । ताङ्गतिङ्ग समाज युकेले गत शनिबार विभिन्न कार्यक्रमसहित बार्षिक भेला तथा समर बिविक्यु गरेको छ । लण्डनको नर्थोल्टस्थित नर्थोल्ट भिलेज कम्युनिटी सेन्टरमा कार्यक्रम भएको हो । 

कार्यक्रममा समाजले तमुधिं युकेद्वारा गत अप्रिल महिना आयोजित क्होला सोंथर (तमुहरुको उदगम स्थल) भ्रमणमा पुर्ख्यौली गाउँ ताङ्गतिङ्ग पुगेका तमुधिं युकेका अध्यक्षसहित ताङ्गतिङ्ग सदस्यहरुलाई खादा लगाई धन्यबाद तथा सम्मान ज्ञापन गर्‍यो ।

उक्त भ्रमण टोलीका प्राय: सदस्यहरुले ताङ्गतिङ्गको पनि भ्रमण गरि ताङ्गतिङ्ग युवा क्लबलाई आर्थिक सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा धर्म गुरु तथा तमु लामा संघ नेपालका अध्यक्ष खेन्पो शीर लामा गुरुङ्ग हुनुहुन्थ्यो भने प्रमुख अतिथिको रुपमा नेपाल भूतपूर्ब सैनिक संघका उपाध्यक्ष गर्ज गुरुङ्ग हुनुहुन्थ्यो ।

कार्यक्रममा तमुधिं युकेद्वारा आयोजित क्होला सोंथर भ्रमणटोलीका प्रमुख संयोजक एकेन्द्र गुरुङ्गले ताङ्गतिङ्ग गाउँ एउटा विविधताले भरिएको गुरुङ्ग गाउँ मध्ये एक भएको र अन्य गाउँहरु जस्तै ताङ्गतिङ्ग गाउँको पनि आफ्नो छुट्टै पहिचान र महत्व भएको बताउनु भयो ।

त्यस्तै प्रमुख अतिथि गर्ज गुरुङ्गले ताङ्गतिङ्ग गाउँको मानिसहरुमा अरु गुरुङ्ग गाउँहरुको तुलनामा बढी राजनीतिक सचेतना रहेको सुनाउनु भयो । ‘भूपू राष्ट्रिय पञ्चायत सदस्य, भूपू राष्ट्रिय सभा सदस्य तथा भूपू सांसददेखि हाल मादी गाउँपालिकाका अध्यक्ष यसै गाउँको रहेका र बेलायतमा गत मे महिनामा सम्पन्न स्थानीय चुनाबमा लण्डन बार्नेट बरोको काउन्सिलर पदमा पनि यसै गाउँका सुपुत्र बेलायती सेनाबाट सेवा निबृत्त समाजसेवी लक्ष्यबहादुर गुरुङ्ग काउन्सिलर जस्तो गरिमामय पदमा निर्बाचित भएकाले पनि यी सबै कुराहरुको पुष्टि हुन्छ’-उहाँले भन्नुभयो ।

सोही अवसरमा लण्डन बार्नेट बरोको काउन्सिलर पदमा समाजसेवीलक्ष्यबहादुर गुरुङ्ग निर्बाचित भएको खुशीयालीमा समाजको तर्फबाट उहाँलाई फेटा ओढाइ सम्मान तथा अभिनन्दन गरिएको थियो ।

त्यस्तै हाल संयुक्त राष्ट्रसंघमा कार्यरत समाजका सल्लाहकार जीतबहादुर गुरुङ्ग यसै बर्ष राष्ट्रसंघको पी ५ तहमा पदोन्नति भएकोमा उहाँलाई पनि फेटा ओढाइ बधाइ तथा सम्मान गरियो ।

सधैको बर्षहरुमा झैं यस बर्ष पनि समाजका ग्राजुयट सदस्यहरु, नयाँ घर वा सम्पत्ति जोडन सफल सदस्यहरु, जागीरमा पदोन्नति भएका सदस्यहरु, नवविवाहित, परिवारमा नयाँ सदस्यको जन्म वा आगमन तथा यसै बर्षमात्र युके आएका सदस्यहरुलाई बधाइ, शुभकामना तथा स्वागत गरिएको थियो ।

ग्राजुयट सदस्यहरुलाई बधाइ तथा शुभकामना दिने क्रममा यसै बर्षमात्र लण्डन इम्पेरियल कलेजबाट माइक्रोबायोलोजीमा विद्यावारिधि गरेकी छात्रा इश्वरी (करिष्मा) गुरुङ्ग (काउन्सिलर लक्ष्य बहादुर गुरुङ्ग तथा श्रीमती शोभा गुरुङ्गकी कान्छी सुपुत्री) लाई विशेष बधाइ तथा शुभकामना दिइएको थियो ।

औपचारिक कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष तथा काउन्सिलर लक्ष्यबहादुर गुरुङ्गले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजको सचिब टाउ गुरुङ्गले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री