यमन बस आक्रमणको सर्वत्र विरोधपछि छानविन गर्ने घोषणा

साउदी अरब नेतृत्वको गठबन्धनले गरेको हवाइ आक्रमणमा क्षतिग्रस्त बस हेर्दै एक बालक । तस्विर एएफपी

रियाद, २५ साउन – साउदी अरब नेतृत्वको गठबन्धनले यमनमा बसमा बिहीबार गरिएको आक्रमणको छानविन गर्ने जनाएको छ ।

हवाई आक्रमणमा परी बसमा रहेका कम्तीमा २९ बालबालिकाको मृत्यु भएको घटनाको सर्वत्र विरोध भएपछि गठबन्धनले छानविन गर्ने प्रतिवद्धता गरेको हो ।

“गठबन्धनको नेतृत्वले घटनाका बारेमा छानविन गर्न निर्देशन दिएको छ, तत्काल छानविन प्रक्रिया सुरु गर्न भनिएको छ,” गठबन्धनका एक उच्च अधिकारीले भने ।

यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धनलाई आक्रमणमा दोषी रहेको आरोप हुथी विद्रोहीले लगाएको थियो ।

यमनी विद्रोहीको नियन्त्रणमा रहेको ठाउँमा भएको घटनाको राष्ट्रसंघ, अन्तर्राष्ट्रिय रेडक्रसलगायतका अधिकारवादी संघसंस्थाहरुले निन्दा गरेका थिए ।

गत हप्ता बिहीबार नै भएको एक आक्रमणमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने १७० जना घाइते भएका थिए ।

यमनमा सन् २०१५ देखि शुरु भएको युद्धका कारण अहिलेसम्म १० हजारभन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री