लन्डन डिटेन्सन सेन्टरबाट एक नेपालीको रोदन

हार्मन्डसवर्थ इमिग्रेसन रिमुभल सेन्टर

लन्डन । झण्डै तीन महिनादेखि होम अफिसको डिटेन्सन सेन्टरमा छन् एक युवा । सामाजिक प्रतिष्ठाका कारण उनको परिचय यहां खुलाइएको छैन् तर उनी समलिंगी (गे) हुन् र भूतपूर्व गोर्खा परिवारका एक सदस्य । उनले गरेको असाइलम फाइल होम अफिसले रिफयूज गरेपछि २४ मे २०१८ मा पहिलोपटक समातेर डिटेन्सन सेन्टरमा 
राखियो उनलाई ।

गत अगष्ट ५ मा उनलाई नेपाल फर्काउन (डिपोर्ट) होम अफिसका चार अधिकृतले प्लेनमा जबरजस्ती राखेपनि पाइलटले लान नमानेपछि उनी जोगिए र पुनः डिटेन्सन सेन्टरमा फिर्ता लगियो ।

बेलायती अध्यागमन अधिकारीहरुले मुम्बइ उड्न लागेको जेट एयरवेजको जहाजभित्र ति नेपालीलाई बलजफ्ती हालेपनि पाइलटले लैजान अस्वीकार गरेपछि डिपोर्ट प्रयास असफल भएको थियो ।

घट्ना गत ५ अगष्ट अपरान्ह ५.०५ बजेको हो । दिउसो एक बजे अध्यागमनका दुई कर्मचारी आएर आज तिम्रो नेपाल जाने फ्लाइट छ भनेका रहेछन् । ‘बिना सूचना त्यसो भन्दा म त अचम्ममा परें’, उनी घट्ना सम्झन्छन्, ‘चार जनाले मलाई एयरपोर्ट सम्म पुरयाए । मैले नेपाल जाने अवस्था छैन् किनकि त्यहां मेरो जीवन सुरक्षित छैन् भनेर बारम्बार भनेपनि उनीहरुले मेरो कुरै सुनेनन् । मैले असाइलमको नयां आवेदन हाल्न पाउने कानूनी प्रावधान समेत वास्ता गरिएन । टर्मिनल ४ मा रहेको जेट एयरवेजभित्र अभद्र व्यवहार गर्दै जहाजको अन्तिम सिटतिर घिसार्दै लगे तर मैले चिच्याएपछि पाइलटले उडाउन मानेनन् ।’

‘मलाई प्लेनमा बलजफ्ती गरेपछि म रुंदै चिच्याएं । मलाई घिसार्दै लैजांदा मेरो हात, कान र खुट्टामा चोट लाग्यो । जुत्ता फुस्कियो, पाइन्ट झरिसकेको थियो । जहाजका अन्य यात्रु र चालक दलले मेरो गतिविधि हेरिरहेका थिए । अन्तिम समयमा पाइलटले मलाई नलाने भनेपछि जोगिएं’, हार्मन्डसवर्थ इमिग्रेसन रिमुभल सेन्टर फिर्ता लगिएपछि भूपू गोर्खा परिवारका ति सदस्यले सेन्टरबाट इमेलमा लेखेका छन्, ‘मैले आफ्नो शरणार्थी आवेदन पुनः हाल्न पाउने अधिकार हुंदा हुंदै बिना सूचना देश निकाला गर्न लागियो । पशुको जस्तो व्यवहार गरे मलाई । म त्यो कहाली लाग्दो घट्ना सम्झन पनि सक्दिन ।’

बेलायतको कानुन अनुसार एयरलाइन्सले आप्रवासीलाई डिपोर्ट 
गर्ने क्रममा सघाउनु पर्ने भएपनि पाइलटसंग भने कसैलाई लांदिन भन्न पाउने एकल अधिकार सुरक्षित छ । ति पाइलटले अन्य यात्रुको सुरक्षाबारे सोचेर उडाउन अस्वीकार गरे वा ति नेपालीप्रति सहानुभूति प्रकट गरेर, यकिन भएन ।

होम अफिसले उनी समलिंगी भएको विश्वास गर्न नसकिएको र 
आफ्नो लैंगिक अवस्था के हो नखुलाए काठमाडौंमा पनि जीवन शुरु गर्न सकिने भनेर भिजा ‘रिफ्युज’ गरिदिएको थियो । आफ्नी आमाले पनि नेपाल फर्किए ज्यान मार्ने धम्की दिएको उनले इमेलमार्फत जिकिर गरेका छन् । समलिंगी भएका कारण नेपालमा बस्न असुरक्षा भएको र परिवारले पनि स्वीकार नगरेको उनको जिकिर छ ।

अपर ट्राइबुनल कोर्टमा पुगेको मुद्दाको निर्णय गत २९ मार्चमा भएपनि आफूलाई कुनै पत्र नआएको बरु होम अफिसले कोर्टको निर्णयको सात दिनपछि कारण नभनि बिना कागजात र जानकारी समातेको उनको दावी छ । ‘डिटेन्सन सेन्टर’ मा आफ्नो जीवन सांच्चिकै कठोर बनेको र मानसिक रुपमा विक्षिप्त बनेको उनले बताएका छन् ।

अध्यागमन अधिकारीहरुको अभद्र व्यवहारप्रति यूके नेपाल फ्रेण्डसीप सोसाइटीले आपत्ति जनाउंदै दुःखद भनेको छ । सोसाइटीले बेलायती विदेशमन्त्री जेरेमी हन्टलाई एक पत्र लेखी उक्त घट्नाले आफूहरुको ध्यान आकृष्ट भएको जनाउंदै यस्ता घट्नाले मानवअधिकारको वकालत गर्ने ब्रिटेनको छवि धुमिल हुनेतर्फ सचेत गराएको छ ।

सोसाइटीका प्रमुख कार्यकारी अधिकृत अलान मार्सेल सान्काले अध्यागमन अधिकारीहरुको विभेदपूर्ण क्रियाकलापप्रति सचेत गराउंदै ब्रेक्जिट अघि बेलायत नेपाल र दक्षिण एसियासंगको सम्वन्ध, मित्रता अनि छवि थप सुधार गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री