इमरान खानले लिए प्रधानमन्त्री पदको सपथ ग्रहण

नवनिर्वाचित प्रधानमन्त्री खान । तस्विर सिन्हवा

काठमाडौँ, २ भदौ – पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार सपथ ग्रहण गर्नु भएको छ । मुलुकको सवैभन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) बाट प्रधानमन्त्रीको उम्मेदवार भई विजयी भएका खान पाकिस्तानको २२ औँ प्रधानमन्त्री बन्नु भएको हो ।

प्रधानमन्त्री बन्नका लागि आवश्यक पर्ने १७२ मत मध्ये प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा खानले १७६ मत पाएपछि उहाँलाई शनिबार सपथ ग्रहण गराइएको हो ।

खानका प्रतिश्पर्धी तथा पाकिस्तान मुस्लिम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नु भएका शाहबाज शरिफले भने ९६ मत मात्रै प्राप्त गर्नु भएको थियो ।

सपथग्रहण समारोहमा उच्च पदस्थ व्यक्ति, विदेशी पाहुनाहरुसँगै उहाँकी श्रीमती बुशरा मेनका पनि सहभागी भएको समाचारमा जनाइएको छ ।

खानले आफ्नो मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गत जुलाई २५ तारिखमा पाकिस्तानमा भएको आमनिर्वाचनबाट पूर्वक्रिकेटर खानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआइ) ले ११४ स्थानमा जित हासिल गरेर सवै भन्दा ठूलो पार्टी भएको छ ।

सरकार गठनका लागि आफूले मात्रै बहुमत प्राप्त नगरेकाले उहाँले गठबन्धन सरकार बनाउनु पर्ने भएको छ ।

विपक्षीहरुले अस्विकारेकाले विवादका बीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।

सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले प्रधानमन्त्री बन्नु भएको हो ।

देशमा भ्रष्टाचारविरोधी अभियान चलाउँछु – खान 

यसैबीच शुक्रबार पाकिस्तानको संसदद्धारा प्रधानमन्त्रीमा निर्वाचित र आज सपथ खानु भएका इमरान खानले देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘मैले विगतदेखि नै पाकिस्तानमा व्याप्त भ्रष्टाचार विरोधी अभियान चलाएको हो र अब देशको नेतृत्व गरेपछि पनि मैले यसलाई थप गति दिनेछु ।’

पाकिस्तानी संसदले शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेपछि उहाँले देशमा भ्रष्टाचार गर्ने र राष्ट्रको सम्पत्ति लुट्ने कुनै पनि मानिसलाई आफूले नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले पाकिस्तानमा आफूले परिवर्तन ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । पाकिस्तान नयाँ मुस्लिम राष्ट्रका रुपमा स्थापना भएदेखि नै पाकिस्तानी जनताले स्थायीत्व र सुशासनको लागि प्रतिक्षा गरेपछि गएका ७१ वर्षमा त्यो सम्भव नभएको भन्दै आफूले देशवासीको परिवर्तनको चाहनालाई पूरा गर्ने बताउनुभयो ।

उहाँले आफू राजनीतिक परिवारको सदस्य नभएको स्पष्टगर्दै भन्नुभयो, ‘न मैले र नत मेरा बुबा या परिवारका अरु कुनै सदस्यले राजनीति गरेका थिए तर मैले भने पाकिस्तानमा निरन्तर २२ वर्षदेखि राजनीतिमा सक्रिय भएर जनताको सामु केही बाचा गरेको छु ।’

‘जनतासमक्ष गरेका यिनै बाचाहरुले नै आफूलाई पाकिस्तानी नागरिकले सत्तामा पुरयाएका हुन् भन्दै अब उनीहरुका लागि र देशका लागि पनि मैले केही गर्छु भनेर लागेको छु’, उहाँले भन्नुभयो ।

पाकिस्तानमा अहिले भ्रष्टाचार व्यापक मात्रामा मौलाएको छ भन्दै यसका कारण जनतामा निराशा छाएको र देशको आर्थिक अवस्था पनि झन कमजोर हुदै गएकोले आफूले भ्रष्टाचार विरोधी अभियानमा लाग्ने निधो गरेको उहाँले बताउनुभयो ।

आफ्नो यही बाचाका कारण नै पाकिस्तानी नागरिकले आफूलाई मत दिएर जिताएको र देशको प्रधानमन्त्रीको जिम्मेवारी पनि दिलाएको जानकारी दिनुभयो ।

राजनीतिक परिवारबाट नआएका पूर्व क्रिकेटर खानको नेतृत्वलाई पाकिस्तानमा नयाँ आशाका रुपमा लिइएको छ ।

प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानका समकक्षीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाउनु भएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री