युरोपेली आयोग, अमेरिकाबीच व्यापारमा सहमतिको खोजी

ब्रसेल्स, २५ भदौ – संयुक्तराज्य अमेरिका र युरोपेली आयोगका उच्च अधिकारी व्यापारमा देखिएका विवाद सुल्झाउने उपायको खोजी गर्न सोमबार ब्रसेल्समा भेला भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करबीच जुलाइमा भएको वार्तामा एकअर्का विरुद्ध करवृद्धि नगर्ने र सबै बस्तुमा भन्सार दस्तुर हटाउने गरी सीमित व्यापार सम्झौता गर्नेमा सहमति भएको थियो ।

दुबै पक्षबीच भएको यो सहमतिलाई धुमधामसँग प्रचार गरिएको थियो, तर पछिल्ला वक्तव्यले मतान्तर रहेको स्पष्ट गरेको छ, खासगरी कृषिजन्य उत्पादनका विषयमा । अमेरिकाले कुनैपनि सम्झौतामा कृषिलाई भुल्न नसकिने बताएको छ ।

फ्रान्सको दबाबमा युरोपेली सदस्य राष्ट्रहरुले व्यापार सम्झौतामा कृषिजन्य बस्तुलाई समावेश गर्नुपर्ने भन्ने अमेरिकाको दबाबलाई अस्वीकार गरेका छन् । युरोपका वरिष्ट व्यापार अधिकारी सेसीलीया माल्स्ट्रमले आफ्ना समकक्षी अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइट्रलाई युरोपको चासोका विषयमा स्पष्ट गर्ने प्रयत्न गर्नुहुनेछ ।

“युरोपेली आयोग र संयुक्तराज्य अमेरिकाबीच दस्तावेजको रुपरेखामा सहमति हुनेछ र सायद यो कार्य वर्षको अन्त्यसम्ममा हुनेछ” युरोपेली स्रोतले एएफपीलाई बतायो- “यथार्थमा, ट्रम्प र जन्करबीच सहमति भएको हो तर हामीलाई छलफलको विस्तृत जानकारी छैन ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी मध्यावधि चुनाव अघि नै युरोपका चारपाङ्ग्रे सवारीसाधनमाथि करबृद्धि गर्ने भनी मन्तव्य दिनुभएको थियो ।

चारपाङ्ग्रे सवारीसाधनमा हुने करवृद्धिले जर्मनीमाथि सबैभन्दा ठूलो क्षति पुग्ने अनुमान गरिएको छ । जुनमा युरोपेली स्टील र आलुमिनियममाथि लगाएको करवृद्धिले थप समस्या सिर्जना गरेको छ । प्रतिशोध स्वरुप युरोपले समेत अमेरिकी बस्तुमाथि करवृद्धि गरेको छ ।

युरोपेली आयोगकी माल्स्ट्रमले गत महिना युरोप–अमेरिकाबीच सवारीसाधनमा करवृद्धि गर्न नहुने बताउनुभएको थियो । तर अमेरिकी राष्ट्रपतिले अमेरिकी कारमाथि युरोपको बजार लगभग बन्द अवस्थामा रहेकोले पनि अमेरिका भित्रिने कारमा कर लगाउनुपरेको दाबी गरिरहनुभएको छ ।

“यो विल्कुलै ठीक होइन, यसलाई स्वीकार्न सकिन्न,” ब्रसेल्सको धारणाप्रति कटाक्ष गर्दै ट्रम्पले भन्नुभयो । ट्रम्पले युरोपेली आयोगलाई चीनसँग पनि तुलना गर्नुभयो । उहाँले संयुक्तराज्य अमेरिका प्रवेश गर्ने सबै चिनीया बस्तुमाथि करवृद्धि गर्ने चेतावनी दिनुभएको छ ।

“युरोपेली युनियनसँगको व्यापारिक सम्बन्ध पनि चीनजस्तै खराब छ, केही सानो मात्र हो,” ट्रम्पले अगष्टमा ब्लूमबर्गलाई बताउनुभयो । तर तनावमा रहेको जर्मनीको अगुवाइमा रहेका युरोपेली अमेरिका वार्ताको टेबलमा आओस् र कुनै किसिमको सम्झौता होस् भन्ने चाहन्छन् ।

जुलाइदेखि युरोपेली आयोगले अमेरिकासँग धेरैवटा प्रतिबद्धता घोषणा गरेको छ, तर पर्यवेक्षकले यी प्रतिबद्धता पहिल्यै सुल्झेका हुन् भनी टिप्पणी गरेका छन् । युरोपेली अधिकारीले मागमा आएको तिब्रवृद्धि बजारका कारण भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री