ट्रम्पलाई किमको पत्र, अमेरिका आशावादी

सिंगापुर वार्तामा ट्रम्प र किम । तस्विर एपी

वासिङ्टन, २६ भदौ (रासस-एएफपी) -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ । उक्त पत्र राष्ट्रपति ट्रम्पले सोमबार प्राप्त गर्नुभएको थियो ।

गत जुलाई १२ मा सिङ्गापुरमा दुई नेताबीच शिखर वार्ता भएको थियो । सो वार्तापछि पुनः दोस्रो भेटघाटको लागि उहाँले अत्यन्त सकारात्मक पत्र पठाउनु भएको ह्वाइट हाउसले सोमबार जानकारी दिएको छ ।

यो अत्यन्तै गौरव गर्न लायक र सकारात्मक पत्र भएको ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डर्स हक्याबीले बताउनुभएको छ । यस पत्रबाट कोरियाली द्वीपमा प्योङ्याङले निःशस्त्रीकरणको प्रतिबद्धतालाई जारी राखेको भन्ने प्रष्ट गरेको पनि उहाँले बताउनुभएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किमले पठाउनु भएको यस पत्रमा पहिलो प्रस्ताव नै अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो भेट गर्ने रहेको थियो । सिङ्गापुरमा भएको पहिलो भेटपछि नै दुई देशबीचको सम्बन्ध सामान्यीकरणतर्फ उन्मुख भएको छ ।

यस पत्रबाट वासिङ्टन र प्योङयाङ बीचमा सिंगापुर वार्तापछि थप प्रगतिलाई साबित गर्ने पनि स्यान्डर्सले बताउनुभएको छ । सिङ्गापुर शिखर बैठकपश्चात उत्तर कोरियाली नेता कीमले आफ्नो देशमा जारी पारमाणविक कार्यक्रम स्थगित गरी निःशस्त्रीकरणतर्फ लाग्ने बाचा गरेको थियो ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले गत जुनमा भएको छलफलपछि ट्रम्प र किमको भेटवार्तामा लगातार प्रयास जारी राख्ने प्रतिज्ञा गर्नुभएको थियो ।

उता कोरियाली प्रायःद्वीपमा पूर्ण रुपमा हुने निःशस्त्रीकरण नै अमेरिका र उत्तर कोरियाबीच समस्या समाधानको आधारभूत कुरा भएको मुनले मङ्गलबार बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री