लन्डन साउथहलमा तीज पर्वको उल्लास


लन्डन । लन्डन साउथहलस्थित विश्व हिन्दू मन्दिरमा नेपाली नारीहरुले आफ्नो महान पर्व हरितालिका तीज उल्लासमय वातावरणमा मनाएका छन् । विश्व हिन्दू महासंघ बेलायत च्याप्टर र पशुपतिनाथ सनातन मन्दिर बेलायतको संयुक्त आयोजनामा तीज पर्व आयोजना गरिएको हो । बिहान दश देखि सांझ ६ बजेसम्म चलेको कार्यक्रममा महिलाहरु पूजा र तीज गीतमा नाचगान गरि रमाइलो गरे ।

कार्यक्रम आयोजनाका लागि सक्रिय एनआरएनए यूके धर्म विभाग संयोजक होमनाथ पौडेलका अनुसार पर्वमा राजदूत पत्नि पुनम लक्ष्मीसहित करिब तीन सय महिला सहभागी थिए ।

विभिन्न ५ चरणमा पूजा गराइएको थियो । पण्डितहरु गोबिन्द नेपाल, चिरन्जिवी ढकाल, दुर्गाप्रसाद पोख्रेल, शेखर काफ्ले, नारायण गाउंले र होमनाथ पौडेलले पूजाआजा गराएका थिए ।

सो अवसरमा उत्कृष्ट नृत्य गर्ने र पोशाक एवं गरगहना लगाउनेलाई मिस/मिसेस तीजको उपाधि सहित पुरस्कार पनि प्रदान गरियो ।

सो अबसरमा गायक बिमल राज छेत्रीले सहभागीलाई खुब नचाए ।  

बेलायतका अन्य शहर लन्डन प्लमस्टिडको पशुपतिनाथ मन्दिर, अल्डरसटस्थित शिव कल्चर सेन्टरमा पनि तीज विशेष कार्यक्रम गरिएको छ ।

नेपालमा पनि धुमधामसंग मनाइयो तीज । तीजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्ने परम्परा छ । कति भक्तजनले आजै हरितालिकाको पूजा लगाउंछन् । पूजा नलगाउनेले भाद्र शुक्ल चौंथीका दिन बिहान गोदान र पूर्णपात्र गरेपछि व्रत समापन हुन्छ ।

विवाहित नारीले पारिवारिक कल्याण एवं सुख शान्ति, अविवाहितले सुयोग्य वरको कामना गरी व्रत बस्ने परम्परा सत्य युगदेखि नै चली आएको धार्मिक विश्वास छ । यो व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले गरी महादेव स्वामी पाएको पौराणिक कथन छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री