नासाको लेजर उपग्रह प्रक्षेपण, हिउँ र समुद्री सतहको अध्ययन गर्ने

लस एन्जलस, ३१ भदौ – अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ ।

करिब १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्नियास्थित भान्डेनबर्ग हवाई अखडाबाट प्रक्षेपण गरिएको हो ।

करिब आधा टन भारबहन क्षमताको आइसस्याट–२ नामको उपग्रहले खासगरी ध्रुवीय क्षेत्रको हिउँको अवस्थाबारे अध्ययन गर्ने नासाले जनाएको छ ।

यसअघि सन् २००३ मा प्रक्षेपण गरिएको आइसस्याटको समयावधि सन् २००९ मा समाप्त भएको थियो । पहिलो मिसनले समुद्रको हिउँको पत्र पातलिँदै गएको र ग्रीनल्यान्ड तथा अन्टार्कटिकाको तटीय क्षेत्रबाट हिउँको पत्र हराउँदै गएको पत्ता लगाएको थियो ।

तर पछिल्ला नौ वर्षमा अपरेशन आइसब्रीज नामको हवाई अभियान सञ्चालनमा थियो । यी हवाईजहाज उत्तरी र दक्षिणी ध्रुवको माथि उडाइएको थियो र यसबाट बदलिँदो हिउँको उचाइ मापन गरिन्थ्यो ।

तर नवीनतम प्रविधिका साथ अन्तरिक्षबाट लिइने तस्वीर र जानकारी बढी यथार्थपरक हुनेछ ।

नयाँ लेजरले एक सेकेन्डमा १० हजार पटक तस्वीर लिन सक्दछ जबकी पहिलो मिसनमा समाविष्ट आइसस्याटले प्रति सेकेन्ड ४० पटक मात्र फायर गर्दथ्यो ।

यो अन्तरिक्ष अभियान तीन वर्ष चल्नेछ तर यसमा १० वर्षका लागि पुग्ने इन्धनको व्यवस्था गरिएको छ । यदि व्यवस्थापनले यसलाई अझ लामो अवधिसम्म प्रयोग गर्न चाह्यो भने अवधि बढाउन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री