शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

काठमाडौँ, ३१ भदौ – चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० लाख दिने निर्णय भएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । प्रतियोगितामा उपविजेता हुने टोलीले रु ३५ लाख पाउनेछन् भने तेस्रो हुनेले रु २५ लाख पाउनेछन् ।

चौंथोले रु १५ लाख, पाँचौंले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । प्रतियोगितामा फेयर प्ले टोलीले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार दिनेछ भने म्यान अफ दि म्याच घोषित हुने खेलाडीले रु १० हजार प्राप्त गर्नेछन् । लिग अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने मिड फिल्डर, डिफेन्डर, फरवार्ड, गोलकिपर र प्रशिक्षकले एक एक थान मोटरसाइकल पाउनेछन् । तीन विभागीयसहित १४ टोली सहभागी उक्त प्रतियोगिता आगामी असोज १३ गतेदेखि पुस महिनासम्म चल्नेछ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी, थ्री स्टार, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ, फ्रेन्ड्स, सङ्कटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटि) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको लागि क्लबहरुले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने एन्फाले जनाएको छ । जसमा चार विदेशी खेलाडी राख्न पाउने छन् । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबल २०१९ मा सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट घोषित हुने फरवार्ड, डिफेन्डर , मिडफिल्डर, गोलकिपर र प्रशिक्षले एक एक थान बाइक पाउनेछन् । यसपटकको लिगमा म्याच फिक्सिङ रोक्न एन्फाले नयाँ कमिटीसमेत गठन गरेको छ भने सिसी क्यामेराको जडानसमेत गरिने एन्फाले जनाएको छ । लिग तयारीको लागि एन्फाले क्लबलाई रु २० लाख उपलब्ध गराउने छ । उक्त प्रतियोगिताको लागि रु पाँच करोड ८० लाख खर्च लाग्ने एन्फाले जनाएको छ । प्रतियोगिताको खेल भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हल्चोकस्थित सशत्र प्रहरी बलको (एपिएफ ) मैदानमा हुनेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री