मिस नेपाल ‘वेलकम टु लण्डन’

लन्डन । मिस नेपाल श्रृंखला खतिवडा मंगलबार सांझ लन्डन आइपुगेकी छन् । श्रृंखला अल्डरसटस्थित प्यालेसमा शुक्रबार (२१ सेप्टेम्बर) सांझ आफ्नै प्रोजेक्टका लागि गर्न लागिएको च्यारिटी डिनरमा सहभागी हुन पहिलो पटक यूके आएकी हुन् । 

श्रृंखलाले बिमानस्थलमा आफ्नो यात्रा सुखद रहेको बताउँदै यूके आउने यसअघि कहिल्यै नसोचेको बताइन् । ‘एउटा पवित्र कामको लागि यूके आउन पाएं, खुशी छु’, उनले भनिन्- ‘मलाई सबैले साथ दिनुहुने आशा छ ।’

आमाका साथ यहाँ आएकी उनलाई स्वागत गर्न आयोजक र अन्य शुभचिन्तक हिथ्रो बिमानस्थल पुगेका थिए । सिग्नेचर ग्रुप र हयाब अ मोमेन्टले शुक्रबार च्यारिटी डिनर गर्दैछन् । 

आउंदो डिसेम्बरमा मिस वोर्ल्डका लागि नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी श्रृंखलालाई उक्त प्रतियोगितामा ‘ब्यूटी वीथ अ परपोज’ सेग्मेन्टमा एउटा च्यारिटी काम देखाए ‘प्लस पोइन्ट’ हुन्छ । त्यसैले मकवानपुरको दुर्गम कैलाश गाउंपालिका-७ मा हेल्थ पोस्ट बनाउने उनको योजना छ र यसैका लागि आर्थिक संकलन गर्न यूके आएकी हुन् उनी ।  

पेशाले आर्किटेक्ट उनी शुरुमा आफ्नै गृहजिल्ला मकवानपुरको चेपांग समुदायका लागि भवन निर्माण गर्न चाहन्थिन् । तर, जब उनी मकवानपुरको कैलाश गाउंपालिका ७ पुगिन्, त्यहांको दयनीय स्वास्थ्य सेवा, बालबालिकामा कुपोषण र सामान्य हेल्थ एण्ड हाइजिन समेत नहुंदा उनी विक्षिप्तमात्र भइनन्, मन पनि एकाएक परिवर्तन भयो ।

सामान्य रुघाखोकी र झाडा पखला लागेपनि ५ घण्टा पैदल हिंडेर उपचार गर्न जानुपर्ने गाउंलेको वाध्यता देखेर उनले त्यहां एउटा हेल्थ पोस्ट बनाउने निर्णय गरि अहिले श्रृंखला त्यसैका लागि आर्थिक संकलनमा जुटेकी छन् ।

श्रृंखलाले आफ्नो अभियानमा साथ दिन अपिल गर्दै शुक्रबार हुने च्यारिटीमा सहभागी भइ सहयोग गर्न बेलायतवासी सबैमा अनुरोध गरेकी छन् ।

तस्बिर- शंकर श्रेष्ठ  

प्रतिक्रिया

सम्बन्धित सामाग्री