बेलायतमा नेपाली खेलाडीलाई ऐतिहासिक सफलता

लण्डन । बेलायतमा आयोजित एक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली करांते खेलाडीहरुले ऐतिहासिक जित हासिल गरेका छन् । 

ब्रिटिश करांते फेडेरेसन (बिआईएफ) द्वारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको टोलीले ऐतिहासिक जित हासिल गरेको हो । 

सेप्टेम्बर २२ र २३  मा बेलायतको लेस्टरमा सम्पन्न प्रतियोगितामा नेपालका लागि सोनाम लामाले ६० केजी तौल समूहमा कास्य पदक जिते । त्यस्तै, टिम फाईटमा सोनाम लामा, विप्लभलाल श्रेष्ठ र प्रशिक्षक तथा खेलाडी विनोद शाक्यको समूह उपविजेता बन्दै रजत पदक जित्न सफल भएको छ ।

६० केजी तौल समूहमा कास्य पदक जित्ने क्रममा सोनामले इंग्ल्याण्डका खेलाडीलाई हराउँदै सेमिफाईनल प्रवेश गरेका थिए । तर, स्कटलाण्डका खेलाडीसंग पराजित बनेपछि उनले कास्यमै चित बुझाउनु परेको थियो ।

त्यस्तै टिम फाईटमा नेपाली समूह इंग्ल्याण्डसंग थोरै अंकले पराजित भएपछि नेपाल रजतमै सिमित भएको हो । 

नेपालबाट रेफ्रीको भूमिकामा आएकी सिर्जना अधिकारी पनि सो प्रतियोगिताकै उत्कृष्ट रेफ्रीको रुपमा चयन हुन सफल भएकी छन् ।

च्याम्पियनसिपमा इंग्ल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड, ब्राजिल, पोर्चुगल, लाटभिया, आयरल्याण्ड, फिनल्याण्ड आदि एक दर्जन बढि देशका खेलाडीले भाग लिएका थिए । नेपाली टिम म्यानेजर राजेन्द्र दुलाल थिए ।

यसैबीच नेपालको लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय पदक जित्न सफल खेलाडीहरुलाई लण्डनमा सम्मान गरिने भएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघ बेलायतले खेलाडीहरुको सम्मानमा एक कार्यक्रम गर्ने तयारी गरिरहेको अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले जनाए । नेपाली करांते खेलाडीहरु बेलायतमा आएर यो स्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नु ऐतिहासिक अवसर भएकोले खेलाडीहरुलाई बधाई र हौसलाका लागि सम्मान गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री