सोमबार, कार्तिक ५ २०७५ | Mon, October 22, 2018
नेपालको समय: ०९:२१ | UK Time: 04:36

मुटु स्वस्थ्य राख्न यी कुरामा ध्यान दिउं

सन्दर्भ विश्व मुटु दिवस

विकलचन्द्र आचार्य 
२०७५ असोज १२ गते १८:४०

लेखक आचार्य

प्रत्येक बर्ष सेप्टेम्बर २९ लाई बिश्व मुटु दिवसको रुपमा संसारभर मनाइन्छ । यसको मुख्य उद्देश्य सबैलाई स्वस्थ्यकर मुटु राख्न वाताबरण बनाउन उत्प्रेरित गराउनु हो ।

कार्डियोभास्कुलर डिजिजको माने मुटु र सञ्चार सम्बन्धी सवै रोगहरू जस्तै कोरोनरी मुटुरोग (एन्जाइना र हृदयघात) र स्ट्रोक पर्दछन् । यो मान्छे मर्ने रोगहरुमध्ये एक प्रमुख हो । अध्ययनले यो देखाएको छ कि दक्षिण एशिया र अफ्रो क्यारिबियनका मान्छेहरुलाई कोरोनरी मुटुरोग लाग्ने सम्भावना अन्यत्रकालाई भन्दा धेरै बढी हुन्छ । त्यसैले समयमा नै सजकता अपनाएर जीवनशैली परिबर्तन गरे मुटुरोगबाट बच्न या साबधान हुन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

मुटुको रोग लाग्ने कुनै एउटा मात्र कारण छैन तर हामीलाई थाह छ कि केही तत्वहरूले मुटुको रोग लाग्ने सम्भावना बढाउँदछ । तल भनिएका विभिन्न जोखिमहरूले नै कोरोनरी मुटुरोग लाग्न सक्छ । यसबाट बच्न आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्दछ ।

जोखिमका तत्वहरू-

धूमपान 

यदि तपाई धूमपान गर्नु हुन्छ भने आफ्नो स्वास्थ्य सुधारको निम्ति यसलाई छोड्नु नै सबैभन्दा महत्त्वपूर्ण निर्णय हुन्छ ।

चुरोटमा निकोटिन र कार्बन मोनोअक्साइड जस्ता हजारौ केमिकलहरू हुन्छन् । यसले मुटुको धड्कन बढाइ मुटुलाई बढी काम गर्न बल गर्दछ । रक्तचाप बढाउँछ र रगतलाई बाक्लो र टासिने बनाउँदछ, त्यसैले रगत जम्न सजिलो पार्दछ ।

कार्बन मोनोअक्साइड जस्ता केमिकलहरूले मुटु र शरीरमा चाहिने अक्सिजन कम गराउँदछ । यसले कोलेस्ट्रोललाई जान दिन्छ जुन जम्मा भई रक्त कोशिकाहरुको नलीलाई साँघुरो बनाउँदछ ।

धूमपानले मुटुरोगको अलावा स्ट्रोक, फोक्सोको क्यासर, आस्मा, दम, अल्सर आदि रोग लाग्न सक्छ ।

परिवारमा कोरोनरी मुटुरोगको इतिहास

कोरोनरी मुटुरोग परिवारमा सर्न सक्दछ । आफ्नो परिवारको सदस्यहरु जस्तै बाबु, आमा, फुपु, मामा आदि रगतको नातालाई यस्तो रोग लागेको छ भने यसका जोखिमका तत्वहरूलाई निवारण गर्न के गरिएको छ, यो पनि महत्त्वपूर्ण कदम हो । उदाहरणको लागि मोटो बाबुआमा भएको परिवारमा बालबच्चाहरुको खानपान पनि तेस्तै हुने प्रमाण देखिएको छ ।

उच्च रक्तचाप

जब चिन्तामा रहेर व्यायाम गरिन्छ र तब रक्तचाप बढ्छ । यो सामान्य हो । तर यदि केही नगरीकन आरामसँग बस्दा पनि रक्तचाप बढ्छ भने यसलाई असाधारण मान्न सकिन्छ । उच्च रक्तचाप धूमपानबाट पनि हुन सक्छ । यसले मुटु र रक्त कोषिकालाई बढी बल पार्दछ र रगतलाई बाक्लो, कडा र कम लचकदार बनाउँदछ ।

यदि उच्च रक्तचाप छ भने डाक्टरको सल्लाह बमोजिम औषधी खानु पर्दछ । बढी वजन हुनुबाट टाढा रहने, धूमपान त्याग्ने, नुन खान कम गर्ने, मदिरा खान कम गर्ने, चिन्ता कम गराउने केही व्यायाम गर्ने र कोसिस गर्नु पर्दछ ।

बढी वजन

यदि वजन बढी छ भने मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ । बढी वजन भएपछि उच्च रक्तचाप, मधुमेय हुने, रगतमा बढी कोलेस्ट्रोल अधिक हुने जोखिम हुन्छ ।

चिन्ता

चिन्ताको प्रकृति र अर्थ हरेक मानिसमा फरक हुन सक्छ । एउटा व्यक्तिलाई भएको चिन्ता अर्को व्यक्तिलाई नहुन सक्छ । केही निश्चित मात्रामा चिन्ता हुनु आवश्यक हुन्छ, यसले हाम्रो जीवनमा काम गर्न हौसला र मद्धत पुर्‍याउँदछ । तब समस्या पैदा हुन्छ जव चिन्ता हाम्रो वशबाट बाहिर जान्छ । दैनिक बोझपूर्ण क्रियाकलापले दिमागलाई शिथिल बनाई मानिस संयमबाट दूर भएको अवस्था विशेष नै चिन्ताग्रस्त परिवेश हो ।

आराम गर्ने तरिकाहरू सिकेर चिन्ताको समस्यालाई कम गर्न सकिन्छ । आरामका तरिकाहरू जस्तै गहिरो श्वासका व्यायामहरू र मांशपेशी आराम गर्ने सङ्गीतका क्यासेटहरू पसलमा पनि पाइन्छ । अर्को लोकप्रिय तरिकाहरू चाहि ‘टाई चेइ’ हो ।

चिन्ताका लक्षणहरूको पहिचान गर्न सकेपनि, चिन्तालाई व्यवस्थित या सफल रूपमा विजय पाउन मद्दत पुग्न सक्दछ ।

व्यायामको कमी

यदि सधै गर्ने योजनावद्ध  व्यायामहरू गर्दा जस्तै पौडी, तल दिइएको सल्लाह उपयोगी हुन सक्छन् । तर, नयाँ किसिमको व्यायाम गर्दा जहिले पनि डाक्टर, नर्सको सल्लाह अनुरुप नै गर्नुपर्दछ ।

जहिले जिउ तताउने गर्नु पर्दछ । यो अति महत्त्वपूर्ण हो कि विस्तारै विस्तारै मांशपेशी र जोर्नीहरू खुकुलो गर्नुपर्दछ । यसले मुटुको मांशपेशीले रगत पुर्‍याउन सुधार पुर्‍याउँदछ ।

व्यायाम गर्दा सजिलोसँग बोल्न सक्नुपर्दछ सधै व्यायाम सकिनुभन्दा अगाडि जिउ चिस्याउने गर्नुपर्दछ । यो महत्त्वपूर्ण हो कि विस्तार विस्तार मुटुको धड्कनको रफ्तार कम गर्नुपर्छ र शरीर साधारण रूपमा रहने गर्नुपर्दछ ।

हमेसा व्यायाम गर्नु राम्रो हो । आफ्नो आफ्नो शरीर अनुरुप तन्दुरुस्ती राख्नु पर्दछ ।

नियमित हिँड्नु नै उत्तम व्यायाम हो । व्यायाम गर्दा दुख्यो या असुविधा भएमा, तुरुन्त रोकी आराम भएपछि मात्रै सुरु गर्नुपर्दछ ।

रगतमा बढी चिल्लो

कोलेस्ट्रोल- कोलेस्ट्रोल भनेको चिल्लो पदार्थ जुन शरीरले प्राकृतिक रूपबाट नै बनाउँदछ । यो कलेजोले स्याचुरेटेट फ्याटबाट बनाउँछ । केही यी चिल्लोहरू मुटुलाई राम्रो (एच डी एल) र कोही नराम्रो (एल डी एल) हुन्छ ।

ट्राइग्लिसराइडस- खानामा धेरै चिनी या मदिरा भएमा यसको लेभल बढ्छ । मधुमेय भएको व्यक्तिमा पनि यसको लेभल बढी हुन्छ ।

कोलेस्ट्रोल कम गर्ने औषधीले पनि रगतमा बोसो कम गराउँदछ, तर केही आफैले गर्न सकिन्छ जस्तै धूमपान छोडेर, स्वस्थ्यकर खाना खाएर, दैनिक व्यायाम गरेर आदि ।

स्वास्थ्यकर मुटुको लागि खाना

वुद्धिमत्तापूर्ण खानाले मुटुको रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । ‘मुटुको रोगीलाई स्वस्थ्यकर खाना र मुटुको रोग विनाको व्यक्तिलाई स्वस्थ्यकर खाना एउटै हो ।’ स्वस्थ्यकर खानको लागि तल भनिएका कुढाहरू उपयोगी हुन्छन् ।

१) स्ट्राची खानालाई मुख्य मानौं-

हामीले खाने खानामा ३३% स्ट्राची हुनुपर्छ । यस प्रकारको खानामा शक्ति र अरू पोषणयुक्त तत्व पाइन्छ । यसमा फाइबर, क्याल्सियम, आइरन , भिटामिन ‘बी’ पाइन्छन् । हर पल्टको खानामा स्ट्राची खाना हुनुपर्दछ । यसलाई पकाउँदा या खाँदा धेरै क्यालोरी बढाउने जस्तै तेल, घिउ, चिनी थप्नु हुँदैन । होलग्रेन खानालाई पचाउन धेरै समय लाग्दछ, त्यसैले धेरै बेरसम्म भोक लाग्दैन । यी खानाका उदाहरणहरू होलग्रेन पाउरोटी, पास्टा, चामल, सिरियल आदि पर्छन् ।

२) फलफूल र सब्जी प्रशस्त खाऔँ-

घटीमा दिनको ५ पोर्सन विभिन्न किसिमका फलफूल र सब्जीहरू खानुपर्दछ । एक पोर्सन भनेको करिब ८० ग्राम हुन्छ (ताजा फलफूल, सब्जी)

३) माछा बढी खाऔं-

हप्तामा घटीमा १ पोर्सन तेलयुक्त माछा तल लेख्ने हप्ताको घटीमा दुई पोर्सन जसमा १ पोर्सन तेलयुक्त माछा खानु पर्दछ । माछामा प्रोटिन, अरू धेरै भिटामिन र मिनरलहरू पाइन्छन् । (१ पोर्सन तेलयुक्त माछा–१४० ग्राम)

४) स्याचुरेटेट फ्याट र चिनी कम गरौँ-

जुन खानेकुराहरूमा धेरैजनाबार बाट पाइने चिल्लो जस्तै बोसो, घ्यू, बटर र चिनी, सकेसम्म कम खानुपर्दछ । यसको सट्टामा कम परिणाम अनस्याचुरेटेट फ्याट जस्तै सूर्यमुखी तेल, तोरीको तेल, ओलिभको तेल, तेलयुक्त माछाहरु, नट्स अनि बियाहरु खानुपर्दछ । धेरै मिठाई, चिनीयुक्त पेय पदार्थहरू धेरै कम गर्नुपर्दछ ।

५) कम नुन खाऔं-

दिनमा ६ ग्राम भन्दा कम नुन खानुपर्छ, धेरै खाएपछि स्वास्थ्यमा हुने जोखिम जस्तै- उच्च रक्तचाप हुन्छ । प्रौढ मान्छेले दिनमा ६ ग्राम भन्दा कम नुन खानुपर्दछ ।

६) पानी प्रशस्त पिऔं-

हाम्रो शरीरलाई पानी प्रशस्त चाहिन्छ । ठाउँको मौसमअनुरुप पानी प्रशस्त पिउनु पर्दछ । गर्मी मौसम या बढी व्यायाम गरेको बेलामा शरीरलाई तिर्खाबाट बचाउन धेरै पानी पिउनु पर्दछ । ग्यासयुक्त पेय पदार्थहरू जसमा बढी चिनी हुन्छ यसलाई कम गर्नुपर्दछ ।

मधुमेह 

जव शरीरले रगतमा भएको चिनीलाई तोड्र्न सक्दैन तब मधुमेय हुन्छ । रगतमा धेरै चिनी भए पछि यो बाक्लो र टाँसिने हुन पुग्दछ । यसको मतलब मुटुले शरीरभरि रगत पम्प गरी पठाउन कडा काम गर्नुपर्दछ । रगत रक्त कोषिकाको भित्ताहरुमा टाँसिने हुन पुग्दछ र सजिलैसँग जम्न पनि सक्छ । मधुमेह भएको मान्छेले हमेसा यसलाई नियन्त्रण गर्नुपर्दछ । पिसाब र रगत समय समयमा जाँच्नु पर्दछ । मधुमेहको नियन्त्रणको लागि खाना महत्त्वपूर्ण उपचार विधि हो । खाना सधै नियमित छाक नछोडीकन, धेरै वेरसम्म भोको नभई रहने, चिनियुक्त खाना कम गर्ने, चोकरयुक्त खानाको साथै प्रशस्त फाइबर आदि खाने गर्नुपर्दछ ।

अरू प्रभाव पार्ने तत्वहरू-

लिङ्ग: मुटु सम्बन्धी रोगहरू महिला र पुरुष दुवैलाई उस्तै नम्बरमा लाग्दछ । फरकचाहिं मुख्यत: फरक फरक उमेर समूहमा रोग लाग्नु हो । धेरै पुरुषहरूलाई मुटुका समस्या आधा उमेरमा पुगेपछि लाग्दछ । महिलाहरूलाई अलि उमेर बढी भएपछि देखिन्छ ।

मुख्यत: यसका दुईवटा कारणहरू छन्-

अ) धेरै जोखिमका तत्वहरू महिला भन्दा पुरुषमा बढी पाइन्छ जस्तै धूमपान, उच्च रक्तचाप, बढी वजन हुन आदि । महिलाहरूले शारीरिक हिसाबले पनि धेरै काम गरी जीवन शैली स्वस्थ्यकर बनाएका हुन सक्छन् ।

आ) कोलेस्ट्रोलको लेभल पुरुष र महिलामा फरक पाइन सकिन्छ । महिलाहरूलाई प्राकृतिक रुपबाट नै हार्मोनले सुरक्षा प्रदान गर्दछ । यसको परिणाम कलिलो उमेरमा कम सङ्ख्यामा महिलाहरू मुटुका रोगी बन्छन् । तर, महिनावारी हुन छोडेपछि पुरुष सरह नै हुन्छ ।

मदिरा सेवन कम गर्ने । (१ युनिट = २५ एमएल व्हिस्की, आधा पाइन्ट बियर, १२५ एमएल वाइन) बेलायत सरकारले मदिरा हप्ताको १४ युनिट भन्दा बढीको सल्लाह दिदैन ।

मदिराले बोसोको लेबल  र रगतको किसिममा पनि फाइदा पुर्‍याउन सक्छ । धेरै मदिराले मुटुको मांशपेशीलाई नोक्सान पुर्‍याउँदछ । मृगौला र अरू रोग लाग्न पनि सक्छ । मदिरामा धेरै क्यालोरी हुने हुँदा मोटो मान्छेले विशेष विचार गर्नुपर्छ ।

बिश्व मुटु दिवसको उपलक्ष्यमा मुटु सम्बन्धि जानकारी राखी यसबाट सचेत होऔं । मुटुरोगबाट आंफूपनि बाँचौं अरुलाई पनि चेतना फैलाऔं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक