एनआरएनए यूके काउन्सिल बैठक सात घण्टा, ११ बुंदे घोषणापत्र जारी


लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको पांचौं काउन्सिल बैठक शनिबार बेलायतस्थित अल्डरसटमा सम्पन्न भएको छ । एम्पायर हलमा आयोजित बैठक ११ बुंदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

संघको विधान अनुसार आयोजित राष्ट्रिय परिषदको बैठकमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, बेलायतस्थित करिब १०० संघ संस्थाका प्रतिनिधि, समाजका अग्रज व्यक्तित्व, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय समितिका पदाधिकारी र सदस्यहरु लगायतको उपस्थिति थियो । झण्डै ७ घण्टा चलेको बैठकमा विभिन्न विषयमा गम्भीर छलफल गरी गहन सुझाव प्रस्तुत भएको संघले जनाएको छ ।

बैठकमा प्राप्त सुझावहरुलाई आधार बनाइ काउन्सिल बैठकले ११ 
बुंदे अल्डरसट घोषणा पत्र २०१८ जारी गरेको छ । बैठकमा गोर्खा मुद्दा र दोहोरो नागरिकता ‘हट डिवेट’ मा थियो ।

गैरआवासीय नेपाली संघ यूके अध्यक्ष योगकुमार फगामीको सभापतित्वमा भएको पहिलो उद्घाटन सत्रमा राजदूत डा. सुवेदीले संघले प्रशंसायोग्य, रचनात्मक, सार्थक र महत्वपूर्ण काम गरिरहेको भन्दै प्रशंसा गरे । राजदूतले संघले बेलायतका नेपालीबीच एकता, सहिष्णुता, समझदारी र सहकार्यको सम्भावनालाई अगाडि बढाएको उल्लेख गर्दै नेपालको आर्थिक-सामाजिक विकास र बेलायतका नेपालीको हितका लागि दूतावास संघसंग सहकार्य गरेर अघि बढेको जनाए । गैर आवासीय नेपाली नागरिकता र गोर्खा मुद्दा सकारात्मक रुपमा अगाडि बढेको विश्वास दिलाउंदै 
राजदूत डा. सुवेदीले गैर आवासीय नेपालीलाई नेपालमा राजनीतिक अधिकार दिने माग भने ‘इन्कार’ गरे ।

बैठक एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङको संयोजनमा भएको हो । महासचिव राजकुमार त्रिपाठी र उपमहासचिव विनय 
अधिकारीले सञ्चालन गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार डा. हेमराज शर्मा, सुरेन्द्र श्रेष्ठ, युरोप क्षेत्रीय महिला उपसंयोजक संगीता मरहट्ठा, एनआरएनए युके प्रमुख संरक्षक डमर घले, संरक्षकहरु सूर्य गुरुङ, योगेन्द्र क्षेत्री, एनआरएनए यूके उपाध्यक्षहरु प्रेम गाहामगर, शेर सुनार, सुशिला राई, कोषाध्यक्ष सचिन श्रेष्ठ, प्रवक्ता रमेशसिंह सरांगकोटी लगायतले संघको गतिविधि र एनआरएन अभियानबारे मन्तव्य दिएका थिए । अध्यक्ष योगकुमार फगामीले संघले वर्ष भरि गरेका कार्यहरुको विवरण सुनाए ।

दोश्रो सत्रको मध्यस्तता रोहित गुरुङले गरेका थिए । दोस्रो चरणको कार्यक्रम अन्त्य गर्दै जीव बेलबासेले समूहगत छलफलबाट प्राप्त सुझावको प्रतिलिपि एनआरएन यूके अध्यक्ष योग फगामी र महासचिव आर के त्रिपाठीलाई हस्तान्तरण गर्दै एनआरएनलाई सबैले साझा संस्थाको रुपमा स्विकार्नु पर्ने र एनआरएनले पनि ‘पोलिसी लेवल’ मा बसेर काम गर्नुपर्ने सुझाब दिएका थिए ।

साथै उनले  बेलायतमा एनआरएन छ भन्ने कुरा बेलायत सरकारले थाहा पाउनुपर्ने र एनआरएन यूके र बेलायत सरकारले सहकार्य गर्नुपर्ने सुझाएका थिए।  

सो अवसरमा संघले संस्थालाई योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तित्व र सञ्चारकर्मीलाई ‘टोकन अफ लभ’ ले सम्मान गरेको थियो ।

घोषणपत्र जस्ताको तस्तै-
१. ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलभावना अनुसार एनआरएनए युकेले नेपाल सरकारलाई हालै बुझाएको ज्ञापनपत्रलाई आधार बनाइ गैरआवासीय नेपालीको नागरिकताको सुनिश्चितता गरिदिन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ । गोर्खाहरुको अवस्था फरक भएको हुँदा उनीहरुको नागरिकताको सवाललाई फरक ढंगले सम्बोधन गर्न पनि यो बैठक सरकारसमक्ष माग गर्दछ ।

२. गोरखाको समस्या गोरखाहरुको मात्र नभई राष्ट्रिय महत्वको सवाल भएकाले यथाशीघ्र समाधानका लागि नेपाल सरकार र बेलायत सरकारलाई सशक्त पहल गर्न यो बैठक माग गर्दछ । गोरखाहरुको सवालप्रति ऐक्यवद्धता र गोरखाको आन्दोलनलाई हरतरहले सहयोग गर्ने वचनवद्धता यो बैठक व्यक्त गर्दछ । गोरखाहरुले वंशजका आधार प्राप्त गरेको नेपाली नागरिकता निरन्तर कायम रहनुपर्ने र उनीहरुका सन्ततिहरुले पनि सो अधिकार पाउनुपर्ने माग नेपाल सरकारसमक्ष गर्दछ ।

३. नेपालमा लगानीको सम्भावनाका बारेमा छलफल गर्न विभिन्न कार्यशाला आयोजना गर्न यो बैठक एनआरएन युकेलाई सुझाव दिन्छ । साथै, नेपाल सरकारको ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियानलाई गैरआवासीय नेपालीका तर्फबाट सहयोग गर्न एनआरएनए युके ‘एक एनसिसी एक परियोजना’को अवधारणा गैरआवासीय नेपालीहरुसमक्ष प्रस्तुत गर्दछ ।

४. विदेशमा आर्जन गरेका सीपलाई नेपालमा स्थानान्तरण गर्नका लागि विदेशमा कार्यरत दक्ष जनशक्तिलाई नेपाल फर्काउने कार्यक्रम ल्याउन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ । त्यस्तो कार्यक्रम ल्याउन नेपाल सरकारलाई दबाब दिन र युकेमा रहेका दक्ष जनशक्तिको तथ्यांक संकलन गर्न बैठक एनआरएनए युकेलाई सुझाव दिन्छ ।

५. सन् २०२१ मा बेलायतमा हुन गइरहेको राष्ट्रिय जनगणनामा प्रयोग गरिने विवरणमा नेपाली समुदायका लागि ‘नेपाली महल’ राखिदिन माग गर्दै बेलायती प्रधानमन्त्रीलाई पत्र लेख्ने निर्णय यो बैठक गर्दछ । साथै, बेलायतमा सञ्चालनमा रहेको युनिभर्सल क्रेडिट योजनाका बारेमा नेपाली समुदायलाई जानकारी दिलाउन सचेतनामूलक कार्यक्रम ल्याउन यो बैठक एनआरएनए युकेलाई अनुरोध गर्दछ ।

६. बेलायतमा नेपालीहरुको नेपालीपन झल्कने साझा घरको अपरिहार्यता बैठकमा एकमतले महसुस गरियो । नेपाल हाउस बिज्नेस मोडलमा निर्माण गर्ने विगतको काउन्सिल बैठकको निर्णयलाई निरन्तरता दिँदै नेपाल हाउस परियोजनालाई थप बृहत स्तरमा अगाडि बढाउन यो बैठक एनआरएन युकेलाई आग्रह गर्दछ ।

७. युकेबाट च्यारिटीमार्फत नेपालमा भइरहेको सहयोगलाई अझै सशक्त बनाउने प्रतिवद्धता यो बैठक व्यक्त गर्दछ । युकेमा रहेका व्यक्ति तथा संघ संस्थालाई एनआरएनए युकेमार्फत च्यारिटी कार्यक्रम संचालन गर्न वा त्यसो हुन नसकेमा गरिएको च्यारिटी कार्यको विवरण एनआरएन युकेमा उपलब्ध गराउन यो बैठक युकेमा कार्यरत सबै व्यक्ति तथा संघसंस्थालाई हार्दिक अनुरोध गर्दछ ।

८. युकेमा बसोबासरत नेपाली युवाहरुलाई एनआरएनएप्रति आकर्षण जगाउन, उनीहरुले सिकेका सीपलाई नेपालमा स्थानान्तरण गर्न र उनीहरुको सर्वाङ्गीण विकासका लागि एनआरएनए युकेको युवा विभागलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता यो बैठक व्यक्त गर्दछ ।

९. नेपालमा महिला तथा बालबालिकाहरुमाथि भइरहेको हिंसाप्रति यो बैठक गम्भीर चिन्ता व्यक्त गर्दछ । त्यस्ता घटनाहरुको छानविन गरी दोषीमाथि कडा कारबाही गर्न बैठक माग गर्दछ । बेलायतमा बसोबासरत महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुले भोग्नु परिरहेको समस्या समाधानका लागि जनचेतनामूलक कार्यक्रम गर्न एनआरएनए युकेलाई सुझाव दिन चाहन्छ ।

१०. एनआरएनए युकेको राज्यव्यवस्था समितिको संयोजक एनआरएनए युकेको पदेन सदस्य हुने, विभागीय प्रमुखहरु उपाध्यक्ष हुने, एनआरएनए युकेका पूर्व अध्यक्षहरु संरक्षक रहने, सल्लाहकार छनौटमा योग्यता एवं संस्थागत अभियन्तालाई मापदण्ड बनाउने, क्षेत्रीय रुपमा गठन भएका समितिहरु एनआरएनए युके केन्द्रको नियम बमोजिम संचालन हुने गरी विधान संशोधन गर्न यो बैठक एनआरएनए युकेलाई सुझाव दिन चाहन्छ ।

११. गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको पांचौं काउन्सिल बैठकमा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनुभएकोमा बेलायतका लागि नेपालका राजदुत डा. दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकारहरु, एनआरएनए युकेका प्रमुख संरक्षक डमर घले र संरक्षकहरु, एनआरएनए युकेका सल्लाहकारहरु, सबै संघ संस्थाका प्रतिनिधिहरु, स्पोन्सरहरु लगायत यो काउन्सिल बैठक सम्पन्न गर्न सहयोग पुरयाउनुहुने सबैलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

घोषणापत्र तयारी समिति
संयोजक- नरेश खपाङ्गीमगर
सदस्य- रमेश सराङकोटी
सदस्य- नवीन पोखरेल
सदस्य- पूर्ण गुरुङ
सदस्य- ध्रुवराज अर्याल

तस्विरहरु- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री