भूपू गोर्खाहरुले अक्टोबर अन्तिमसम्म केही नतिजा नआए पुनः आन्दोलन गर्ने चेतावनी दिए

लन्डन । भूपू गोर्खाहरुको गुनासो समान पेन्सन नपाइएको मात्र छैन् । उनीहरु नेपालमा अड्किरहेका आफ्ना वयस्क सन्तानको चिन्ताले पनि पिरोलिएका छन् । जीवनको उत्तरार्धमा बेलायतमा कठिन दिनचर्या बिताइरहेका उनीहरु आफ्ना सन्तान बेलायत ल्याएर बांकी जीवन एकसाथ बिताउन चाहन्छन् ।

आइतबार गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा गरेको कार्यक्रममा सहभागी सयौं भूपू गोर्खाहरुमध्ये धेरैमा आफ्ना सन्तानको भविष्यको चिन्ता देखिन्थ्यो । भाषा समस्या, अस्वस्थता, बेलायतको चिसिंदो मौसम अनि वयस्क छोराछोरी नेपालमा हुंदा भूपू वृद्धवृद्धा टुहुरा झैं छन् बेलायतमा ।

कार्यक्रममा एभरेष्ट ल सोलिसिटर्सका सोलिसिटर राजु थापाले आफ्नो फर्मले भूपू गोर्खाका वयस्क सन्तानको मुद्दा करिब ९५ प्रतिशत सफल गराइसकेको र करिब ११ सय सन्तानलाई बेलायत झिकाइसकेको बताए । विधवाकी छोरी ५१ वर्षीया सन्तानले समेत बेलायत आउन कानुनी मुद्दा जितेको उदाहरण सोलिसिटर थापाले दिए ।

बेलायत सरकारले आफ्नो नीतिमा भूतपूर्व गोर्खाका ३० वर्ष मुनीका वयस्क सन्तानले दश वटा क्राइटेरिया पुरा गरे आवासीय अधिकार पाउने भनेपनि ३० वर्ष भन्दा माथिकाको समेत पारिवारिक जीवन (फेमिली लाइफ) र मानवअधिकारका आधारमा मुद्दा जितिएको थापाले जानकारी दिए ।

वयस्क सन्तानबारे यथार्थ कुरा नभन्दा कतिपय केस विफल भएको पनि उनले अवगत गराए ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकारका प्रतिनिधि सम्मिलित प्राविधिक समितिको वार्ता निष्कर्ष सम्बन्धमा झण्डै सात महिनासम्म कुनै अपडेट नभएकामा गम्भीर ध्यानाकर्षण भएको बताउंदै अक्टोबर अन्तिमसम्म पनि केही नतिजा आएन भने पुनः आन्दोलन गर्न वाध्य हुनुपर्ने चेतावनी दिए ।

भूपू गोर्खाहरुले अंग्रेज सरह समान पेन्सन, कटौतीमा परेका गोर्खा सैनिकलाई क्षतिपूर्ति र पेन्सन, विधवालाई समान पेन्सन, वयस्त सन्तान सबैलाई आवासीय अधिकार, भूपू गोर्खाहरुलाई नेपालमा पनि कल्याणकारी सेवा र निशुल्क औषधोपचार लगायत १३ वटा प्रमुख माग राखेका छन् । बेलायत नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताले उल्लेखित माग बेलायत सरकारसमक्ष पेश गरेको छ ।

समितिकी सह कोषाध्यक्ष विष्णु गुरुङले सबै हरहिसाब पारदर्शी रहेको र हरेक डिसेम्बरमा ‘अडिट’ गर्ने गरिएको जनाइन् । उनले आन्दोलन शुरु भएको ५ वर्ष अवधिमा संस्थाको खातामा करिब एक लाख पाउण्ड कारोबार भएको पनि बताइन् ।

समितिका सह संयोजक सूर्य नेम्वाङले टोकरी र केन्द्रिय समितिबाट उठाइएको लेवीले आन्दोलन चलेको बताए । उनले पैसा हिनामिना गरिएको भन्ने हल्लामा कुनै पनि सत्यता नभएको जिकिर गरे ।

कार्यक्रममा समितिका वरिष्ठ सल्लाहकार प्रेमबहादुर गुरुङले सत्याग्रह आन्दोलनको विगतबारे जानकारी दिएका थिए । महासचिव सइन्द्र केसीले गोर्खा आन्दोलन सबैको आन्दोलन भएको बताउंदै साथ दिन आग्रह गरिन् ।

गोर्खा च्यानलकी विमला सेनेले सञ्चालन गरेको गोर्खा वहसलाई लन्डन नेपाल न्यूज र गोर्खा स्टुडियो यूकेले प्रत्यक्ष प्रसारण गरेका थिए ।

तस्विरहरु- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री