लन्डनमा सिप तथा ज्ञान विनिमयको पृथक कार्यक्रम


लन्डन । सोसाइटी फर नेपलिज प्रोफेशनल यूके र टेवा नामक संस्थाले
लन्डन प्लमस्टिडमा एक भिन्न कार्यक्रम गरेका छन् । गत २६, सेप्टेम्बर २०१८ का दिन बेलायत र नेपालबीच सिप तथा ज्ञान विनिमयमा केन्द्रित फरक कार्यक्रम भएको हो ।

स्वयंसेवक परिचालन तथा सिप र ज्ञान विनिमय पृथक रुपमा कसरी गर्न सकिन्छ भन्नेबारे करिब दुई घण्टा चलेको कार्यक्रममा टेवा नेपालकी अध्यक्ष डा निर्मला केसीले टेवा नेपालको सामाजिक अभियान तथा कार्यबारे प्रस्तुति दिइन् । उनले सोसाइटी फर नेपलिज प्रोफेशनल यूकेले डायस्पोराको सिप र ज्ञानका लागि समन्वय गरे टेवाले नेपालमा आफ्ना कार्यक्रमहरुमार्फत युवा आदानप्रदान कार्यक्रम अन्तर्गत सूचना प्रविधि, नेतृत्व विकास, अंग्रेजी भाषा शिक्षण लगायत थुप्रैक्षेत्रमा सहकार्य गर्न आर्थिक तथा समन्वयात्मक सहयोग गर्न सक्ने बताइन् ।

कार्यक्रममा विशेष टिप्पणी दिंदै सोसाइटीका सल्लाहकार तथा पूर्व अध्यक्ष डा. तेजेन्द्र फेरालीले कम्तीमा एउटा पाइलट प्रोजेक्टको रुपमा काम थालेर यस्तो भिन्न प्रकारको शुरुआत 
गर्न सकिने र शुरुआतमा युवा आदानप्रदान कार्यक्रममार्फत नेपाली किशोर किशोरीहरुले पनि नेपाल गएर त्यहांको असल कुरा 
(ज्ञान, सिप, संस्कृति, सदभाव) सिक्न सक्ने औंल्याए ।

सम्भाव्य कार्यदिशाका लागि आगामी दिनमा सोसाइटी फर नेपलिज प्रोफेशनल यूकेले औपचारिक रुपमै कार्यारम्भ गर्न उक्त कार्यक्रममा आएका बुंदाहरु प्रस्तुत गर्दै अर्का सल्लाहकार तथा पूर्व अध्यक्ष नारायण भट्टराईले यस्ता सकारात्मक र फरक दृष्टिकोण ल्याउन समन्वय गरेकामा सहजकर्तालाई विशेष धन्यबाद दिए । उनले निकट भविष्यमा नै सोसाइटीले एउटा निश्चित मोडालिटी तय गरी कार्यआरम्भ गरोस् भनी शुभकामना समेत दिए ।

त्यसैगरी सल्लाहकार तथा 
पूर्व अध्यक्षहरु अर्कराज तिम्सिना र पूण्य रेग्मीले शुभकामना प्रकट 
गर्दै व्यवहारमै काम यथाशक्य छिटो शुरु गर्न आग्रह गरेका थिए ।

कार्यक्रमकाबारेमा युवा सञ्जालकी अध्यक्ष निकिता खरेल र सचिव 
सम्राट कोइराला लगायत अन्य किशोरकिशोरीहरुले समेत बडो जिज्ञासु भएर प्रश्नोत्तर गरेका थिए । कार्यक्रममा सोसाइटी फर नेपलिज प्रोफेशनल यूकेका पदाधिकारी तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुले पनि चासोपूर्वक सक्रिय सहभागिता जनाएका थिए ।

कार्यक्रम अनौपचारिक भएपनि सोसाइटी अध्यक्ष शेखर वाग्लेले सबैलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै सहकार्यका लागि थप हौसला 
प्रदान गरेकामा टेवा अध्यक्ष डा. केसी र समन्वय तथा कार्यक्रमको सहजीकरण गरेकामा गजेन कटुवाललाई विशेष धन्यवाद 
दिए । वाग्लेले चांडै नै संस्थाले यसतर्फ पहल गर्ने वचनवद्धता समेत जाहेर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री