यू–१९ एशिया कप क्रिकेट – नेपालको पहिलो जीत

काठमाडौँ, १६ असोज – नेपालले बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स ‘युएई’ विरुद्ध जीत निकालेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपलाले युएईलाई तीन विकेटले पराजित गरी प्रतियोगितामा पहिलो जीत निकालेको हो ।

युएईले दिएको २६९ रनको लक्ष्य नेपालले पाँच बल खेल्न बाँकी छँदा सात विकेटको क्षतिमा पार ग¥यो । नेपालको जितमा रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको योगदान गरेका थिए ।

त्यस्तै रसिद खानले नटआउट २७, सन्दीप जोराले ६७, आसिफ शेखले ३५ र रित गौतमले १८ रन जोडे । यसअघि बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाएको थियो ।

दुवै टोली यसअघिका दुई-दुई खेलमा पराजित भई प्रतियोगिताबाट बाहिरिसकेका छन् । समूह ‘ए’ मा रहेको नेपाल र युएई यसअघि भारत र अफगानिस्तानबाट पराजित भइसकेका हुन् । नेपाल यही असोज १३ गते भारतसँग र सोमबार अफगानिस्तानसँग पराजित भएको हो ।

चितवन टाइगर्स एपिएफ फाइलनमा 

चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपिएफ क्लब यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेशनको आयोजनामा जारी पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चितवन उपाधि नजीक पुगेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कबर्डहलमा भएको खेलमा चितवनले पुलिसलाई २५–११, २५–१४ र २५–२३ सोझो सेटमा पराजित गरेको हो ।

त्यसैगरी लिगअन्तर्गत आजै भएको दोस्रो सेमिफाइलन खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइलन पुगेको छ । एपिएफले न्यू डायमण्डलाई २५–२२, २६–२४ र २५–२३ को सेटमा पराजित ग¥यो । उपाधिका लागि बुधबार एपिएफ र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन् ।

बुधबारसम्म सञ्चालन हुने प्रतियोगिता भलिबलको इतिहासमा सर्वाधिक राशि पुरस्कार राखिएको प्रतियोगिताको विजेताले रु छ लाख, दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र रु ५० हजार प्राप्त गर्ने नेपाल भलिबल सङ्का महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

पदक विजेता सेपाकताक्रो टोली फर्कियो 

थाइल्याण्डको कोराटमा भएको ३३औँ किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपका पदक विजेता सहितको नेपाली टोली आज स्वदेश फर्किएको छ । यही असोज ७ देखि १३ गतेसम्म भएको प्रतियोगितामा नेपालले पुरुष क्वाड स्पर्धामा कास्य जितेको थियो । उक्त स्पर्धामा नेपालबाट रुपेश सुनार (कप्तान), सुजन डङ्गोल, रोशन तामाङ, रविन भट्टराई, सञ्जीत धिमाल र विजय महतोले प्रतिस्पर्धा गरेका थिए । समूह ‘डी’मा रहेको नेपालले समूह चरणको खेलमा ओमन, हङकङ, बङ्गलादेश र स्विट्जरल्याण्डलाई पराजित गरेको थियो ।

त्यसैगरी क्वाटरफाइनलमा नेपालले फ्रान्सलाई २–० ले हराएको थियो । सेमिफाइनलमा भने नेपाल चाइनिज ताइपेईसँग २–० ले पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको नेपाल सेपाकताक्रो सङ्घका अध्यक्ष नेत्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

लिगलिगे राजा छान्ने दौड बिहीबार 

गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यही असोज २८ गते हुने भएको छ । लिगलिग कोट विकास अभियानले आज यहाँ पत्रकार सम्मेलन गर्दै हरेक वर्ष हुँदै आएको प्रतियोगिता यही असोज २८ गते गर्ने जानकारी दिइयो ।

गोरखाको चेपेघाटबाट शुरु हुने दौड लिगलिगकोट दरबारमा आएर टुङ्गिनेछ । दौड १३।८ किमीको हुनेछ । प्रतियोगिताको विजेतालाई रु ६० हजार १०० सहित लिगलिगेको राजा घोषित गरिने पत्रकार सम्मेलनमा अभियानका महासचिव सन्तोष देवकोटाले जानकारी दिनुभयो ।

यस्तै विजेतालाई श्रीपेच, पगरी, ट्रफी प्रदान गर्नाका साथै एक रात राजाका रुपमा राखिने आयोजकले जनाएको छ । राजालाई मोटरमा राखेर नगर परिक्रमा गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा दोस्रो हुनेले रु ३५ हजार १००, तेस्रो हुनेले रु २५ हजार १००, चौथो हुनेले रु १२ हजार १०० र पाँचौँ हुनेले रु सात हजार १०० पुरस्कार पाउनेछन् । लिगलिगे दौडअन्तर्गत नै पाँच किलोमिटरको समावेशी महिलातर्फको विजेताले रु २० हजार पाँच, दोस्रोले रु १२ हजार पाँच र तेस्रो हुनेले रु सात हजार पाँच पुरस्कार पाउनेछन् ।

विसं १९१६ मा द्रव्य शाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो आठ वर्षयता हुँदै आएको छ । प्रतियोगिताका लागि आउने खेलाडीका लागि खाने–बस्ने व्यवस्था आयोजकले नै गर्नेछन् । यस्तै खेलाडीका लागि रु सात लाखको बीमासमेत गरिएको आयोजकले जनाएको छ ।

नेपाल एकीकरण अघिको बाइसे–चौबिसे साना राज्यमध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले दौड जुन अभिप्रायबाट शुरु भएको भए पनि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट ल्याउन प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो ।

विसं १६०४ मा शुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुनः निरन्तरता दिन थालिएको हो । राजा द्रव्य शाहको उदयपछि तत्कालीन समयमा दौडको अन्त्य भएको इतिहास छ । पहिलो लिगलिगे दौडमा दलसुर घले मगर विजयी भई राजा भएको जनविश्वास छ ।

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा 

भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसिप फुटबलमा समूह उपविजेता बन्दै नेपाल सेमिफाइलन प्रवेश गरेको छ । आज भएको खेलमा बङ्गलादेशसँग २–१ गोलले पराजित भए पनि नेपाल सेमिफाइनल पुगेको हो । बङ्गलादेश भने समूह चरणको दुवै खेल जित्दै समूह विजेता बन्दै सेमिफाइल प्रवेश गरेको छ ।

बङ्गलादेशको जितमा मोसामत सिरात जोहान सोप्नाले १६औँ र ३२औँ मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल गरेकी थिइन् । नेपालका लागि इन्जुरी समयको दोस्रो मिनेटमा रश्मीकुमारी घिसिङले एक गोल गरेकी थिइन् ।

दुवै खेल जितेको बङ्गलादेश समूहको विजेता र नेपाल उपविजेता बनेका छन् । यसअघि नेपाल र बङ्गलादेश दुवैले पाकिस्तानलाई हराएका थिए । पाकिस्तानलाई नेपालले १२–० र बङ्गलादेशले १७–० ले हराएको थियो ।

पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बङ्गलादेशले पाकिस्तानमाथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । यसअघि असोज १२ गते भएको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध १२–० को जित हासिल गरेको थियो । उक्त खेलमा नेपाली स्ट्राइकर रेखा पौडेल एक्लैले सात गोल गरेकी थिइन् ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

बङ्गबन्धु गोल्डकप – नेपाल ताजकिस्तानसँग पराजित 

डिफेण्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको छ । बङ्गलादेशको ढाकामा आज साँझ भएको खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ ले जनाएको छ ।

ताजकिस्तानको जीतमा ताजिकिस्तानले खेलको २७औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता बनायो । अनन्त तामाङले विपक्षी खेलाडीलाई लडाएपछि रेफ्रीले ताजकिस्तानलाई पेनाल्टी दिएका थिए । पेनाल्टीलाई फाथुएल्लोभले गोल गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको ताजिकिस्तानले ६८औँ मिनेटमा टुरिनोभ कोमरोनले गोल गरे गर्दै अग्रता २–० मा पुरयाए । त्यसपछि खेलमा गोल भएन र ताजाकिस्तानले खेल २–०ले जित्यो ।

नेपालले समूह चरणको दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्लोस्टाइन र ताजाकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साबिक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो ।

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ तथा अञ्जन विष्ट छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री