एनआरएन विश्व विज्ञ सम्मेलन ज्ञान र सीप भित्रयाउन

लण्डन । गैर आवासीय नेपाली संघले काठमाडौंमा प्रथम एनआरएन विश्व विज्ञ सम्मेलनको तयारी गरेको छ ।

विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपभोग गर्नुपर्छ भन्ने महसुस भएर  १२ देखि १४ अक्टोबरसम्म काठमाडौंमा सम्मेलन गर्न लागिएको संयोजक मध्ये एक डा. हेमराज शर्माले जनाए ।

‘राष्ट्रले कल्पना गरेको ‘समृद्ध नेपाल’ निर्माण गर्नका लागि दक्ष गैरआवासीय नेपालीहरुको पहिचान गर्दै उनीहरुको ज्ञान र सीपलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे पनि सम्मेलन केन्द्रित रहनेछ’ शर्माले भने ।

नेपालबारे अध्ययन अनुसन्धान गरेका विदेशी सहित करिब ४ सय जनाले सम्मेलनमा भाग लिनेछन् । सम्मेलनमा दिल्ली मेट्रोका ईन्जिनियर, युनेस्कोका विज्ञान तथा प्रविधि नीति सम्बन्धि विज्ञका साथ भारत, ईटाली, अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायत देशबाट करिब १० जना विदेशी विज्ञहरुले भाग लिने जनाइएको छ ।

सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा नेपालको विज्ञान तथा प्रविधिको नीति, प्राविधिक जनशक्तिको अवस्था, ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल हुनेछ । नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको संभावना र यस क्षेत्रमा लगानी बिषयमा पनि छलफल हुनेछ । साथै नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने बिषयमा केन्द्रित सत्रहरु पनि समाबेश गरिने आयोजकले जनाएका छन् ।

दोश्रो दिन कृषि, स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा ईन्जिनियरिङ, वैकल्पिक उर्जा, विज्ञान तथा प्रविधि, जोखिम न्यूनिकरण, वातावरणीय  प्रदुषणदेखि फाईनान्सियल रिफर्म, सामाजिक सुरक्षा लगायतका समानान्तर सत्रहरु रहने बताइएको छ ।

तेश्रो दिन सम्मेलनको समिक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्श हुने तय भएको छ ।

‘एनआरएनमा ब्यापारीहरुको सहभागिता रहँदै आएको र प्राज्ञिक क्षेत्रका मानिसहरुको सहभगिता न्यून छ भन्ने गुनासो छ। प्राज्ञिक क्षेत्रका गैरआवासीय नेपालीहरुलाई पनि आफ्नो ज्ञान र क्षमता देखाउने यो राम्रो अवसर हो’, अर्का संयोजक एवम एनआरएन उपाध्यक्ष कुमार पन्त भन्छन्, ‘नेपालका राजनीतिज्ञ र एनआरएन नेताहरुसँग गुनासो गरेर बस्नु भन्दा आँफैले केही गरेर देखाउने बेला आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री