नेपाल समूह चरणबाटै घर फर्कियो

काठमाडौँ, २० असोज – डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ ।

आज साँझ बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपाल प्यालेस्टाइनसँग १–० गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

निकै प्रतिष्पर्धात्मक बनेको खेल पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७०औँ मिनेटमा प्यालेस्टाइनका मोहमद अलिविसादले गोल गर्दै आग्रता दिलाए । सोही गोल नै खेलको निर्णायक बन्यो । बुधबार भएको समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न आजको खेल जित्नैपर्ने थियो ।

समूह ‘ए’ मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान रहेका थिए । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साविक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो ।

नेपाल र प्यालेस्टाइनबीच पछिल्लो पटक सन् २०१२ को एएफसी च्यालेञ्ज कपमा प्रतिस्पर्धा भएको थियो । दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई प्यालेस्टाइनले २–० गोलले हराएको थियो ।

म्याराथनको उपाधि हेमलाल र कान्छीमायालाई 

नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छीमाया कोजुले १२औँ काठमाडौँ म्याराथनको उपाधि जित्न सफल भएका छन् ।

प्रोस्पोर्टस प्रालिको आयोजनामा आज भएको उक्त म्याराथनमा हेमलालले ४२ दशमलव १९ किमीको दूरी दुई घण्टा २० मिनट ४५ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा नेपाली सेनाका राजन खत्री र तेस्रो स्थानमा नेपाल प्रहरीका भूमिराज राई रहे । खत्रीले दुई घण्टा २३ मिनेट ३३ सेकेन्डमा र राईले दुई घण्टा २४ मिनेट ३१ सेकेन्डमा म्याराथन पूरा गरे ।

कान्छीमायाले उक्त दूरी दुई घण्टा ५० मिनट ४१ सेकेन्डमा पूरा गरिन् । भक्तपुरकै सरिता वासीले तीन घण्टा ११ मिनट १४ सेकेन्डमा दूरी पूरा गर्दै रजत र राजपूरा पछाइले तीन घण्टा २४ मिनेट आठ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पाइन् । महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ५० हजार, २० हजार र १५ हजारसहित मेडल प्राप्त गरे ।

म्याराथनअन्तर्गत भएको रोड रेशमा एपिएफका गोपीचन्द्र पार्कीले पहिलो स्थान प्राप्त गरे । गोपीले एक घण्टा सात सेकेन्डमा दूरी पूरा गरे । दोस्रो स्थानमा रहेका सेनाका रामजी बस्नेतले एक घण्टा २१ सेकेन्डमा दूरी पूरा गरे । एपिएफकै सन्तोषविक्रम विष्टले एक घण्टा २२ सेकेन्डमा दौड पूरा गर्दै कास्य प्राप्त गरे । स्वर्ण, रजत र कास्य पदकधारीले क्रमश रु २० हजा रु १३ हजार र रु सात हजार प्राप्त गरे ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री