मंगलबार, मंसिर २५ २०७५ | Tue, December 11, 2018
नेपालको समय: ०१:३९ | UK Time: 19:54

प्राध्यापक सुवेदी यसरी चढे सफलताको शिखर

विनेपाली
२०७५ असोज २१ गते ११:५६

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी शनिबार कानुनका विद्यार्थीलाई लेक्चर दिंदै थिएनन् । बरु, उनी ति विद्यार्थी र अन्य प्रोफेसनलहरुलाई आफ्नो सफलताको कथा सुनाएर अभिप्रेरित गर्न व्यस्त रहे ।
लमजुङको सामान्य परिवारमा जन्मेर १४ वर्षको उमेरमा मात्र एबिसीडी सिकेका उनले ६ वर्षसम्म क्याम्बोडियाकालागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदक भएर काम गरेको अनुभवदेखि बेलायती विदेशमन्त्रीको सल्लाहकार हुंदासम्मको अनुभव बांडे । हाल बेलायतमा क्वीन्स काउन्सिल (क्यूसी) तथा ब्यारिष्टरको रुपमा समेत कार्यरत सुवेदीले संघर्षका कथा पनि सुनाउन भ्याए ।

ब्रिटेन नेपाल लयर्स एसोसियसनद्वारा शनिबार लन्डनस्थित एबीआइ कलेजमा आयोजित एक कार्यक्रममा एक्लो वक्ताका रुपमा प्रस्तुत भएका उनले स्वर्गीय राजा वीरेन्द्रले आफ्नो ज्ञान र अनुभव नेपालको हितमा प्रयोग गर्न प्रेरणा दिएको बताए । 
प्रा. सुवेदीले नेपालमा कानुन तथा न्याय मन्त्रालयमा काम गरिरहेको बेला आफूले बेलायतको युनिभर्सिटी अफ हलमा अन्तर्राष्ट्रिय कानुनमा एलएलएम अध्ययन गर्न ब्रिटिश काउन्सिलबाट छात्रवृत्ति पाएको र अन्तर्राष्ट्रिय कानुन अनुसार भूपरिवेष्ठित मुलुक नेपालका अधिकारहरु के के छन् भन्नेबारे आफूले थेसिस लेखेको सम्झना गरे ।

‘संयोग कस्तो परयो भने म नेपाल फर्कंदा सन् १९८९ मा भारतले नेपाल विरुद्ध नाकाबन्दी लगाएको थियो जुन तीन वर्ष अघिको नाकाबन्दी भन्दा निकै कडा थियो । लेखपढ गर्न रुची राख्ने मैले द राइजिङ नेपालका तत्कालिन सम्पादक मनरन्जन जोशीलाई भेट्न गएं र आफ्नो थेसिस पनि देखाएं । उनले त्यो पढेपछि सोही थेसिसलाई चारवटा लेखको रुपमा चारहप्तासम्म छाप्ने वचन दिए । ती लेखहरु छापिएको केही समयपछि मलाई दरबारबाट बोलावट आयो,’ उनले भने ।

दरबारमा राजा वीरेन्द्रले आफ्नो पढाइलेखाइ र कामबारे सोधेको र आफ्नै सचिवालयमा काम गर्न भनेको समेत सुवेदीले स्मरण गरे ।
सन् १९८९ सेप्टेम्बर ४ देखि ७ तारिखसम्म बेल्ग्रेडमा भएको असंलग्न मुलुकका नेताहरुको नवौं शिखर सम्मेलनको साइडलाइनमा भारतका तत्कालिन प्रधानमन्त्री राजीव गान्धीसंग राजा वीरेन्द्रबीच वार्ता हुने तय भयो । सुवेदीले पनि शाही भ्रमण टोलीको सदस्यको रुपमा बेल्ग्रेड भ्रमण गर्ने मौका पाए ।

तर, सो वार्ता सफल नभएपछि भारतले नाकावन्दी हटाएन । नाकावन्दी जारी नै रहेका बेला सुवेदीलाई पूर्ण छात्रवृत्ति पाउने गरी अन्तर्राष्ट्रिय कानुनमा पिएचडी गर्न बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट अफर प्राप्त भयो । ‘त्यसपछि मैले राजा वीरेन्द्रलाई भेटेर सो कुरा बताएं,’ झण्डै तीन दशक अघिको सो भेटघाटबारे सुवेदीले सुनाए, ‘बेलायतकै इटन कलेजमा अध्ययन गरेका राजाले एकछिन विचार गरेर म यो बेला तिमीलाई छोडन चाहंदैन थिएं तर तिमीले यस्तो मौका फेरि पाउने छैनौं । त्यसैले पढ्न जाउ, तर पिएचडी पुरा गर्नासाथ तुरुन्त नेपाल फर्क भन्नुभएको थियो ।’

पञ्चायतको शाही शासनकालमा पनि राजा वीरेन्द्र मेरिटोक्रेसीको पक्षमा रहेको तर अहिलेको गणतान्त्रिक नेपालका नेताहरुले बुद्धिजीवीहरुको भन्दा आफ्ना आसेपासेहरुको कुरा मात्रै सुन्ने गरेको गुनासो पनि 
प्रा. सुवेदीले गरे ।
बेलायतबाट पिएचडी पुरा गरेर स्वदेश फर्केपछि आफ्नो कार्यालयका प्रमुखले अध्ययनबारे सोध्नुभन्दा कति पैसा बचाएर ल्यायौ भनेर सोधेको उनी अझै सम्झन्छन् । त्यसपछि द हेगस्थित इन्स्टिच्यूट अफ सोसल स्टडीजमा अन्तर्राष्ट्रिय कानुनको प्राध्यापकको रुपमा र पछि अक्सफोर्ड विश्वविद्यालयमै अध्यापन गर्न आफू सपरिवार बेलायत आएको उनले स्मरण गरे ।

लमजुङको सामान्य परिवारमा जन्मेर १४ वर्षको उमेरमा मात्र एबिसीडी सिकेका उनले प्रारम्भिक दिनमा आफूले गरेको संस्कृतको अध्ययनले पछि नेपाली र अंग्रेजी भाषामा विज्ञता बढाउन पनि मद्दत पुगेको बताए ।

नेपालमा संविधान निर्माण कालमा आफूले पटक पटक नेपालको भ्रमण गरेर सुझावहरु दिएको पनि सुवेदीले 
सम्झना गरे । तर, पूर्ण कार्यकारी अधिकार सहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपति 
हुनुपर्ने आफ्नो सुझावलाई नेताहरुले ध्यान नदिएको उनको गुनासो थियो । ‘दुई तिहाई वहुमतप्राप्त वर्तमान सरकारले मुलुकलाई उन्नतिको बाटोमा लिएर जाला भन्ने धेरैको आशा छ, तर त्यसकालागि विज्ञहरुलाई मन्त्री बनाउनुपर्छ र विशेषज्ञहरुको कुरा सुन्नुपर्छ’, उनले भने ।

अफ्रिकी मुलुक घानामा पिएचडी गरेका व्यक्तिहरुलाई मात्र मन्त्री बनाइने गरेको उदाहरण दिंदै उनले भिजन भन्नेकुरा अध्ययनबाट मात्रै प्राप्त हुने निष्कर्ष पनि सुनाए ।

आफूले नेपालजस्ता साना र गरीब मुलुकहरुको हित सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय कानुनहरु बनुन् भनेर सक्दो प्रयास गरिरहेको बताउंदै प्रा. सुवेदीले नेपाल र नेपालीको हित नै आफ्नो एकमात्र स्वार्थ रहेको बताए । उनले बेलायतमा कानुन अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुलाई मेहनत गरेर अगाडि बढ्न सुझाव पनि दिए ।

सोलिसिटर जिनिता पन्धकले संयोजन गरेको उक्त कार्यक्रममा एसोसिएसनका अध्यक्ष देवेन्द्र श्रेष्ठले सुवेदीको व्यक्तित्वबारे चर्चा गर्दै 
संस्थाको उद्देश्य र गतिविधिबारे अवगत गराएका थिए ।

कार्यक्रममा दिपक भट्टराई, देवेन्द्र श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, जिनिता पन्धक, पत्रकार भगिरथ योगी, शिव भण्डारी लगायत कानुन अध्ययनरत विद्यार्थीले डा. सुवेदीसंग विभिन्न जिज्ञासा राखेका थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक