बेलायतबाट नेपालको स्वास्थ्य सेवामा सहयोगको प्रशंसा

लण्डन । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालको स्वास्थ्य लगायत पूर्वाधार विकासमा बेलायतले पुरयाएको सहयोगको प्रशंसा गरेका छन् । लण्डनस्थित नेपाली दूतावासद्वारा बुधबार आयोजित ‘नेपाल- ब्रिटेन हेल्थ कोअपरेशन’ नामक कार्यक्रममा बोल्दै उनले आगामी दिनमा पनि बेलायत सरकारबाट यस्तै सहयोग प्राप्त भइरहने आशा व्यक्त गरे । मन्त्री यादवले नेपालको नयाँ संविधानले स्वास्थ्यलाई जनताको मौलिक अधिकार मानेको बताउँदै नेपाल सरकार सबै जनतालाई गुणस्तरीय सेवा पुरयाउन प्रतिवद्ध रहेको समेत बताए ।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले नेपाल सरकार वातावरण संरक्षण गरेर दिगो विकासकालागि प्रतिबद्ध रहेको बताए। उनले भूकम्पपछिको पुनर्निर्माणमा बेलायत लगायत मित्र राष्ट्रहरुले गरेको सहयोगको प्रशंसा पनि गरे। नेपालको कूल जनसंख्याको झण्डै ४५ प्रतिशत भूभागमा संरक्षित वन क्षेत्र रहेको बताउँदै बस्नेतले सरकार वातावरण जोगाउँदै दीगो विकास गर्न प्रतिबद्ध रहेको बताए ।

बेलायतकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाल तथा बेलायतबीच रहेको २०० वर्षभन्दा लामो समय बहुआयामिक रहेको बताए। उनले बेलायतमा रहेका एकलाख बढी नेपालीले दुई देशबीचको जनस्तरीय सम्बन्ध अरु बलियो बनाएको जनाए। उनले बेलायतमा कार्यरत नेपाली चिकित्सक तथा नर्सहरुको सेवाको ब्रिटिश सरकार तथा जनताले निकै प्रशंसा गर्ने गरेको पनि बताए।

उक्त कार्यक्रममा नेपाली तथा ब्रिटिश चिकित्सकहरुले नेपालको स्वास्थ्य सेवामा सुधार ल्याउन दुई देशबीचको सहयोगलाई अरु सुदृढ बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।

नेप्लीज डक्टर्स एसोसियसन युकेका अध्यक्ष डा. सविन जोशीले बेलायत लगायत संसारभरि काम गरिरहेका नेपाली चिकित्सकहरु नेपालमा गएर अनुसन्धान तथा सीप स्थानान्तरण गर्न तयार रहेको बताए । तर, यसकालागि नेपालमा स्वास्थ्य मन्त्रालयमा एउटा छुट्टै ‘डेस्क’ खडा गरी समन्वय गर्नुपर्ने सुझाव उनको छ । उनले चिकित्सा सेवामा संलग्न चिकित्सक तथा नीति निर्माताहरुको स्वार्थ बाझिने घटनाहरुलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने बताए ।

‘कुनै निजी मेडिकल कलेजमा शेयर भएको चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलको बोर्डमा ल्याइनुहुँदैन । त्यस्तै निजी क्लिनिकमा बिरामी जाँच्ने चिकित्सकहरुले कर तिर्नुपर्छ’- उनले भने ।

ब्रिटेन नेपाल मेडिकल ट्रष्टकी सह-अध्यक्ष डा. जिलियन होल्डसवर्थले गएको ५० वर्षमा नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताइन् । उनले ५० वर्ष अघि स्थलमार्ग हुँदै नेपालको यात्रामा गएका ब्रिटिश डक्टर तथा नर्सहरुको टोलीले पूर्वी नेपालमा क्षयरोगीहरुको उपचार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरिन् । उनले अहिले पनि ट्रष्टले नेपालमा क्यान्सर रोगको उपचारलाई विश्वस्तरको तुल्याउन नेपाली चिकित्सकहरुलाई बेलायतमा तालीम दिलाउने काम गरिरहेको बताइन् ।

अर्को कल्याणकारी संस्था ‘हेल्थ एक्सचेन्ज नेपाल’ का अध्यक्ष डा जेरेमी वार्डले आफ्नो संस्थाले नेपालमा शिशु उपचार, मधुमेह रोगको उपचारमा संलग्न नेपाली स्वास्थ्यकर्मीहरुलाई तालीम दिने लगायतका कामहरु गरिरहेको बताए । उनले दुई देशका स्वास्थ्यकर्मीहरुले एकअर्काबाट निकै सिक्नसक्ने धारणा पनि व्यक्त गरे ।

नेपलिज नर्सिङ एसोसिएसन युकेकी अध्यक्ष प्रसुना कँडेलले बेलायतमा कार्यरत झण्डै ३ हजार नेपाली नर्सहरुले बेलायतको स्वास्थ्य सेवामा मात्र होइन, भूकम्पपछि नेपाल गएर पनि सेवा पुरयाएको सम्झना गरिन् ।  

कार्यक्रममा बेलायतस्थित नेपाली चिकित्सकहरु, नर्सहरु तथा ब्रिटिश चिकित्सकहरुको उल्लेख्य उपस्थिति थियो । एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन लण्डन आएका सर्वोच्चअदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई पनि कार्यक्रममा अतिथिको रुपमा उपस्थित थिए ।

तस्बिर- शिव भण्डारी  

प्रतिक्रिया

सम्बन्धित सामाग्री