एनआरएन पूँजी र सीप भित्रयाउन प्रतिबद्ध

गैरआवासीय नेपाली दिवस मनाउने क्रममा पशुपतिनाथ परिसरमा । बिहान पशुपतिमा पूजा गरी दिवसको औपचारिक शुरुवात गरिएको थियो ।

काठमाडौ, २५ असोज – गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

गैरआवासीय नेपाली (एनआरएन) दिवस पूँजी र सीप भित्रयाउनमा केन्द्रित गरेको भन्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)का अध्यक्ष भवन भट्टले नेपाललाई समृद्ध बनाउन विदेशमा बस्ने नेपालीको समेत उत्तिकै भूमिका रहेको उल्लेख गर्नुभयो । आज गैरआवासीय नेपाली दिवस हो । दिवस मनाउन विज्ञसहित गैरआवासीय नेपाली नेपाल आएका छन् । यसपटक भने फरकरुपमा दिवस मनाउन लागिएको छ ।

सन् २००३ मा स्थापना भएको सङ्घले सन् २००४ देखि दिवस मनाउन थालेको हो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का महासचिव डा बद्री केसी यसपटकको दिवस पूँजी र सीप भित्र्याउनमै केन्द्रित गरेको बताउनुहुन्छ । शुक्रबारदेखि विज्ञको विश्व सम्मेलनमा राजधानीमा हुँदैछ । एनआरएनएका प्रवक्ता भूषण घिमिरे सीमित व्यवसायी रहेकाले उनीहरुले मात्रै लगानी गरेर सम्भव नहुने भएकाले विदेशमा सिकेका ज्ञान सीपलाई समेत देशको विकासमा प्रयोग गर्नु जरुरी रहेको औँल्याउनुहुन्छ । “यसपालि ‘ब्रेन गेन’ गर्नेगरी कार्यक्रम हुँदैछ, यसले नेपालको समृद्धिमा टेवा पुग्छ”, उहाँले भन्नुभयो ।

विश्वका ७९ देशमा एनआरएनएको राष्ट्रिय समन्वय परिषद् छ । यसमा करीब एक लाख नेपाली आबद्ध छन् । साठी लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । उनीहरुले नेपालको आर्थिक समृद्धिमा टेवा पुरयाएका छन् । मेडीसिटी अस्पतालमा डा उपेन्द्र महतोको लगानी छ भने अध्यक्ष भवन भट्टको धुलिखेल रिसोर्टमा लगानी छ । शेष घलेले पाँच तारे होटल तथा जीवा लामिछाने चारतारे होटल खोल्ने तयारीमा हुनुहुन्छ ।

एनआरएनएले व्यक्तिगत रुपमा गैरआवासीय नेपालीको लगानीको अवस्थाबारे अहिले अध्ययन गर्न थालेको छ । सामूहिक लगानीका परियोजनासमेत अघि बढेको एनआरएनएले जनाएको छ । सामूहिक लगानीमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना निर्माणकै चरणमा छन् । अहिले रु १० अर्बको कोष स्थापना गरेर सरकार, एनआरएनए र सर्वसाधारणको संयुक्त लगानीमा विभिन्न परियोजना सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष भट्ट बताउनुहुन्छ । दिवसको अवसरमा गैरआवासी नेपालीले आज स्वयम्भूमा एक लाख बत्ती प्रज्वलन गरेका छन् । आजै बिहान पशुपतिमा पूजा गरी दिवसको औपचारिक शुरुवात गरिएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री