शुक्रबारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री शुरु

काठमाडौँ, २५ असोज – सरकारले शुक्रबारदेखि काठमाडौँ उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरु गर्ने भएको छ ।

नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्न लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज साँझसम्म १८० खसी बोका तथा ४०० च्याङ्ग्रा काठमाडौँ ल्याइसकिएको छ । सरकारले दशैँलाई लक्षित गरेर मुस्ताङबाट एक हजार च्याङ्ग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करीब ९०० च्याङ्ग्रा ल्याइने उहाँले बताउनुभयो ।

दाङलगायत पश्चिमी जिल्लाबाट खसीबोका ल्याउने तयारी गरे पनि त्यहाँका व्यापारीले कुनै चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याइएको महानिर्देशक गौचनले बताउनुभयो । उहाँले भन्नुभयो, “दाङलगायत पश्चिमी जिल्लाबाट एक हजार खसीबोका ल्याउने लक्ष्य राखेका थियौँ । दाङबाट खसीबोका ल्याउन नसकिएपछि मकवानपुर र पर्साबाट लक्ष्यभन्दा आधा करीब ५१० खसी बोकामात्र खरिद गरिएको छ ।”

राजधानी ल्याइएका ४०० च्याङ्ग्रामध्ये दुई वटा च्याङ्ग्रा बिरामी परेका छन् । बिरामी परेका च्याङ्ग्रालाई छुट्टै राखेर पशु चिकित्सकले उपचार गरिरहेको महानिर्देशक गौचनले जानकारी दिनुभयो । दशैँका बेला खसीबोका तथा च्याङ्ग्राको कारोवार उच्च हुने गर्दछ । व्यापारीले चर्को मूल्य लिएर खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दा उपभोक्ता ठगीमा पर्ने गरेका छन् । व्यापारीको एकाधिकार अन्य गर्दै बजारलाई हस्तक्षेप गर्न सरकारले वर्षेनी दशैँका बेला राजधानीमा सहुलियत मूल्यमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको छ ।

यसैबीच सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । विभागका महानिर्देशक गौचनले च्याङ्ग्रा प्रतिकिलो ७१० र खसीबोका प्रतिकिलो ५१० मा बिक्री गरिने जानकारी दिनुभयो । सरकारले बिक्री गर्ने खसीबोका र च्याङ्ग्रा खरिद गर्दा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउने उहाँले बताउनुभयो । त्यस्तै एक जनाले एउटा मात्र खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न पाउने उहाँको भनाइ छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री