‘नेपाल अन डिमान्ड’ एप सार्वजनिक, अब बेलायतमा कान्तिपुर टिभी पनि हेर्न पाइने

लण्डन नेपालको  लोकप्रिय कान्तिपुर टिभी अब एउटा मोबाइल एप मार्फत बेलायतवासी नेपालीहरुले सजिलै हेर्न पाउने भएका छन् ।

म्युजिक नेपालले सुरु गरेको नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा नेपाल अन डिमान्ड नामक मोबाइल एप मार्फत प्राप्त गर्न सकिने र त्यसमा कान्तिपुर टिभी लगायत प्रत्यक्ष टेलिभिजन च्यानलहरु, दर्शकहरुले रुचाएका नेपाली चलचित्र, स्रोताहरुको रुचीलाई ध्यानमा राखेर तयार गरिएका गीत, संगीतहरुको संग्रह लगायतका सामग्री एचडी फर्म्याटमा रहेका छन् भने हरेक हप्ता नयाँ चलचित्र तथा गीतसंगीतहरु उपलब्ध हुने छन् । कान्तिपुर टिभी एचडी फर्म्याटमा हेर्न सकिनेछ।

प्रत्यक्ष भिडिओ स्ट्रिमिङ गरिने टेलिभिजन च्यानलहरुमा कान्तिपुर टिभीबाहेक नेपाल टेलिभिजनका तीनवटै च्यानलहरु , हिमालय टिभी, एपिवान टिभी, न्युज २४ र बिटिभी बिजनेस छन् ।

आइतबार फार्नबरोमा आयोजित एक समारोहमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीले सो एप सार्वजनिक गरे । सभालाई संबोधन गर्दै राजदूत सुबेदीले प्रविधिले गर्दा नेपाल बेलायतबाट टाढा नरहेको र नयाँ नयाँ एपमार्फत नेपालको पलपलको सूचना र मनोरन्जन सामग्री बेलायतवासी नेपालीले आफ्नै घरमा बसीबसी प्राप्त गर्नसक्ने जनाए । उनले नेपालको कला तथा संगीत क्षेत्रको विकासमा निजी क्षेत्रबाट म्युजिक नेपालले उल्लेखनीय योगदान पुराएको भन्दै त्यसको प्रशंसा गरे । 

यी सेवाहरु प्राप्त गर्न ग्राहकहरुले www.nepalondemand.com गएर निशुल्क परीक्षणकोलागि दर्ता गरी आफ्नो एन्ड्रोइड वा आइओएस उपकरणमा एपहरु डाउनलोड गर्नुपर्नेछ । त्यसप‌छि आफ्नो युजरनेम र पासवर्ड राखेर ‘लग इन’ गरेपछि उच्च गुणस्तरको नेपाली टिभी तथा मनोरन्जन कार्यक्रमहरु हेर्न सकिने म्युजिक नेपालले जनाएको छ ।

यसबाहेक सबै च्यानलहरुमा छुटेका कार्यक्रम १२ घन्टासम्म हेर्न मिल्ने सुविधा, भिडिओ कन्ट्रोल, पहिले छाडेकै ठाउँबाट चलचित्र हेर्न मिल्ने त्यसैगरी क्रोमकास्ट र एपल एअरप्ले प्रयोग गरी आफ्नो टेलिभिजन सेटमा सबै च्यानल तथा अन्य सामग्रीहरु हेर्न सकिनेछ । त्यस्तै क्याचअप टिभी प्रयोगगरी ग्राहकहरुले गएको १२ घन्टामा छुटेको कुनैपनि कार्यक्रम हेर्न सक्नेछन् ।

कम्तीमा १०० वटा नेपाली चलचित्रहरु कुनै पनि बेला हेर्नसकिने र हरेक साता एउटा चलचित्र थप गर्दै लगिने म्युजिक नेपाल प्रालिका प्रमुख कार्यकारी सन्तोष शर्माले बताए। नेपालसंग सयौं वर्ष पुरानो संबन्ध रहेको र भूतपूर्व गोर्खा लगायत नेपाली समुदायको ठूलो बसोबास रहेको बेलायतबाट यो सेवा सुरु गर्न पाउँदा आफुलाई निकै खुसी लागेको उनले जनाए।

कार्यक्रमम  वरिष्ठ गायिका मीरा राणा, जीनर्जीका प्रमुख कार्यकारी सेवानिवृत्त मेजर टिकेन्द्र दल देवान लगायतका वक्ताहरुले नयाँ सेवा बेलायतवासी नेपालीहरुकालागि लाभदायी हुनेभन्दै त्यसको सफलताको कामना गरेकाथिए।

हेल्पनेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठले सहभागीहरुलाई स्वागत गरेका थिए भने हेल्पनेपाल नेटवर्क युकेका सल्लाहकार सूर्य गुरुङले सबैलाई धन्यवाद दिएका थिए ।

म्युजिक नेपालले नेपाल अन डिमान्डका प्रत्येक ग्राहकबाट प्रति महिना प्राप्त हुने शुल्कको ७.५ प्रतिशत हेल्प नेपाल नेटवर्कलाई प्रदान गर्ने घोषणा गरेको छ। हालै काठमाडौंमा आयोजित एक समारोहमा यस संबन्धी एक समझदारीपत्रमा म्युजिक नेपाल प्रालिका अध्यक्ष सन्तोष शर्मा तथा हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिं बस्नेतले हस्ताक्षर गरेका थिए ।

बेलायतबाट सार्वजनिक गरिएको नेपाल अन डिमान्ड एप पछि संसारभरिबाट मासिक शुल्क तिरेर डाउनलोड गर्न सकिने छ ।

यो सेवा प्रदान गर्न अत्याधुनिक स्ट्रीमिङ प्रविधि प्रयोग गर्नुकासाथै अनुमति लिइसकेपछि मात्र नेपाली चलचित्र तथा सांगीतिक सामग्रीहरु प्रयोग गरिनेभएकाले यसले नेपाली चलचित्र जगत तथा सांगीतिक उद्योगलाई मदत पुग्ने म्युजिक नेपालले जनाएको छ ।

नेपाल अन डिमान्ड एप एन्ड्रोइड र आइओएस फोनहरु, एन्ड्रोइड र आइओएस ट्याब्लेट, एप्पल एअरप्ले सपोर्ट, क्रोमकास्ट सपोर्ट, एमेजन फायरस्टिक एप (१ अक्टोबरदेखि) र एन्ड्रोइडमा आधारित धेरैजसो सेटटप बक्सहरुमा पनि उपलब्ध हुनेछ।

बेलायतमा बसोबास गर्ने ग्राहकहरुले प्रति ग्राहक मासिक ७.९९ पौण्ड तथा दुई जना ग्राहकले प्रति महिना ९.९९ पौण्डमा यी सबै सेवाहरु प्राप्त गर्नसक्नेछन् । त्यस्तै सेवा शुल्क प्रति ग्राहक वार्षिक ७९.९९ र दुई जना ग्राहककालागि वार्षिक ९९.९९ तोकिएको छ ।

सन् १९८२ मा स्थापित म्युजिक नेपाल प्रालि (www.musicnepal.com) नेपालकै पहिलो निजी संगीत कंपनी हो। नेपाली कलाकारहरुलाई सांगीतिक एल्बम बिक्रीवापत निश्चित प्रतिशत रकम रोयल्टीको रुपमा प्रदान गर्ने प्रचलन म्युजिक नेपालले नै सुरु गरेको हो ।

त्यस्तै प्रतिलिपि अधिकार सम्बन्धि नेपालको पहिलो कानुन निर्माणमा पनि म्युजिक नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री