लण्डनमा आयोजित अवैध व्यापार निराकरण सम्बन्धी सम्मेलनमा मन्त्री बस्नेत

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत

लण्डन । वन तथा वातावरण मन्त्री बस्नेत शक्ति बहादुर बस्नेतले संयुक्त अधिराज्य सरकारको आयोजनामा लण्डनमा भएको बन्यजन्तुको अवैध व्यापार निराकरण सम्बन्धी द्धिदिवसीय सम्मेलनलाई सम्बोधन गरेका छन् । 

उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै वन तथा वातावरण मन्त्री बस्नेतले ११ अक्टोबरको पूर्ण सत्रमा वन्यजन्तुको अवैध व्यापारलाई निरुत्साहन र नियन्त्रण गर्न नेपाल सरकारले लिएका नीति तथा कार्यक्रमबारे प्रकाश पार्दै विगत ९ वर्षको अवधिमा नेपालमा बाघको संख्या दोव्वर नजिक भएको उल्लेख गरे ।

उनले नेपालको कुल भूभागको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्र रहेको र वन्यजन्तुको शिकारमा पूर्ण प्रतिवन्ध लगाईएकोले सन् २०११ देखि २०१८ सम्ममा गैँडाको शिकार शुन्य रहेको जानकारी गराउँदै नेपाल सरकार वन्यजन्तुको संरक्षणमा पूर्ण प्रतिवद्ध रहेको बताए । 

नेपाल सरकारले वन, वातावरण तथा वन्यजन्तुको संरक्षणमा समुदायको सहभागितामा जोड दिन नीति अवलम्बन गरेको बताउँदै मन्त्रीले यसबाट समुदाय समेत लाभान्वित भइरहेको विचार व्यक्त गरे । 

वन्यजन्तुको संख्या वृद्धि र सुरक्षामा नेपाल सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै बस्नेतले वन्यजन्तुको व्यवस्थापन पक्ष वर्तमानको चुनौती रहेको पनि बताए ।

अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधको रुपमा लिई यसको नियन्त्रणको लागि सरकार र सबै सरोकारवाला निकायहरुबीच साझेदारी र सहयोग अभिवृद्धि लक्ष्य निर्दिष्ट २० बुंदे विश्व घोषणाको जारी गर्दै १२ अक्टोबर २०१८मा सम्पन्न भएको हो ।

सम्मेलन उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै संयुक्त अधिराज्य सरकारका विदेश मन्त्री सम्माननीय जेरेमी हन्टले नेपालमा सन् २००९ देखि हालसम्मको स्थितिमा बाघको संख्या दोव्वर वृद्धि भएको र विगत चारवर्षदेखि गैँडा र वाघको शिकार शुन्य रहेकोले यस्तो उदाहरणीय कार्यको अन्य देशहरुले पनि अनुसरण गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

सम्मेलनका अवधिमा माननीय वन तथा वातावरण मन्त्री बस्नेतसंग संयुक्त अधिराज्यका माननीय साँसद जोन मान र श्रीलंकाको प्रतिनिधि मण्डलका नेता सन्डिथ समरसिङ्गेले शिष्टाचार भेटगरी नेपालले वन पर्यावरण, जैविक विविधता र वन्यजन्तु संरक्षण सम्बन्धमा गरेको प्रगतिबारे चासो राख्दै यस क्षेत्रमा साझेदारी अभिवृद्धि गर्न इच्छुक रहेको बताएका थिए । साथै १२ अक्टोबरमा माननीय वन तथा वातावरण मन्त्री बस्नेतसँग UK Trust for Nature Conservation in Nepal का अध्यक्ष एवं वेलायती सेनाका पूर्व प्रधान सेनापति अतिरथी सर जोन च्यापलले राजदूतावासमा शिष्टाचार भेट गरी नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोष र संयुक्त अधिराज्यको राष्ट्रिय प्रकृति संरक्षण कोषबीच साझेदारी र सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा छलफल गरेका थिए । 

सोही दिन मन्त्री बस्नेतले लण्डनस्थित ZSL Zoo को अवलोकन भ्रमण गरे ।

८० देशका सरकारी र निजी क्षेत्रका प्रतिनिधिमण्डलले भाग लिएको यस विश्व सम्मेलनमा माननीय वन तथा वातावरण मन्त्री बस्नेतको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा संयुक्त अधिराज्यकालागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी, नेसनल पार्क र वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मान बहादुर खड्का, राजदूतावासका काउन्सेलर शरदराज आरण र चितवन नेशनल पार्कका उपसचिव वेद कुमार ढकाल थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री