दशैँघरमा फूलपाती भित्रयाइयो

बडा दशैँको सातौँ दिन मंगलबार गोरखादरवारबाट ल्याएको फूलपाती काठमाण्डौको हनुमानढोकामा भित्रयाइँदै । तस्वीर- नवीन पौडेल रासस

काठमाडौँ, ३० असोज – प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज साँझ घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्रयाइएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मान वृक्ष र अन्य नयाँ पालुवासमेत भित्रयाइएको छ ।

फूलपाती भित्रयाएपछि उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रह्मायणी, धानको बाला लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको विशेष पूजा गरिन्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र हुने गर्छ ।

गोरखा दरबारको दशैँघरमा फूलपाती भित्रयाइयो

गोरखाको धार्मिक एवं ऐतिहासिक स्थल गोरखा दरबारको दशैघरमा परम्परा अनुसार बडा दशैँको सातौँ दिन मंगलबार फुलपाती भित्रयाइँदै । तस्वीर- रासस

परम्परानुसार गोरखा दरबारको दशैँघरमा आज फूलपाती भित्रयाइएको छ । अपराह्न ४ बजे गोरखा दरबारदेखि निस्किएको लावालस्करले ४ बजेर ४४ मिनेटमा फूलपाती चौताराबाट लगेको फूलपाती गोरखा दरबारमा भित्रयाएको हो ।

गए राति जङ्गलबाट ल्याइएको दारिम, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फूललाई दरबार भित्रयाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिनुभयो ।

गोरखा दरबारका सुसारेले जङ्गलबाट जम्मा गरेर ल्याएको फूलपाती लिन दशैँघरदेखि हर्ष बढाइँका साथ दरबार हेरचाह अड्डाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको लावालस्कर सतिपिपल डाँडामा पुगेको थियो ।

आजै सोही स्थानबाट बिहानको शुभसाइतमा राजधानीको हनुमानढोकामा समेत फूलपाती पठाइएको थियो । फूलपाती भित्र्याउनुपूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गल गीत र मालश्री राग गाउँदै बन्दूकेहरु र भार बोक्ने भारवाहक फूलपाती पर्सने सिँढीसम्म आइपुगेका थिए । गोरखा दरबारको सिँढीमा विशेष पूजा गरेर गोरखा दरबारमा फूलपाती भित्रयाउने प्रचलन रहँदै आएको हेरचाह अड्डाका सूचना अधिकारी कट्टलेले बताउनुभयो ।

हरेक वर्ष भने दरबारबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाम माथि देखिने समयमा दरबारको दशैँघरमा फूलपाती भित्रयाउने प्रचलन रहँदै आएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री