अल्डरसटमा बढ्दै नेपाली व्यवसाय

ट्रुथ ककटेल बारमा काम गर्दै एक विदेशी कामदार

अल्डरसट । अल्डरसट भिक्टोरिया रोडमा सेप्टेम्बर दोश्रो साता नयां व्यवसाय ‘टेम्पटेसन ककटेल बार एण्ड क्लब’ शुरु गरेपछि प्रेम गाहामगरलाई अहिले विजनेश प्रमोशनले भ्याइ नभ्याइ छ । एनआरएनए यूके उपाध्यक्ष समेत रहेका मगरलाई सामाजिक कामसंगै व्यवसायमा संलग्न हुंदा शुरुका दिन चुनौतिपूर्ण महशुस भयो । ‘हरेक व्यवसायमा जोखिम र लाभ त उत्तिकै हुन्छ’, गाहामगर भन्छन्, ‘तर, नेपालीहरुको उल्लेख्य बसोवास रहेको शहरमा एउटा राम्रो व्यवसाय गर्ने इच्छा पहिले देखि नै थियो, हामीले साझेदारीमा शुरु गरेको यो व्यवसायले विस्तारै पिकअप 
लिंदैछ ।’

केही महिनाअघिमात्र अल्डरसटमै ट्रुथ नामक ककटेल बार खुल्यो । तीन नेपाली युवा उद्यमीको संयुक्त लगानीमा सञ्चालित उक्त 
बारमा अहिले नेपाली भन्दा विदेशीको भीड लाग्छ, विशेष गरि वीकेन्ड राती अबेरसम्म ।

त्यस्तै लामो समयदेखि चालु निरमाया रोधीघरको व्यापार शिथिल भएपछि एउटा व्यवसायिक समूहले रोधीघर किनेर थप लगानीमा 
त्यसलाई डि लाउन्ज बनाएको छ ।

ब्रिटिश आर्मी अफिसरहरुको प्रशिक्षणका लागि समेत प्रख्यात 
रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्ट आसपासको अल्डरसट टाउन अब भूपू गोर्खा र तिनका परिवारको केवल बसोवासका लागिमात्र परिचित रहेन । अहिले रसमोर बरो काउन्सिल अन्तर्गत 
पर्ने अल्डरसट नेपाली व्यवसायले पनि ओगट्दैछन् ।

कुनै बेला यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने मन्त्री जेराल्ड होवार्थले नेपाली जनसंख्या बढेर समस्या थपिएको गुनासो प्रधानमन्त्रीसमक्ष गर्नुले यहां नेपालीको बसोवास कति रहेछ स्पष्ट छ । तर, अब नेपालीद्वारा सञ्चालित व्यवसाय पनि बढ्ने क्रम जारी छ ।

नेपाली जनसंख्या बढेसंगै नेपाली ग्राहककै लागि लक्षित व्यवसाय बढेका हुन् । विभिन्न प्रकृतिका कार्यक्रम गर्न ब्याङक्यूटिङ हलदेखि ग्रोसरी, ब्युटी पार्लर, रेष्टुरेन्ट, पब, ककटेल बार, 
दोहोरी सांझ, सुनचांदी पसल, लेखा, कानुन र व्यवसाय लक्षित परामर्श केन्द्र, प्रोपर्टी, बुटिक, टेलर्स, मोर्गेज, ट्राभल्स् एण्ड टुर, क्लिनिङ आदि व्यवसायमा नेपालीले लगानी गरेका छन् ।

स्थानीय पत्रकार एवं नेपाल पत्रकार महासंघ बेलायतका सचिव पूर्ण गुरुङका अनुसार, अल्डरसटमा गोर्खा राजदूत रेष्टुरेण्टबाट नेपालीको व्यवसाय शुरु भएको थियो जुन संख्या अहिले करिब चार दर्जन छ ।

अल्डरसटमै केही वर्षदेखि शुरु भएका एम्पायर हल र दि प्यालेसले अधिकांश नेपालीका इभेन्ट लिने गरेका छन् । वीकेन्डमा त्यहां हुने नेपाली कार्यक्रमले अल्डरसट मिनी नेपाल झैं बन्छ ।

रसमोर बरो काउन्सिलको तथ्यांकमा उक्त बरोमा करिब २७५० 
राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका व्यवसाय छन् । हिथ्रो र गेटवीक अन्तर्राष्ट्रिय विमानस्थल एवं एयरशोका लागि प्रख्यात फार्नबोरो विजनेश एयरपोर्ट अल्डरसट नजिक छन् । सेन्टर फर सिटिज आउटलुक ०१३ को तथ्यांकमा अल्डरसट ‘फास्ट ग्रोइङ कम्पनी’ का लागि यूकेको टप दश शहरभित्र परेको थियो । यी विशेषताले पनि व्यवसायीको रोजाइमा छ अल्डरसट ।

अल्डरसटमा नेपाली र स्थानीय समुदायबीच राम्रो मेलमिलाप 
एवं सहकार्य रहेको बताउंछन् ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे । कम्युनिटीले हालैमात्र नेपालबाट आउने नव आगन्तुक भूतपूर्व गोर्खा र तिनका सन्तान एवं पहिले नै आइसकेका जेष्ठ नागरिकहरुलाई समेत सुसुचित गरि यहांको 
रहनसहन, परम्परा, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा सुविधा आदि विषयमा जानकारी दिन ‘इन्फर्मेसन डे’ कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रमका लागि क्यान र रसमोर बरो काउन्सिलले पार्टनरका रुपमा सहयोग गरेका थिए । कार्यक्रममा सिटिजन एड्भाइस ब्युरो, रसमोर बरो काउन्सिल, स्थानीय प्रहरी, फ्रिम्ली पार्क हस्पिटल, रसमोर हेल्डी लिविङ, रसमोर फायर एण्ड रेस्क्यू सर्भिस लगायतले नेपालीलाई आवश्यक जानकारी दिएका थिए । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री