दाबा ग्याल्मोलाई प्रतिभा सम्मान, अधिकारीलाई पुरस्कार

दाबा ग्याल्माे

लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०१८ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।
बेलायतको हाईवेकम्बमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको बैठकले दार्जिलिङकी प्रसिद्ध गायिका दावा ग्याल्मोलाई ‘प्रतिभा सम्मान’ र काठमाडौँका निबन्धकार, समालोचक तथा अनुवादक बलराम अधिकारीलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो ।
सम्मानमा बीस हजार नगद, ताम्रपत्र र दोसल्ला छ भने पुरस्कारमा एक लाख नगद राशी र ताम्रपत्र रहेको प्रतिष्ठानका महासचिव मिजास तेम्बेले जानकारी दिए ।
सन् १९५४ मा भारतको दार्जिलिङमा जन्मिएकी ग्याल्मोका दर्जनौँ गीत लोकप्रिय छन् । सानैदेखि साङ्गीतिक यात्रामा समर्पित उनलाई नेपाली गीत गायनमा उल्लेखनीय योगदान पुरयाएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो ।
यसैगरी, सन् १९७७ मा काठमाडौँमा जन्मिएका अधिकारीका ‘अनुवाद सिद्धान्त र प्रयोग’ र ‘टेक्निकल एण्ड कल्चरल ट्रान्सलेसन’ नामक पुस्तक प्रकाशित छन् । उनले करिब दुई दर्जन नेपाली पुस्तकहरूको अंग्रेजीमा अनुवाद गरेका छन् । अंग्रेजी विषय प्राध्यापनरत उनले अनुवादका माध्यमबाट नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन योगदान दिएवापत उनलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका तेम्बेले बताए ।

बलराम अधिकारी

सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ र वेणु आचार्य सम्मानित भइसक्नुभएको छ ।

यसै गरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी र टीका चाम्लिङ र फूलमान वल पुरस्कृत भइसकेका छन् ।

सम्मान तथा पुरस्कार डिसेम्बर अन्तिम साता काठमाडौँमा एक समारोह आयोजना गरी प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री