जनसम्पर्क समिति बेल्जियम विभाजित, पूर्व अध्यक्ष गौतम निष्कासित

लण्डन । नेपाली जनसम्पर्क समिति बेल्जियम (नेजसस बेल्जियम) ले पूर्व अध्यक्ष गंगाधर गौतमलाई साधारण सदस्य समेत नरहने गरी ४ वर्षलाई निष्कासन गरेको छ । अध्यक्ष सीता सापकोटा र महामन्त्री दिनेशप्रसाद भन्डारीले एक विज्ञप्ति प्रकाशन गर्दै यस्तो कार्वाही गरिएको जनाएका छन् ।

गौतम नेपाली जनसम्पर्क समिति युरोपमा महामन्त्री समेत रहेका छन् ।

यसैगरी, नेजसस बेल्जियमका अर्का महामन्त्री सुभाष गुरुङलाई पदबाट बर्खास्त गरिएको छ । गुरुङलाई पनि ४ वर्षका लागि निष्कासन गरिएको छ ।

यसैबीच, बेल्जियमस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति औपचारिक रुपमा विभाजन भएको छ । नेपाली जनसम्पर्क समितिका महामन्त्री सुभाष गुरुङको नेतृत्वमा आइतवार राति लुभेनमा भएको एक भेलाले वर्तमान सभापति सीता सापकोटाको नेतृत्व नमान्ने घोषणा गर्दै नयाँ कार्यसमिति गठन गरेको छ ।

भेलाले गुरुङको सभापतित्वमा १५ सदस्सीय नयाँ कार्यसमिति घोषणा गरेको छ । समितिको उपसभापति गजेन्द्र बोगटी, महामन्त्री अनुजा प्रधान, सहमहामन्त्री सूर्य बहादुर गुरुङ, कोषाध्यक्ष पार्वता शर्मा रहेका छन् । यस्तै सदस्यहरुमा गोविन्द सिंह अधिकारी, भाइथेवा तामाङ (जुमकाजी), विनोद पौडेल, नन्दराज घले, चिनीमाया तामाङ, राधा प्रधान, शरद क्षेत्री, सागरदास श्रेष्ठ, शिव खरेल र शैलेश मल्ल छन् ।

सभापति सीता सापकोटाले पार्टीभन्दा गुट चलाएको आरोप गुरुङ पक्षले लगाएको छ । गुरुङले प्रजातान्त्रिक पार्टीको बैठकमा राय समेत राख्न नदिने सभापतिलाई अब नमान्ने बताए । गुरुङले भने, ‘उहाँ मनोमानी रुपमा अगाडी बढ्नु भयो, यो नेपाली कांग्रेसको चरित्र होइन । कांग्रेस नेता रामचन्द्र पौडेल यहाँ आउँदा सबै कार्यकर्तासंग भेट्न समेत बन्देज लगाइयो । यो सबै ब्यक्तिबादी सोचको उपज हो ।’ सापकोटाको नेतृत्वमा सबै नेता तथा कार्यकर्ता बस्ने अवस्था नरहेका कारण छुटै संगठित भएर अगाडी बढ्ने निर्णय गरिएको गुरुङले बताए ।

गुरुङले नयाँ कार्यसमितिको बैठक २८ अक्टोवरमा बस्ने निर्णय भएको जानकारी दिंदै सो बैठकबाट सबै कांग्रेस कार्यकर्ताहरुलाई समेटर लैजाने वताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री