मैले देखेको १२ वर्षपछिको काठमाण्डौं

‘१२ वर्षमा त खोलो पनि फर्कन्छ भन्छन्, नवीनलाई स्वदेश फर्कन त्यति नै लाग्यो ।’ केही समय मेरो नेपाल आगमन साथीभाइमाझ मजाकको विषय पनि बन्यो । सन् २००६ सेप्टेम्बर ४ मा लन्डनका लागि उडेपछि म गत साता नेपाल फर्किंए झण्डै १२ वर्षपछि । लामो अन्तरालपछि मातृभूमि टेक्दा शुरुमा त म अलमलिएं जसरी लन्डन हिथ्रो विमानस्थल उत्रंदा मलाई अन्योल र द्विविधाले पिरोलेको थियो । फरक यत्ति हो, लन्डन बिरानो देश थियो, नेपाल आफ्नै जन्मभूमि । मलाई यहां पारिवारिक आतिथ्य मिल्यो, सपनाको शहर लन्डनमा भने थोरै 
कौतुहलता र बढि चिन्ता ।

यति लामो कालखण्ड लन्डनमा अल्मलिनु परेको वाध्यता आफ्नै ठाउंमा छ । अध्ययन, बसिसकेपछि आवासीय भिजाको लोभ, कामको व्यस्तता, आर्थिक चांजोपांजो आदि 
कारणले नेपाल आउन नसक्नु मेरो वाध्यता सायद आमपाठकलाई चासोको विषय वा महत्व नहुन सक्छ । तर, मलाई अवतरण भइसकेपछि यहांको परिवर्तनले केही शब्द लेख्न प्रेरित गरयो ।

बेलायतको अद्भूत विकास नेपालसंग तुलना गरेर आफ्नो देशलाई गालीमात्र गर्ने नैतिक अधिकार म मा सायद छैन् । यद्यपि, मैले सरसर्ती देखेको परिवर्तन यहां उल्लेख गर्न चाहेको छु ।

मैले नेपाल छोड्दा अहिले जस्तो बैंकहरु थिएनन् । अहिले यहां टोलपिच्छे बैंक खुलेका रहेछन्, सायद बेलायतभन्दा पनि बढि । युरोपियन बैंकिङ रिसोर्सेसका अनुसार बेलायतमा विभिन्न ४१ 
बैंक छन् । सपिङ मल पनि टोल टोलमा । लाग्यो नेपालीको क्रय शक्ति पनि बढेको छ । किन्ने हैसियत नहुंदो हो त यति धेरै 
सपिङ मल खुल्ने थिएनन् । तिनमा पाइने सामान पनि कम दामका छैनन् । अर्को परिवर्तन, काठमाण्डौं ‘मास्क 
सिटी’ मा परिणत भएको रहेछ । धुंवा, धुलो त अहिले 
काठमाण्डौंको परिचय बनेको रहेछ । मास्क बिना हिंड्नै कठिन । उपत्यकावासीले धुंवा धुलो पनि पचाइसकेका । धुलाम्मे होस्, धेरै ठाउंमा सडक फराकिला देख्दा प्रसन्न भएं ।

सार्वजनिक यातायातका साधन पनि बढेका रहेछन् । ट्राफिक जामले हुने हैरानी एकातिर छ तर यसले यात्रुहरुलाई विकल्प भने 
प्रशस्त दिएको छ । लन्डन महानगरपालिका जस्तै ‘पिक टाइम’ मा सवारी लैजांदा ‘कन्जेसन चार्ज’ को व्यवस्था हुंदो हो त केन्द्रतिर सवारी कुंदाउन कमी र जाम न्यून हुन्थ्यो । सार्वजनिक यातायातमा बेलायत जस्तै महिला, अशक्त र ज्येष्ठ नागरिकका लागि बेग्लै सिट छुटयाइनु प्रशंसनीय लाग्यो तर कतिपय ठाउंमा युवा समेत छुटयाइएको सिटमा बसिदिनु चाहिं सामान्य । बस, माइक्रोभित्र ठेलमठेल हुंदा सरी, थ्यांक यू कतै सुनिएन । टयाक्सी चालकहरु मिटरमा गुड्नै नमान्ने । मानिस हेरेर, त्यो पनि विदेशबाट भर्खर भर्खर आएको चाल पाए हचुवाको भरमा जति पनि भाडा भनिदिने चलन रहेछ । सांझ परेपछि अलिक अपायक ठाउंतिर जान पनि कोही नमान्ने । यातायातको सन्दर्भमा 
मदिरा सेवन गरेर सवारी चलाउन नपाउने नियम सांच्चिकै उदाहरणीय लाग्यो । चालकहरुमा मापसे आतंक रहेछ । शहरका मुख्य मुख्य ठाउंमा बिसौनी पनि बनेछन् । ग्रेटर लन्डनमा ६७३ रुटमा १९ हजार बस स्टप बनाइएका छन् जहां बस आउने जाने समय हुन्छ र ओतलाग्ने ठाउं पनि ।
इंग्ल्याण्ड र वेल्समा ८० मिलिग्रामसम्म अल्कोहल सेवन गरेर गाडी चलाउन सकिने प्रावधान छ । सन् २०१० देखि ०१५ सम्मको अवधिमा इंग्ल्याण्ड र वेल्समा मदिरा सेवनका कारण ३६ हजार ९ सय दुर्घटना भएका र त्यो दुर्घटनाबाट १४१० जनाले ज्यान गुमाएको तथ्यांक छ ।

महंगीले काठमाण्डौंको अर्को परिचय थपेको पाएं । आम्दानीको तुलनामा खर्च अत्यधिक । खाना, तरकारीमा खर्च लन्डन र 
यहांको तुलना गर्दा खासै भिन्नता लागेन । लन्डनमा पाउण्डमा आम्दानी हुने भएकाले खाना सस्तो लाग्छ जस्तै एक दिनको 
कमाइ (करिब ८० पाउण्ड) ले सात दिन खान पुग्छ त्यहां । यहां भने एक हजारको नोटले एक छाक तरकारी किन्न ठिक्क । रेष्टुरेन्टमा चार जनाको एउटा बसाइमा मदिरासहितको खानामा दश हजार रुपैंया सकिनु त सामान्य रहेछ । होटल, सिनेमा, अस्पताल छिर्दा पनि खर्च उस्तै । कफी कल्चर र बाह्य फेसनको सिको यहां पनि बांकी रहेन ।

काठमाडौंमा निजी अस्पताल पनि असंख्य खुलेका पाएं । प्राय टोलमा अत्याधुनिक उपकरणसहितका अस्पताल खुलेका रहेछन् । इंग्ल्याण्डमा नेशनल हेल्थ सर्भिस (एनएचएस) अस्पतालको संख्या १६८ रहेको तथ्यांक छ । ति अस्पताल एक्युट ट्रष्टले व्यवस्थापन गर्ने गर्छ । बेलायतमा पिआरधारीलाई स्वास्थ्य सेवा निशुल्क छ तर नेपालका अस्पतालले लिने शुल्क ढाड भांच्ने खालको ।

अहिले नेपालमा राजनीतिक अस्थिरता पनि हटेको छ । नयां 
संविधान कार्यान्वयनको चरणमा छ, देशमा वहुमतको सरकार छ जसलाई नीति निर्माण र विकास गर्न कुनै व्यवधान छैन् । नेपाल सरकार ‘समृद्ध नेपालः सुखी नेपाली’ को मुल नारा लिएर अगाडि बढिरहंदा बेलायतवासी नेपालीमा पनि आशाका किरण पलाएको छ । ब्रिटिश पर्यटकको नेपाल आगमन संख्या गत वर्ष झण्डै ५० हजार पुगेको लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कुनै बेला जानकारी दिएका थिए ।

नियम, कानुन र प्रणाली बेलायत जस्तो अनुशरण गर्न समय लागेपनि देश विस्तारै समृद्धिको पथमा लम्किरहेको छ, आशा गरौं नेपालीले नारामा भनिएजस्तै सुःखका दिन भविष्यमा पक्कै अनुभूति गर्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री