ग्रीनवीचमा दशैँतिहार भेटघाट

लण्डन । दक्षिण पूर्वी लण्डनमा बसोबास गर्ने नेपालीहरुले दशैँ तथा तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् ।

रोयल ग्रीनवीच नेपाली सोसाइटीको आयोजनामा शनिबार प्लमस्टिडमा आयोजना गरिएको सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी लगायत नेपाली समाजका अगुवा र सो क्षेत्रमा बसोबासरत नेपाली सम्मिलित थिए ।

समाजका अध्यक्ष हरिगोविन्द गुरुङको अध्यक्षता र महासचिव जीत रानाभाटको संचालनमा भएको सो कार्यक्रममा बोल्दै डा. सुवेदीले नेपाली समुदायका अगुवाहरुले प्रवासमा नेपाली भाषा सँस्कृति बचाउन स्वयंसेवीरुपमा राजदूतले भन्दा धेरै कदरयोग्य काम गरेको बताए ।

बेलायतमा हुर्कँदै गरेको दोस्रो र तेस्रो पुस्ताले नेपालीपन बिर्सेलान् कि भन्ने आफूलाई चिन्ता लाग्ने गरेको उल्लेख गर्दै उनले नेपाली समुदायले साथ दिए नयाँ पुस्तामा नेपालीपन सार्न असजिलो नभएको बताए ।

एनआरएनए युकेका प्रतिनिधि उपमहासचिव विनय अधिकारीले एनआरएनए युकेले गरिरहेको कार्यको जानकारी दिएका थिए ।

कार्यक्रममा सोसाइटीले सञ्चालन गरेको नेपाली भाषा कक्षाका बालबालिकाले गायत्री मन्त्र, बुद्ध वचन, नेपाली र अंग्रेजी राष्ट्रिय गान प्रस्तुत गरेका थिए । यस्तैगरी, नेपाली कक्षा संचालनका स्वयंसेवीहरुलाई पनि राजदूत सुवेदीले कदरपत्र वितरण गरेका थिए ।

कार्यक्रम संयोजक मुकुन्द बास्तोलाले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए भने कोषाध्यक्ष ह्यारी गुरुङले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराएका थिए । मनोरञ्जन कार्यक्रम योगेश गुरुङ र मञ्जु भट्टले चलाएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, पासा पुचः युकेका अध्यक्ष कुमार श्रेष्ठ, बुद्ध फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठ, यति नेपाली एसोसिएसनका उपाध्यक्ष ठाकुर शर्मा, झापाली समाजका अध्यक्ष अर्क तिम्सिना, पशुपति मन्दिरका अध्यक्ष सहदेव गिरी, तमुधिँ साउथ इष्ट लण्डनका उपाध्यक्ष सुमन गुरुङ, प्रतिभा नक्षत्रका अध्यक्ष सिम्मी पुन, मगर संघ प्लमटिडका अध्यक्ष केश आले, ग्रेटर रसमुर नेपाली समाजकी उपाध्यक्ष रञ्जिता मल्ल, जीगेसाका अध्यक्ष लीलादेवी गुरुङ लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री