लन्डनमा गायन कला देखाउंदै कला

लन्डन । घरबाट स्कुल जांदा होस् वा फर्कंदा । गीतसंगीत भनेपछि उनको कान ठाडो भइहाल्थ्यो । रेडियोमा मन 
पर्ने गीत बज्न थालेपछि खान छाडेर हस्याङफस्याङ गर्दै उनी रेडियो नजिक पुग्थिन् । तनहुं थर्पुकी कला वाल्यकालदेखि नै गायन र मिडियामा अभिरुची राख्थिन् । कला लम्सालको कलाकार बन्ने सपना सानैदेखि थियो । त्यसैले पोखरातिर रेडियोका क्षेत्रीय स्तरका कार्यक्रममा भाग लिन उनी अघि सरिहाल्थिन् । आफ्नो गायनले बिस्तारै उचाईं लिन थालेपछि कलालाई ठूला कार्यक्रममा दर्शकमाझ गीत प्रस्तुत गर्ने रहर जाग्यो । कलाको पहिलो सपना त्यतिबेला पुरा भयो जति बेला उनले बि.स. २०६४ सालतिर भारतको सिक्किमका नेपाली माझ आफ्नो कला प्रदर्शन गरिन् ।

त्यतिबेला सिक्किमका नेपाली दर्शकले ‘वान्स मोर’ भनेपछि उनी खुसीले रोइन् । स्टेज जानुअघि ट्रयाकमा गाउन र धेरै मानिसकाबीच उभिन ‘नर्भस’ हुने डर हराउंदै गयो । उनले भारतकै दिल्लीमा कला प्रस्तुत गरिन् । त्यसपछि उनको परिचय फेरिन थाल्यो । रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र र एफएममा गएर गीत गाउने कला लम्साल अब 
राष्ट्रिय कलाकारको रुपमा परिचित भएकी छन् ।

२०६२ सालदेखि गायनको औपचारिक सुरुवात गरेकी कलाले २०६५ मा गायक खुमन अधिकारीसंग ‘मन पाए खुशी हुन्थें म’ एम्बम निकालिन् । त्यतिमै सिमित रहेन उनको सक्रियता । उनका त्यसयता नाकै हेर्दा थाहा हुने, छड्के तिलहरी, फूलको डाली, दही जमाउने ठेकी, बनैमा फुल्यो चमेली, महारानी लगायत एल्बम प्रकाशित भइसकेका छन् । कलाले नेपाल प्रहरी क्लबमा कलाकारको रुपमा केही वर्ष काम गरिन् । उनले प्रहरी गीत लेखन र गाएकी पनि छन् ।

गीत संगीतमा रमाउन थालेकी कला लम्साललाई विश्वभर छरिएका नेपाली माझ पनि आफ्नो गायन प्रस्तुत गर्ने इच्छा जाग्यो । त्यो इच्छालाई मुर्तरुप दिने काम विदेशमा बस्ने नेपालीले गर्न थाले । उनका गीत मन पराएर विदेशमा गीत प्रस्तुत गर्ने निमन्त्रणा पनि आउन थाले । त्यसपछि कला भित्रको कला भारत हुंदै दुबइ, रसिया र बेलायतसम्म आइपुग्यो ।

शान्ति नेपाली समाजको निमन्त्रणमा बेलायत आएकी कला लम्साल यहां आफ्नो कलाको जादु देखाउंदैछिन् । उनले बेलायतको बर्मिङहम, नटिङहम, लेस्टर, अल्डरसट, लन्डनका हयारो, साउथहल, नर्थहोल्ट, उलवीच आदि शहरमा आफ्नो कला देखाइसकिन् ।

‘बेलायतका नेपाली दर्शकले औधी माया गरिदिएर खुब उत्साहित छु’, कलाले भनिन्, ‘प्रवासमा समेत लोक गायन र कला संस्कृतिप्रति नेपालीको लगाव देखेर म प्रभावित भएं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री