लण्डनमा हुन लागेको डब्लुटिएम नेपाल प्रबर्द्धन गर्ने राम्रो अवसर

युवा पर्यटन व्यवसायी बिराज भट्ट

लन्डन । लण्डनलाई कार्यथलो बनाएका एक युवा पर्यटन व्यवसायी बिराज भट्टले आउँदो सातादेखि लण्डनमा शुरु हुनलागेको वर्ल्ड ट्राभल मार्ट (डब्लुटिएम) नेपाललाई प्रबर्द्धन गर्ने राम्रो अवसर भएको बताएका छन् । ट्राभल कन्सोल युकेका प्रबन्ध निर्देशक भट्टले यही नोभेम्बेर ५  देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको वर्ल्ड ट्राभल मार्टमा झण्डै १८२ देशका ५० हजार भन्दा बढी सहभागीहरु आउने अपेक्षा गरिएको बताए ।

पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने सो मार्टमा भागलिन नेपालबाट पर्यटन मन्त्री रबीन्द्र अधिकारीको नेतृत्वमा एउटा टोली लण्डन आउँदैछ । नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका विभिन्न नेपाली कंपनीहरुपनि सो मेलामा भाग लिंदैछन् ।

“वर्ल्ड ट्राभल मार्ट आइटिबी बर्लिन पछि पर्यटन व्यवसायीहरुको दोश्रो ठूलो विश्व मेला हो । यहाँ संसारभरिका टुर अपरेटर, ट्राभल एजेन्टहरु, डेस्टिनेशन म्यानेजमेन्ट कंपनी, प्रविधि पार्टनर, विमानसेवा, विभिन्न देशका पर्यटन निकायहरु लगायतले भाग लिन्छन् । ‘डब्लुटिएम’मा सहभागी भएर आफ्ना ग्राहकहरुसंग संबन्ध सुदृढ गर्ने र नयाँ ग्राहकहरु खोज्ने सरकारी तथा निजी क्षेत्रका सहभागीहरुको उद्देश्य रहेको हुन्छ,” उनले भने ।

सन् १९९७ मा बेलायतमा पर्यटन तथा आतिथ्य विषय पढ्दै गर्दा पहिलो पटक वर्ल्ड ट्राभल मार्टमा पुगेका भट्ट त्यसयता हरेक मार्टमा भाग लिंदै आएका छन् । उनले नेपालले डब्लुटिएममा सहभागिताकासाथै डिजिटल प्रविधिबाट नेपाललाई संसारभरि चिनाउन अरु ध्यान दिनुपर्ने बताए ।

“वर्ल्ड ट्राभल मार्टमा झण्डै तीन हजार मिडिया कंपनीहरु आउँछन्, तिनलाई नेपालको स्टलतर्फ आकर्षित गर्न विशेष ध्यान दिनुपर्छ,” भट्टले भने । ”यस्ता आयोजनामा हुने सहभागिताले तत्कालिक भन्दा पनि दीर्घकालिनरुपमा देशलाई फाइदा पुग्छ”, उनले थपे ।

नेपालले बेलायती पर्यटकहरुलाई नेपाल भित्र्याउने ठूलो संभावना रहेको तर त्यसको एकछेउँ पनि दोहन गर्न नसकेको भट्ट बताउँछन्। २०० वर्ष भन्दालामो द्वीपक्षीय संबन्ध रहेको र सर्वोच्च शिखर सगरमाथा तथा गोर्खा सैनिकका कारण सबै बेलायतीहरुले चिन्ने र माया गर्ने बेलायतबाट वर्षेनी झण्डै ५०,००० पर्यटकहरुमात्र नेपाल भ्रमण गर्न जानु निकै कम रहेको भट्टको धारणा छ ।

बेलायतबाट नेपालको तुलनामा क्याम्बोडिया र भियतनामको हवाइ यात्रा झण्डै तीन घन्टा लामो छ । तर गत वर्ष झण्डै एकलाख सत्तरी हजार ब्रिटिश पर्यटकहरु क्याम्बोडिया पुगेका थिए भने तीन लाख  ब्रिटिश पर्यटकहरु भियतनाम पुगेका थिए ।

“मेरो विचारमा राम्रोसंग प्रचारप्रसार गर्ने हो भने दुई, तीन वर्षभित्रै नेपाल भ्रमण गर्ने ब्रिटिश पर्यटकको संख्या दोब्बर पार्न सकिन्छ,” उनले भने- ”तर यसका लागि सडक, विमानस्थल, होटेल तथा रिसोर्टहरु लगायतका पूर्वाधारहरुको व्यापक विकास गर्नुपर्छ ।”

लण्डन र भियतनाम बीच सीधा हवाइ सम्पर्क छ । तर गएको झण्डै २० वर्षदेखि नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा बेलायत आएको छैन ।

नेपाल वायुसेवाले युरोपमा उडान भर्ने संभावना बारेको एक जिज्ञासामा भट्टले युरोपेली संघको कालो सूचीमा परेका कारण नेपाल वायुसेवा युरोप आउन नपाएको तर त्यो स्थिति छिट्टै अन्त्य हुने आफुले आशा लिएको बताए। शुरुमा नेपाल वायुसेवालाई युरोप उडानबाट मुनाफा कमाउन गाह्रो हुनेभएता पनि दीर्घकालिन ढंगले हेर्दा यो फाइदाजनक हुने भट्टको ठम्याइ छ ।

“नेपाल वायुसेवाले अहिले वाइड बडी विमानहरु थपेसंगै छिट्टै युरोपतर्फ पनि उसले आफ्नो सेवा विस्तार गर्नुपर्छ। त्यसोभयो भने युरोपबाट नेपालमा जाने पर्यटकहरुको संख्या बढ्न गै नेपालको राष्ट्रिय अर्थतन्त्रमा थप टेवा पुग्नेछ,” उनले भने। “नेपाल वायुसेवाले ब्रिटिश एअरवेज र अन्य युरोपेली वायुसेवासंग कोड शेयर गरेर मात्रै पनिराम्रो फाइदा लिनसक्छ।”

लाखौं बेलायतीहरु गर्मीको छुट्टीमा युरोप तथा मध्यपूर्वका मुलुकहरुमा जान्छन् भने अक्टोबरदेखि फेब्रुअरीसंम नेपाल लगायतका मुलुकहरुको भ्रमणमा जान्छन् । हवाइसंपर्क, पर्यटन पूर्वाधार तथा लक्षित मार्केटिङ गर्न सकेमा झण्डै एकलाख बेलायतीलाई नेपाल लग्न सकिने उनले विश्वास व्यक्त गरे । यसकालागि नेपाल पर्यटन बोर्ड, लण्डनस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ र स्थानीय काउन्सिलहरुसंग मिलेर काम गर्न आवश्यक रहेको उनले बताए ।

नेपाल सरकारले ‘भिजिट नेपाल इयर २०२०’ मनाउन आह्वान गरेपछि बेलायत तथा युरोपेली मुलुकहरुमा विभिन्न कार्यक्रमहरु आयोजना भैरहेका छन्, तर ती लक्षित समुदायसम्म पुग्न नसकेको भट्टको आकलन छ । “खासगरी स्थानीय मेनस्ट्रीम मिडियाहरुमा लक्षित विज्ञापन दिनुकासाथै नेपालसंग सम्पर्कमा रहेका ट्राभल एजेन्सी, टुर अपरेटर तथा विमानसेवा कंपनीहरुसंग अरु निकटमा रहेर काम गर्न जरुरी छ। त्यस्तै बेलायतका व्यापारिक संघसंस्थाहरु, स्थानीय काउन्सिल तथा विश्व विद्यालयहरुसंग सहकार्य गरेर पनि बेलायतीहरुलाई नेपालतर्फ आकर्षित गर्नुपर्दछ,” उनले भने ।

पश्चिम नेपालमा नयाँ ट्रेकिङ रुटहरु विकास गर्न, पर्वतारोहीहरुलाई थप सुविधा दिन, आतिथ्य उद्योगलाई अरु बढी व्यावसायिक बनाउनुका साथै साहसिक खेलमा भाग लिन रुचाउने युवा पुस्ताकालागि नेपाल सर्वोत्तम गन्तव्य हो भन्ने सन्देश दिन आवश्यक रहेको उनले बताए ।

गएको २० वर्षदेखि पर्यटन व्यवसायसंग संबद्ध भट्टले पर्यटनसंबन्धी विषय अध्ययन गर्नुकासाथै बेलायतबाट एमबीए गरेका छन्। पश्चिम लण्डनस्थित आफ्नो कार्यालयबाट झण्डै आधा दर्जन कंपनीहरु सन्चालन गरिरहेका उनी ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष र एनआरएन युकेका सल्लाहकार पनि हुन् ।

बेलायतमा आयोजना हुने नेपाली कार्यक्रमहरुलाई प्राय: सहयोग गरिरहने भट्ट बेलायतमा नेपाली व्यवसायहरु फस्टाउँदै गएकोमा खुसी व्यक्त गर्छन्। “अब नेपाली युवाहरुले आफै जागीर खोज्दै हिडनुको सट्टा अरुलाई पनि रोजगारी दिनसक्ने किसिमले आफ्नै व्यवसाय शुरु गर्न आवश्यक छ,” उनले भने ।

सात्ते, आइटिभी बर्लिन, युरोआल स्पेन तथा वर्ल्ट ट्राभल मार्ट आदि चर्चित पर्यटन मेलाहरुमा आफ्नै खर्चमा भाग लिएर नेपालको प्रबर्द्धन गरिरहेका भट्ट प्रविधिको विस्तारसंगै पर्यटकहरुको रुची पनि बदलिंदै गएको र उनीहरुका रुची अनुसारका उत्पादन तथा सेवा उपलब्ध गराएमा मात्रै प्रतिस्पर्द्धी बन्न सकिने बताउँछन्। “अहिले मानिसहरु नयाँ ठाउँ हेर्न मात्रै हैन, नयाँ अनुभवकालागि पनि घुम्न जान्छन्। त्यसकोलागि नेपाली खाना, संगीत, उपहार दिन मिल्ने नेपाली सामान र नेपालको भौगोलिक तथा जैविक विविधतालाई पनि संगसंगै राखेर प्रबर्द्धन गर्न जरुरी छ,” उनले भने ।

अहिले पश्चिमा मुलुकहरुमा योग तथा ध्यान प्रति मानिसहरुको रुची बढ्दै गएको छ, त्यसलाई पनि लक्षित गरेर प्रचारसामग्री तयार पार्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री