मंगलबार, पुष ३ २०७५ | Tue, December 18, 2018
नेपालको समय: १६:४४ | UK Time: 10:59

धर्ती माताको पुकार

सरिता ढकाल
२०७५ कार्तिक २७ गते ९:०७

हांसीखुसी सबै रहुन् भनि मैले सृष्टि बसाएं
कमी कुनै कुराको नहोस् भनि पूर्ण रुपले सजाएं
सर्वश्रेष्ठ क्षमता र बुद्धि भएको मान्छे बनाएं
मोक्ष होस् जन्म, मृत्युबाट भनी सम्पूर्ण सीप उसमै खन्याएं ।

तर उनीहरु त सांसारिक जन्जालमा फंसे
पृथ्बीलाई नै स्थायी वासस्थान ठानेर बसे
मेरै सन्तानहरु कोही मुस्लिम, हिन्दु अनि क्रिस्चियन अरे
मानवता नै धर्म हो भन्नेहरु अकालमै मरे ।

मेरो एक वर्षे छोरी बलात्कृत हुन्छे
अर्की बेचिएर विक्षिप्त भै रुन्छे
एउटा छोरो अलिसान गाडी कुदाउंछ
अर्को भोक भोकै सडकमै निदाउंछ ।

मेरो छातीमा रेखा कोरेर दाजुभाई फुटे
एक अर्कालाई नष्ट र ध्वस्त पार्न जुटे
लाखौं सन्तानलाई अकाल मै मारे
मेरै अस्तित्वलाई संकटमा पारे ।

म मातृत्व वेदनाको पीडाले असह्य हुन्छु
जता जान्छु केवल चित्कार सुन्छु
यस जगतलाई स्वर्ग देख्ने सपना सब खेर गयो
सिर्जनामा कमी कहां नेर भयो ?

अनमोल जीवनमा त हांस्नु हंसाउनु पर्ने
माया प्रेमको वस्ती बसाउनु पर्ने
आश गर्छु यो जुनीलाई उपयोगी बनाउंछन्
झन् थाकेर हारेर ‌रित्तिएर आउंछन् ।

विश्वास छ मेरा सपुतहरु फेरि आउंछन्
मेरो रोएको आत्मालाई खुसी बनाउंछन्
धर्तीमा शान्तिको सन्देश छर्छन्
मरेको मानवतामा प्राण भर्छन् ।

आमा हुं म, सहनशील छु, माफी दिएर हेरिरहन्छु
अनन्तसम्म युग फेरिंदा पनि पर्खीरहन्छु, पर्खीरहन्छु ।

डार्टफोर्ड, युके

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक