बेलायत नेपाल चौंथो द्विपक्षीय परामर्श संयन्त्र बैठक

लन्डन । बेलायत र नेपालका उच्च सरकारी अधिकारीहरुले दुई देशबीच प्रगाढ सम्वन्ध, पारस्परिक सहयोग र साझेदारी अभिवृद्धिमा जोड दिएका छन् । नेपालका परराष्ट्र सचिव शंकरदास 
बैरागीको नेतृत्वमा हाल बेलायत भ्रमणमा रहेको टोलीले बेलायती उच्च ओहोदाका राजनीतिज्ञ एवं कुटनीतिज्ञसंग भेट गरि आपसी सम्वन्ध विस्तार, सहयोग र सहकार्यमा जोड दिएको हो ।

बेलायती विदेश मन्त्रालय (एफसीओ) मा बिहीबार भएको बेलायत नेपाल चौंथो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा द्विपक्षीय सम्वन्ध थप 
प्रगाढ बनाइ सहकार्य अभिवृद्धिमा जोड दिइएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलले नेपाल सरकारले प्राथमिकता निर्धारण गरेका क्षेत्रमा बेलायती सहयोग वृद्धि गर्न आग्रह गरेको थियो । बैठकमा राजनीतिक, आर्थिक र सामाजिक विकासका मुद्दाबारे समेत छलफल भएको जनाइएको छ ।

‘विशेषगरि नेपाल सरकारको आर्थिक विकासका एजेन्डामा बेलायती सहयोगबारे विस्तृत छलफल भयो’, दूतावास श्रोतले भन्यो,
‘व्यापार तथा लगानी, पर्यटन र अन्य क्षेत्रको विकासमा पनि हामीले बेलायती सहयोगलाई जोड दियौं ।’ शिक्षा र सैन्य सहयोग एवं संस्कृति तथा पर्यटन प्रवर्धन आदि विषयमा समेत छलफल भएको छ ।

बैठकमा दुई देशबीच उच्चस्तरिय भ्रमण, भूतपूर्व गोर्खाहरुका समस्याको दीर्घकालिन समाधान, हवाइ सेवा र सुरक्षा, दोहोरो कर उन्मुक्ति सम्झौताबारे पनि छलफल भएको छ । दोहोरो कर उन्मुक्ति सम्झौताका लागि छलफल गर्न नेपालबाट एक प्रतिनिधिमण्डल यही नोभेम्बर २६ मा लन्डन आउने कार्यक्रम छ । २६ देखि ३० सम्म चल्ने उक्त बैठकमा दोहोरो कर उन्मुक्ति सम्झौताबारे विस्तृत छलफल हुने दूतावास श्रोतले जनाएको छ ।

संयन्त्र बैठक दुई देशको सरकारले पालै पालो गर्ने गर्छन् जसमा सरकारदेखि जनतासम्मका हरेक विषयमा छलफल हुन्छ । गत वर्ष संयन्त्र बैठक काठमाडौंमा भएको थियो । नेपालले बेलायतसंग सन् १८१६ मा कुटनीतिक सम्वन्ध स्थापना गरेको हो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागी र बेलायतको नेतृत्व ब्रिटिश डिप्लोम्याटिक सर्भिस हेड तथा 
परमानेन्ट अण्डर सेक्रेटरी सर साइमन म्याक डोनल्डले गरेका थिए ।

यसैबीच, परराष्ट्र सचिव बैरागीले दुई बेलायती मन्त्री, दुई सचिव, 
ब्रिटिश आर्मीका डेपुटी चिफ लगायत अन्य उच्च पदस्थ पदाधिकारीहरुसंग बेग्ला बेग्लै भेट गरेका छन् । बैरागीले बिहीबार बेलायतका आर्मड फोर्सेस (रक्षा) राज्यमन्त्री मार्क ल्यानकास्टरसंग लन्डनस्थित ल्यांकास्टर हाउसमा भेट गरि भूपू गोर्खाहरुको दीर्घकालिन समस्या समाधानबारे कुराकानी गरेका थिए । यसअघि गोर्खा समस्या समाधान गर्न भएका विभिन्न बैठकमा बेलायत सरकारको नेतृत्व मन्त्री ल्यानकास्टरले नै गरेका थिए । भूपू गोर्खाहरुले लामो समय देखि समान पेन्सन लगायत सेवा सुविधा माग राखेर आन्दोलन गर्दै आएका छन् ।

सचिव बैरागीले गत १३ नोभेम्बरमा स्यान्डहस्र्टस्थित आर्मी मुख्यालय भ्रमणका क्रममा डेपुटी चिफ अफ ब्रिटिश आर्मी लेफटिनेन्ट जेनरल निच पोपसंग भेट गरि गोर्खाहरुकै समस्याबारे छलफल गरेका थिए ।

यसैगरी सचिव बैरागीले एसिया तथा प्रशान्त क्षेत्र हेर्ने राज्यमन्त्री मार्क फिल्डसित पनि बेग्लै भेट गरे । राज्यमन्त्री फिल्डको कार्यालयमा विहीबार उक्त भेटघाट भएको थियो ।

भेटमा दुई देशबीच द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । उक्त भेटघाटमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी तथा नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिस समेत सहभागी थिए ।

बैरागी नेतृत्वको प्रतिनिधिमण्डलले डिएफआइडी परमानेन्ट सेक्रेटरी म्याथ्यू राइक्रोफ्ट, इन्टरनेशनल म्यारिटाइम अर्गनाइजेशनका सेक्रेटरी जनरल किटक लिम, इन्टरनेशनल मोवाइल सेटेलाइट अर्गनाइजेशनका डिरेक्टर जनरल मोइन अहमेद लगायत वरिष्ठ अधिकारीहरुसंग पनि भेट गरि आपसी हित र सहयोगबारे छलफल गरेको दूतावासले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा लन्डनस्थित राजदूत डा. दुर्गाबहादुर सुवेदी, उद्योग सहसचिव रविशंकर सैंजु, 
परराष्ट्र सहसचिव घनश्याम भण्डारी, उपसचिव युवराज पाण्डे साथै लन्डनस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयका अन्य 
कर्मचारीहरु सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री