भूतपूर्व गोर्खा मागको सम्मानजनक सम्वोधन हुनुपर्ने नेपाल सरकारको धारणा

लन्डन । हाल बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव शंकरदास बैरागीले भूतपूर्व गोर्खा सैनिकहरुका विभिन्न संगठनलाई एकजुट रहन र आफ्ना समस्याहरुबारे तथ्य संकलन गरी नेपाल सरकारलाई उपलब्ध गराउन आग्रह गरेका छन् ।

बिहीबार बेलुका साउथ ह्यारोमा एनआरएनए युके तथा पर्वत वेलफेयर सोसाइटी युकेद्वारा संयुक्तरुपमा आयोजित एक अन्तरकृयामा बोल्दै सचिव बैरागीले ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खाहरुका जायज मागहरुको सम्मानजनक संबोधन हुनुपर्ने नेपाल सरकारको धारणा रहेको बताए । उनले यसै साता ब्रिटिश अधिकारीहरुसंग भएको द्वीपक्षीय परामर्श संयन्त्रको बैठकमा पनि छलफल भएको जनाए तर त्यसको विवरण भने दिएनन् ।

हाम्रो उच्च नेतृत्वले गोर्खाहरुको विषयलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देश दिएको छ, हामी हाम्रो प्रयासमा दृढ छौं, उनले भने।

सचिव बैरागीले गैरआवासीय नेपालीहरुको समस्याका बारे परराष्ट्र मन्त्रालय सचेत रहेको बताए । जहाँ बसे पनि तपाईंहरु शिर ठाडो गरेर बस्ने अवस्था होस्, संगठित भएर बस्नोस्, त्यहाँको समाजलाई पनि योगदान गर्नसक्ने हिसाबले बस्नोस् । नेपाली नेपाली बीचको सद्भाव र आत्मीयता निकै महत्वपूर्ण हुन्छ, त्यो सोच राखेर अघि बढ्नुहोला,” उनले भने ।

सोही अवसरमा बोल्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतको नेपाली समाज सभ्य, सुशिक्षित, सुविचारित, संगठित र समृद्ध रहेको बताउँदै नेपालमा आपत विपद पर्दा बेलायतको नेपाली समाजले मस्तिष्क, मुटु र मुठी खोलेर नेपाल र नेपाली समाजलाई सहयोग गरेको स्मरण गरे । नेपाली भाषा, साहित्य, कला, संस्कृति, मातृभाषा, सभ्यताको संरक्षण र संबर्द्धन गर्न, नेपाली नेपालीबीच एकता कायम गरेर नेपाली भएर बाँच्ने उन्नत अभिलाषा बेलायतको नेपाली समाजले राखेको छ, उनले भने ।

गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले आफूले परराष्ट्र सचिव बैरागीसंग एउटै विद्यालयमा पढ्न अवसर पाएको स्मरण गर्दै गैरआवासीय नेपालीहरुका समस्याप्रति सचिव बैरागीले देखाएको सद्भाव र सहयोगको प्रशंसा गरे। उनले गैरआवासीय नेपालीहरुको अनुरोध सुनेर नेपाल सरकारले स्पेनमा दूतावास खोल्ने पहल गरेजस्तै पोर्चुगलमा पनि दूतावास खोल्न आग्रह गरे । 

भूतपूर्व गोर्खा लगायत नेपालीहरुले नेपालमा रहेको आफ्नो सम्पति बेचेर हुण्डी मार्फत विदेश लैजाने अवस्था अन्त्य गर्न संसदमा विचाराधनीन रहेको गैरआवासीय नेपाली संबन्धी विधेयकलाई गैरआवासीय नेपाली संघको परामर्शमा पारित गर्न पनि उनले सुझाव दिए । गैरआवासीय नेपालीहरुको नागरिकता सुरक्षित छ भन्नासाथ त्यो सम्पति नेपालमा रोकिन्छ र यसल नेपालको आर्थिक विकासमा पनि सघाउँछ । एकपटकको नेपाली सँधैको नेपाली भन्ने धारणालाई मूर्तरुप दिन पुस्तौंपुस्ताले नेपाल संगको संबन्ध अटूट गर्नेतर्फ सरकारको ध्यान जाओस्,” आचार्यले भने । 

गोर्खा अभियन्ता ज्ञानराज राईले नेपाल सरकारले गोर्खाहरुको समस्या राज्यको पनि समस्या हो भनेकाले आफूहरुले आन्दोलनलाई सदाकालागि पछाडि सारेको बताए। आफूहरु लाहुरेहरु धनी हुन् भनेर नभै नेपाल राष्ट्रको इज्जत, प्रतिष्ठा बढोस् भनेर स्वाभिमानको लडाईं लडिरहेको राईले बताए । उनले भने- ‘बेलायत सरकारले विगतको गल्ती स्वीकारेर गोर्खालीहरुको इज्जत प्रतिष्ठा राख्छ भने ‘गिभ एण्ड टेक’ गर्ने प्रशस्त ठाउँ छ ।’

सोलिसिटर राजु थापाले भूतपूर्व गोर्खा सैनिकहरुको विषयलाई मानवअधिकारको दृष्टिकोणबाट हेर्नुपर्ने बताउँदै त्रिपक्षीय सन्धि अनुसार ब्रिटिश सेनामा गोर्खालीहरुको भर्ती गरिएकाले यो नेपाल सरकारको पनि चासोको विषय भएको बताए । ‘अब नेपाल र ब्रिटिश सरकार बसेर सहमति गरेर पेन्सन लगायतका समस्याको समाधान गर्नुपर्छ’, उनले भने ।

कार्यक्रममा डा मिन रानाभाट, मान बहादुर राई लगायतले पनि आफ्ना जिज्ञासा राखेका थिए ।

एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा आयोजित सो अन्तरकृयामा पर्वत वेलफेयर सोसाइटी युकेका अध्यक्ष दधि आचार्यले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको सन्चालन गरेका एनआरएन युके महासचिव राजकुमार त्रिपाठीले एनआरएन युकेले सचिव बैरागीलाई दिन तयार पारेको ज्ञापनपत्र पढेर सुनाएका थिए ।

सो अवसरमा सचिव बैरागी लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री