बेलायती प्रधानमन्त्रीले डाकेको दीवाली पार्टीमा नेपाली पनि सहभागी

लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले बिहीबार सांझ आयोजना गरेको दीवाली पार्टीमा नेपाली समुदाय पनि सहभागी भएको छ । विदेश मन्त्रालय (एफसीओ) मा आयोजित उक्त ‘रिसेप्सन’ मा करिब दर्जन नेपाली अगुवा सहभागी भएका थिए ।

बेलायतको नेपाली समुदायलाई स्थानीयसंग ‘इन्टिग्रेसन’ गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका युवा प्रशान्त कुंवरको पहलमा नेपालीले निम्तो पाएका हुन् । कुंवरले यसअघि भएका दीवाली पार्टीमा व्यक्तिगत रुपमा न्यून नेपालीलाई डाकिएपनि लामो प्रयासपछि यसपटक नेपाली समुदायलाई विशेष प्राथमिकता दिइ निम्तो दिइएको दावी गरे ।

कार्यक्रममा नेपाली समुदायमा विभिन्न पेशाको प्रतिनिधित्व गर्नेहरु कुंवरसहित चिकित्सक डा. पारस सिंह, स्वीमर गौरिका सिंह, लेफटिनेन्ट कर्णेल टोल खाम्चा, मेजर चन्द्र पुन, व्यवसायीहरु महन्त श्रेष्ठ, बिराज भट्ट, सिद्धार्थविक्रम क्षेत्री, प्रजय शुक्ल लगायत सहभागी थिए ।

प्रधानमन्त्री मेले होस्ट गरेको उक्त पार्टीमा मे स्वयं भने राजनीतिक अस्थिरताका कारण अन्तिम समयमा आउन नसक्ने जनाउ दिंदै अनुपस्थित भइन् । कार्यक्रम स्थल पनि ‘लास्ट आवर’ मा डाउनिङ स्ट्रिटबाट एफसीओ सारिएको थियो ।

यद्यपि प्रधानमन्त्रीको सट्टा हाउजिङ, समुदाय तथा स्थानीय सरकार राज्यमन्त्री जेम्स पिटर ब्रोकेनसायर उपस्थित थिए । उनले मन्तव्यका क्रममा दीवालीको शुभकामना दिंदै ब्रिटेनमा हिन्दू समुदायको योगदानको प्रशंसा गरे । प्रधानमन्त्रीका श्रीमान फिलिप मेले पनि सम्वोधन गर्दै हिन्दूहरुको महान पर्व दीवालीको शुभकामना दिएका थिए ।

कार्यक्रममा धार्मिक तथा सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री