एभरेष्ट इनमा दीपावली, विदेशीहरु ढाका टोपी र बिन्दीमा मख्ख

लन्डन । एभरेष्ट इन ब्लाकहिथले १५ औं वार्षिक दीपावली कार्यक्रम गरेको छ । नेपालको कला संस्कृति एवं पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित बेलायती नागरिकहरुमाझ कार्यक्रम गरिएको हो । एभरेष्ट इनले कार्यक्रममा उपस्थित सम्पूर्ण विदेशीलाई प्रवेशद्धारमै नेपाली मौलिक ढंगमा पुरुषलाई ढाका टोपी, खादा र टिका एवं महिलालाई स्कार्फ र टिका (बिन्दी) लगाइदिएर स्वागत गरेको थियो ।

कार्यक्रमस्थल पुरै मैनबत्ति र अन्य सजावटले झकिझकाउ 
सिंगारिएको थियो । कार्यक्रममा नेपाली खाना, गीत संगीत र नृत्यले माहोल रोमाञ्चक बनेको थियो । एभरेष्ट इनका 
निर्देशक यादव भण्डारीले पाहुनाहरुलाई स्वागत गर्दै दीवाली पर्वको महत्व दर्शाएका थिए ।

कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्डका सिइओ दीपक जोशी र बेलायतका लागि पूर्व पर्यटन दूत तथा एभरेष्ट इनका प्रवन्ध निर्देशक पशुपति भण्डारीको भिडियो शुभकामना सन्देश प्रसारण गरिएको थियो । सन्देशमा जोशी र भण्डारीले ‘भिजिट नेपाल- २०२०’ लाई सघाउन र नेपालको भ्रमण गर्न अपिल गरेका थिए ।

कार्यक्रममा लन्डन बरो अफ लुइसमका डेपुटी मेयर क्रिस वेष्ट, काउन्सिलर केभिन बोनाभिया, ब्रिटिश प्राध्यापकहरु, व्यवसायी आदि गरि ७० जना भन्दा बढि भिभिआइपी सहभागी थिए । सम्वोधनका क्रममा डेपुटी मेयर क्रिसले भण्डारी दाजुभाईले आफ्नो मातृभूमि र त्यहांको कला संस्कृति प्रवर्धनमात्र नगरि ब्ल्याकहिथ समुदायमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गरेका थिए । क्रिसले संस्कृतिमा धनी नेपाल भ्रमण छिट्टै गर्न उत्सुक भएको पनि बताए ।

कार्यक्रममा सहभागी शतप्रतिशत ब्रिटिश आगन्तुकलाई नेपालबारे जानकारी दिंदै भ्रमण गर्न प्रेरित गरिएको थियो । हालैमात्र नेपालमा ट्रेकिङसहित दुई साता घुमेर फर्किएका जेफ र अनिताले रेसम फिरिरी…गीत गाएका थिए, उनीहरुले बांसुरी पनि बजाए । नेपाल भ्रमण गरेर फर्किएका अर्का ब्रिटिश नागरिक माइकल कोलिङसले नेपालमा बिताएका अविष्मरणीय क्षणहरु सेयर गरेका थिए । कार्यक्रममा सहभागी कयौंले आफूहरु पनि नेपाल जान उत्साहित भएको बताए ।

एभरेष्ट इनले नेपाली खाना, कला संस्कृति एवं नेपालको पर्यटन प्रवर्धनमा निरन्तर काम गर्दै आएको छ । बेलायतका स्कुले किशोर किशोरीमात्र होइन, डिस्ट्रिक्ट चियर, काउन्सिलर, स्थानीय च्याम्बर अध्यक्ष र अन्य व्यवसायीहरुलाई समेत नेपाल भ्रमण गराइसकेको एभरेष्ट इनले सडक महोत्सवमा पनि सहभागिता जनाउंदै आएको छ । शुरुमा जिम्मी मिजान फाउण्डेशनबाट १८ ब्रिटिश नागरिक नेपाल लगेको एभरेष्ट इन समूहले फरक फरक समयमा ६ दर्जन स्काउट विद्यार्थीको समूहलाई नेपाल भ्रमण गराइसकेको छ ।

निर्देशक भण्डारीले ‘भिजिट नेपाल  २०२०’ अभियानमा आफूहरुको संलग्नता निरन्तर रहने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री