यती च्यारिटीमा पूर्व प्रधानमन्त्रीको सुझाव- ब्रिटिस आर्मीमा महिला पठाउनु हुन्न

लन्डन । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ब्रिटिस आर्मीमा नेपाली महिला नपठाउन नेपाल सरकारलाई सुझाएका छन् । यती नेपाली एसोसिएसन यूकेले शनिबार लन्डनमा आयोजना गरेको एक च्यारिटी कार्यक्रममा नेता नेपालले ब्रिटिश सेनामा महिला भर्ती उचित नभएको बताए ।

दुई सय वर्ष भन्दा बढि समयदेखि ब्रिटिस आर्मीको अभिन्न अंग रहेको ब्रिगेड अफ गोर्खाजमा पहिलोपटक नेपाली महिला पनि सामेल हुने सक्ने र सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको केही महिना अघि सार्वजनिक भएको थियो ।

‘भूतपूर्व गोर्खाहरुको माग पनि त्रिपक्षीय सन्धिका आधारमा होइन, बेलायत र नेपालले नै समाधान गर्नुपर्छ’, उनले भने, ‘नेपाल सरकारले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि गम्भीर भएर काम शुरु गरिसकेको छ । तपाईंहरुको मेहनत खेर जान्न ।’

बेलायती विदेश मन्त्रालय (एफसीओ) मा गत बिहीबार भएको बेलायत नेपाल चौंथो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले भूतपूर्व गोर्खाहरुका माग सम्वोधन गर्न बेलायत सरकारलाई आग्रह गरेका थिए । सचिव बैरागीले ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खाहरुका जायज मागहरुको सम्मानजनक सम्वोधन 
हुनुपर्ने नेपाल सरकारको धारणा रहेको र ब्रिटिश अधिकारीहरुसंग भएको द्वीपक्षीय परामर्श संयन्त्रको बैठकमा पनि छलफल भएको 
जनाएका थिए ।

नेता नेपालले अब बोलेर मात्र होइन, व्यवहारमै समृद्धि ल्याउन आवश्यक भएको बताए । ‘हामीले आर्थिक उन्नतिको काम गर्नुछ, देश विकासलाई तीव्रता दिनुछ’, कार्यक्रममा कम्युनिष्ट नेता नेपालले भने, ‘जनताले हेर्न चाहेको परिवर्तनको सपना साकार पार्ने दायित्व हामीमा छ । यसमा प्रवासमा बसेका नेपालीहरुले पनि साथ दिनुपर्छ ।’

रेलमार्ग र विमानस्थल निर्माणको उदाहरण दिंदै उनले नेपालमा परिवर्तनका रुप देखिइसकेको र यसमा ढिलाइ गर्न कसैलाई छुट नभएको धारणा पनि राखेका थिए ।

यती अध्यक्ष शशीधर नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतको नेपाली समाज सुसंगठित, सुशिक्षित र सुविचारित भएको धारणा राखे । ‘यहांको डायस्पोराले अप्ठेरो, दुःख पर्दा मातृभूमिलाई धेरै सहयोग गरेको छ’, राजदूत सुवेदीले थपे, ‘हामी सबैको मनभित्र सधैं नेपाल हुनुपर्छ । नेपाली नेपाली एक भएर बांच्न र हांस्न सकौं, मन मस्तिष्कभित्र नेपाल राखौं ।’

मानव जीवन संरक्षण मञ्चको सहयोगार्थ आयोजित उक्त च्यारिटीमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, हेमन फाउण्डेशनका हेमन मोक्तान, यती पूर्व अध्यक्ष उमेशराज मोक्तान, समाजसेवी ध्रुव केसी लगायतले पनि बोलेका थिए । समाजसेवी केसीले स्वागत मन्तव्यका क्रममा यती इतिहासबारे बेलिविस्तार लगाएका थिए ।

उक्त अवसरमा हांस्यव्यंग्य कलाकार मनोज गजुरेल, नायिका तथा मोडल मरिस्का पोखरेल र गायक हेमन मोक्तानले आ आफ्नो कला प्रस्तुत गरेका थिए । कलाकार गजुरेलले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल दर्शकले खुबै रुचाए । उनले नेपाली नेताहरु र समाजको विकृतिप्रति पनि व्यंग्य हान्न छाडेनन् । नेताहरुलाई एम्बेसी होइन, गाउंबेसी धाउन सुझाव दिंदै गजुरेलले सामाजिक सञ्जालमा आफ्ना दुःख पीडा व्यक्त नगर्न पनि सुझाए ।

च्यारिटी संयोजक तथा यती पूर्व अध्यक्ष उमेश मोक्तानले सञ्चालन गरेको कार्यक्रममा प्रायोजक र सहयोगीलाई प्रमुख अतिथी नेपालले कदरपत्र प्रदान गरे ।

कार्यक्रम उद्घाटनका अवसरमा कोसेली संस्थापक मदन थापाले मंगल धुन प्रस्तुत गरेका थिए ।

तस्विरहरु शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री