पूर्व प्रधानमन्त्री नेपालको सुझाव- बेलायतमै मेयर र सांसद हुनुहोस्


लन्डन । नेकपाका नेता माधवकुमार नेपालले बेलायतस्थित नेपाली समुदायलाई बेलायतमै राजनीति गर्न सुझाव दिएका छन् । पूर्व एमाले र माओवादी केन्द्रको संयुक्त आयोजनामा आइतबार बेलायतस्थित अल्डरसटमा भएको अन्तरक्रियामा नेता नेपालले उक्त सुझाव दिएका हुन् ।

‘कर्मभूमिमा चुनाव लड्ने अनि हारेपछि जन्मभूमिमा आएर टिकट माग्ने काम छाडनुहोस्’- पूर्वप्रधानमन्त्री नेपालले सामाजिक तथा राजनीतिक अगुवा सामु भने । यता चुनाव लड्ने अनि हारेपछि उता जाने र टिकट माग्ने काम बन्द गर्न उनको आग्रह थियो ।

राजनीति र जातीय संस्थामा लागेका बेलायतवासी नेपालीलाई सम्वोधन गर्दै नेता नेपालले गैरआवासीय नेपालीलाई आफू बसेको देशमा मेयर, सांसद भएको देख्ने चाहना आफ्नो भएको बताए । नेपाली भएको घना वस्तीमा एक भएर निर्वाचनमा होमिन उनले आग्रह गरे । उनले बेलायतस्थित राजनीतिक, जातीय र सामाजिक अभियन्ताहरुलाई नेपाली नेपालीबीच खुट्टा तान्ने बानी छाडेर हात समात्ने बानी गर्न आग्रह गरे ।

प्रवासी नेपाली मञ्च बेलायतका कार्यवहाक अध्यक्ष रामजी बरालको अध्यक्षतामा भएको अन्तरक्रियामा बोल्दै नेता नेपालले भूतपूर्व गोर्खाको समस्या सामाधान गर्न सरकारले वार्ता गरिरहेको बताए ।

उनले गोर्खा समस्या समाधान गर्न सरकार अग्रसर भएकाले विगत र वर्तमान समस्या समाधान हुने विश्वास व्यक्त गरे । गोर्खामा महिला भर्ति केन्द्रका बारेमा भने थप परामर्श गर्नुपर्ने धारणा नेपालले राखे । यसअघि नेता नेपालले महिलालाई गोर्खा सैनिकमा भर्ना गर्न नहुने धारणा राखेका थिए ।

गैरआवासीय नेपालीलाई नागरिकता निरन्तरता दिन सरकार तयार रहेको उनले बताए । तर, उक्त नागरिकता राजनैतिक अधिकार नहुने नेता नेपालले स्पष्ट पारे । कार्यक्रममा नेपालले पार्टी एकीकरण अभियान चाडो टुगिंने जानकारी दिए ।

महासचिव विजय लिङदेलले सञ्चालन गरेको उक्त कार्यक्रममा जनप्रगतिशील मञ्च यूकेका ठाकुर शर्माले स्वागत भाषण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री