जानु लिङदेनको कथा र एल्बम विमोचित 

लन्डन । बेलायतमा रहँदै आएकी ताप्लेजुङकी स्रष्टा जानु काम्बाङ लिम्बूको कथासङ्ग्रह ‘नउघ्रेको जून’ तथा गीति एल्बम ‘जानु’ सोमबार काठमाडौँमा आयोजित एक समारोहमा विमोचन गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले ती कृतिहरू विमोचन गरेका हुन् ।
विमोचनमा गायक आनन्द कार्की, गीतकार गंगाराज मुकारुङ, संस्कृविविद् डा. भक्त राई, कवि तथा कथाकार बिना थिङ लगायतले साथ दिएका थिए । उक्त समारोहमा एल्बमभित्रको एउटा गजल ‘कैयौँ प्यासी रातहरू’ र एल्बममा नसमेटएको गीत ‘गर्नु छ एउटा कुरा’ माथि बनेको म्यूजिक भिडियो समेत प्रदर्शन गरिएको थियो ।
प्रमुख अतिथि काइँलाले जानु काम्बाङ नाम सुन्दै आएको तर पढ्न भने नपाएको बताउँदै जानु प्रतिभाशाली साहित्यकार भएको दाबी गरे ।
कथा सङ्ग्रहको समीक्षा गर्दै थिङले ‘नउघ्रेको जून’का सबै कथाहरू सामाजिक धरातललाई टेकेर लेखिएका यथार्थवादी पाएको बताइन् । डा. राईले जानुका गीतहरू अब्बल रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू, सचिव टीका चाम्लिङ र  गीतकार संघका महासचिव शुभ मुकारुङले समेत जानुको लेखनमाथि बोलेका थिए ।
कथासङ्ग्रहमा २० वटा कथा र एल्बममा १० वटा गीत समाविष्ट छन् । परदेशमा सधैँ कामै काम मात्र हुने प्रसङ्ग निकाल्दै स्रष्टा जानुले केही फुरेको खण्डमा रेल वा गाडीमा यात्रा गर्दा गर्दैको अवस्थामा मोबाइलमा लेख्नु पर्ने स्थितिमा आफूले सिर्जनाहरू गर्ने गरेको सुनाइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री